काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यसम्पादनप्रतिको जनसमर्थन ऐतिहासिक न्यून विन्दुमै कायम रहेको छ । रोयटर्स तथा इप्सोसले गरेको पछिल्लो सर्वेक्षणअनुसार ट्रम्पको राष्ट्रपतीय कार्यसम्पादनलाई समर्थन गर्ने अमेरिकीको संख्या ३२ प्रतिशतमा सीमित भएको छ ।
छ दिनसम्म गरिएको सर्वेक्षणमा ट्रम्पको पक्षमा देखिएको समर्थन अघिल्लो सेप्टेम्बरको सर्वेक्षणकै स्तरमा रहेको हो । यसअघि पनि ३२ प्रतिशत समर्थन ट्रम्पको राजनीतिक जीवनकै सबैभन्दा न्यून स्तरका रूपमा देखिएको थियो ।
ट्रम्पलाई सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ठूलो संख्यामा साथ दिएका हिस्पानिक मतदातामाझ पनि उनको लोकप्रियता घटेको सर्वेक्षणले देखाएको छ । हिस्पानिक समुदायका केवल २४ प्रतिशतले ट्रम्पको कार्यसम्पादनलाई समर्थन गरेका छन् । यो ट्रम्पका दुई कार्यकालमध्ये सबैभन्दा न्यून समर्थन हो ।
सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले हिस्पानिक मतको करिब आधा हिस्सा प्राप्त गरेका थिए । सन् २०२० मा भने उनले करिब एकतिहाइ हिस्पानिक मत मात्रै पाएका थिए। तर पछिल्ला महिनामा महँगी र जीवनयापनको बढ्दो लागतका कारण उनको समर्थन कमजोर बनेको सर्वेक्षणले देखाएको छ ।
ट्रम्पको कमजोर लोकप्रियताको असर उनको रिपब्लिकन पार्टीमा पनि देखिएको छ । आगामी नोभेम्बर ३ को मध्यावधि निर्वाचनमा ४४ प्रतिशत दर्ता मतदाता डेमोक्र्याटिक पार्टीलाई र ३७ प्रतिशत रिपब्लिकन पार्टीलाई मतदान गर्ने पक्षमा देखिएका छन् । स्वतन्त्र मतदातामाझ पनि डेमोक्र्याटिक पार्टी ३७ प्रतिशत समर्थनसहित अगाडि छ । रिपब्लिकन पार्टीलाई २१ प्रतिशत स्वतन्त्र मतदाताको समर्थन रहेको छ भने २८ प्रतिशत अझै निर्णयमा पुगिसकेका छैनन् । हिस्पानिक दर्ता मतदातामध्ये ५२ प्रतिशतले डेमोक्र्याटिक पार्टीलाई मतदान गर्ने बताएका छन् भने केवल २६ प्रतिशत रिपब्लिकन पार्टीको पक्षमा छन् । ट्रम्प राष्ट्रपति बनेपछि हिस्पानिक मतदातामाझ डेमोक्र्याटिक पार्टीको यो सबैभन्दा ठूलो अग्रता भएको सर्वेक्षणमा उल्लेख छ ।
मध्यावधि निर्वाचनबाट अमेरिकी संसद्का दुवै सदनमा आगामी दुई वर्षका लागि कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण हुनेछ । रिपब्लिकन पार्टीले निर्वाचनमा कमजोर प्रदर्शन गर्न सक्ने आकलन भइरहेका बेला डेमोक्र्याटिक पार्टीले प्रतिनिधिसभामा बहुमत हासिल गर्न सक्ने अनुमान बढेको छ । सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण चुनौतीमा पर्न सक्ने देखिएको छ ।
सर्वेक्षणमा सहभागी अमेरिकीका लागि आगामी निर्वाचनमा मतदान गर्ने निर्णयमा जीवनयापनको बढ्दो खर्च सबैभन्दा प्रमुख मुद्दा बनेको देखिएको छ । इन्धनको मूल्य बढेसँगै उपभोक्ता महँगीसमेत बढेको सर्वेक्षणमा उल्लेख छ ।
यसैबीच ५० वर्ष वा सोभन्दा बढी उमेरका मतदातामाझ रिपब्लिकन पार्टीको पुरानो अग्रता पनि घटेको छ। यस उमेर समूहमा रिपब्लिकन पार्टीलाई ४४ प्रतिशत र डेमोक्र्याटिक पार्टीलाई ४२ प्रतिशत समर्थन रहेको छ । गत डिसेम्बरमा भने रिपब्लिकन पार्टीको अग्रता आठ प्रतिशत विन्दु थियो ।
मध्यावधि निर्वाचनमा ५० वर्षभन्दा माथिका मतदाताको सहभागिता सामान्यतया बढी हुने भएकाले यो समूह दुवै दलका लागि महत्वपूर्ण मानिन्छ । ५० वर्षभन्दा कम उमेरका मतदातामाझ भने डेमोक्र्याटिक पार्टी १८ प्रतिशत विन्दुले अगाडि रहेको छ । रोयटर्स तथा इप्सोसको उक्त सर्वेक्षणमा अमेरिकाभरका ४ हजार ५०६ वयस्क सहभागी थिए । अनलाइनमार्फत गरिएको सर्वेक्षणको त्रुटि सीमा करिब दुई प्रतिशत विन्दु रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology