Logo

२०८३, श्रावण २७गते


images
images

अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा जेलेन्स्की र नेतान्याहूसँग छुट्टाछुट्टै भेटवार्ता

ट्रम्पद्वारा जेलेन्स्की र नेतान्याहूसँग छुट्टाछुट्टै भेटवार्ता

images
  • ट्रम्पद्वारा जेलेन्स्की र नेतान्याहूसँग छुट्टाछुट्टै भेटवार्ता
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको ओभल कार्यालयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । पश्चिम एशियामा बढ्दो तनाव र रुस-युक्रेन युद्ध विश्वका प्रमुख चुनौतीका रूपमा रहेको समयमा यी भेटवार्तालाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

    images
    images
    images

    ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले सामाजिक सञ्जालमार्फत राष्ट्रपति ट्रम्पले दुवै नेतासँगको भेट सम्पन्न गरेको र दुवै वार्ता सकारात्मक तथा उपयोगी रहेको बताएकी छन् ।

    images
    images
    images

    जेलेन्स्की र नेतान्याहू दुवै अमेरिका दिवंगत सिनेटर लिन्ड्से ग्राहमको अन्त्येष्टिमा सहभागी हुन पुगेका थिए । सोही अवसरमा उनीहरूले आफ्ना देशसँग सम्बन्धित महत्वपूर्ण विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरेका हुन् । लिन्ड्से ग्राहम इजरायलका बलिया समर्थक तथा इरानका कडा आलोचक मानिन्थे । उनको निधन हुनुभन्दा एक दिनअघि उनले कीभमा जेलेन्स्कीसँग भेट गरेका थिए । साथै उनले रुसविरुद्ध थप कडा प्रतिबन्ध लगाउने सम्बन्धी सिनेट विधेयकमा पनि काम गरिरहेका थिए ।

    images
    images
    images

    भेटअघि नेतान्याहूले सामाजिक सञ्जालमार्फत आफ्नो उद्देश्य इजरायलको सुरक्षा सुनिश्चित गर्नु, देशको शक्ति अझ सुदृढ बनाउनु र शान्तिको दायरा विस्तार गर्नु रहेको बताएका थिए । उनले ग्राहमलाई इजरायलको सच्चा मित्रको संज्ञा दिँदै अमेरिकामा रहँदा उनलाई श्रद्धाञ्जली अर्पण गर्ने पनि बताएका थिए ।

    फेब्रुअरीपछि यो नेतान्याहूको पहिलो वासिङ्टन भ्रमण हो । यसअघि भएको भेटपछि अमेरिका र इरानबीच लामो समयसम्म तनाव र सैन्य द्वन्द्व चर्किएको थियो । प्रतिवेदनअनुसार ट्रम्पको दोस्रो कार्यकालको सुरुआतमा दुवै नेता अधिकांश विषयमा सहमत देखिए पनि पछिल्ला साताहरूमा केही मुद्दामा मतभेद सार्वजनिक भएका छन् । ट्रम्पले एक समय नेतान्याहूलाई 'पागल' सम्म भनेका थिए भने 'मबिना इजरायल नै हुँदैनथ्यो' भन्ने अभिव्यक्ति पनि दिएका थिए ।

    इरानसँग भएको युद्धविरामसम्बन्धी सहमति तथा होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने विषयमा नेतान्याहूसँग पूर्वपरामर्श नगरिएको दाबी गरिएको छ । त्यसैगरी साउदी अरेबियासँग सम्भावित आणविक ऊर्जा सहकार्य र टर्कीलाई एफ–३५ लडाकु विमान बिक्री गर्ने अमेरिकी योजनाप्रति पनि इजरायली अधिकारीहरूले असन्तुष्टि जनाएका छन् ।

    यद्यपि ट्रम्पले अमेरिका कसलाई के बिक्री गर्ने भन्ने निर्णय अरू कसैले निर्धारण गर्न नसक्ने बताएका छन् । इरानसम्बन्धी मतभेदबारे सोधिएको प्रश्नमा उनले केही विषयमा फरक धारणा भए पनि अधिकांश मुद्दामा आफूहरू सहमत रहेको बताए ।

    ट्रम्प र जेलेन्स्कीबीच यसअघि पनि यही महिनाको सुरुआतमा टर्कीको अङ्कारामा भएको उत्तर एटलान्टिक सन्धि संगठनको शिखर सम्मेलनका क्रममा भेट भएको थियो । यसपटकको भेटमा रुस–युक्रेन युद्ध अन्त्य गर्ने सम्भावित उपाय र युक्रेनलाई आवश्यक हतियार तथा क्षेप्यास्त्र आपूर्तिबारे विस्तृत छलफल भएको बताइएको छ । हालैका साताहरूमा जेलेन्स्कीले युक्रेनमा हतियारको अभावका कारण रुसी आक्रमणको जोखिम बढेको भन्दै अमेरिकासँग तीव्र गतिमा सैन्य सहायता उपलब्ध गराउन आग्रह गर्दै आएका छन्।

    यसअघि ट्रम्पले युक्रेनलाई प्याट्रियट प्रतिरक्षा क्षेप्यास्त्र अवरोधक स्वदेशमै उत्पादन गर्न अनुमति दिने घोषणा गरेका थिए । युक्रेनले लामो समयदेखि यस्तो अनुमति माग गर्दै आएको थियो ।

    अमेरिकामा हवाई प्रतिरक्षा क्षेप्यास्त्रको भण्डार घटिरहेको भन्ने समाचारलाई ट्रम्पले अस्वीकार गरेका छन् । उनले यसको जिम्मेवारी पूर्वराष्ट्रपति जो बाइडेनमाथि लगाउँदै बाइडेन प्रशासनले युक्रेनलाई ठूलो परिमाणमा हतियार उपलब्ध गराएकाले अहिले अमेरिका आफ्नै भण्डार पुनः सुदृढ बनाउने काममा लागेको बताए ।

    उनले अमेरिकासँग पर्याप्त मात्रामा विभिन्न प्रकारका हतियार रहेको र आवश्यकता भन्दा बढी मध्यम दूरीका हतियारसमेत रहेको दाबी गरे । साथै अझ बढी हतियार उत्पादन गर्न चाहेको पनि उल्लेख गरे ।

    जेलेन्स्कीले युक्रेनी सेनाले क्यास्पियन सागर क्षेत्रमा इरानसँग सम्बन्धित सैन्य सामग्री बोकेका जहाज र एक रुसी युद्धपोतलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन् । त्यसपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले उक्त आक्रमणको जवाफ दिने चेतावनी दिएका छन्। उनले यसलाई संयुक्त राष्ट्रसंघको बडापत्रविपरीतको कार्य भएको बताएका छन् । जेलेन्स्कीले रुसले उपग्रहमार्फत प्राप्त जानकारी इरानलाई उपलब्ध गराएर पश्चिम एशियामा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य बनाउन सहयोग गरेको आरोप पनि लगाएका छन् ।

    यसबारे प्रतिक्रिया दिँदै ट्रम्पले आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष रूपमा यस विषयमा कुरा गर्ने बताए । उनले सत्य तथ्य चाँडै सार्वजनिक हुने उल्लेख गर्दै यदि यस्तो सहयोग भएको भए पनि त्यसले खास प्रभाव नपारेको दाबी गरे, किनभने अमेरिकाले इरानलाई ठूलो क्षति पुर्‍याएको उनको भनाइ थियो ।

    जेलेन्स्कीले जुलाईको सुरुआतदेखि रुसले अरब खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डा र साझेदार राष्ट्रहरूमाथि उपग्रह निगरानी गरेको प्रमाण युक्रेनसँग रहेको दाबी गरेका छन्। उनले ती सूचनाको इरानी आक्रमणसँग सम्बन्ध रहेको आरोप लगाए पनि ह्वाइट हाउसले त्यस विषयमा कुनै आधिकारिक टिप्पणी गरेको छैन ।

    यसअघि ट्रम्पले आफूलाई रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङले इरानलाई ठूलो स्तरमा सहयोग गरिरहेका छैनन् भन्ने विश्वास रहेको बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।