काठमाडौं । अष्ट्रेलिया सरकारले सामाजिक सञ्जाल तथा इन्टरनेट कम्पनीलाई झुटा समाचार र हानिकारक सामग्री हटाउन अनिवार्य गर्ने नयाँ कानुन ल्याएको छ ।
नयाँ व्यवस्थाअनुसार सामाजिक सञ्जालसँगै कृत्रिम बुद्धिमत्ता (एआई), एआई च्याटबट र खेलसम्बन्धी कम्पनीले पनि आफ्ना माध्यममा हानिकारक सामग्री फैलिन नदिन सक्रिय व्यवस्था गर्नुपर्नेछ ।
‘डिजिटल ड्युटी अफ केयर’ नाम दिइएको यो कानुनले कम्पनीलाई प्रयोगकर्ताको उजुरी आएपछि मात्र सामग्री हटाउने छुट दिने छैन । आफ्ना माध्यममा महिलाविरुद्ध घृणा फैलाउने सामग्री, हिंसा, जोखिमपूर्ण गतिविधि, नक्कली भिडियो तथा बालबालिकालाई हानि पुर्याउने सामग्री रोक्न पहिल्यै आवश्यक व्यवस्था गर्नुपर्नेछ ।
नयाँ कानुनले कम्पनीलाई आफ्ना माध्यमको बनावट र सामग्री सिफारिस गर्ने प्रणालीबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण गर्न पनि बाध्य बनाउनेछ। साथै प्रयोगकर्ताले सामाजिक सञ्जालको प्रणालीले सिफारिस गरेका सामग्री तथा भिडियो हेर्ने वा नहेर्ने विकल्प रोज्न पाउनेछन् ।
नियम उल्लङ्घन गर्ने कम्पनीलाई विश्वव्यापी कारोबारबाट हुने आम्दानीको ५ प्रतिशत वा १० करोड ९२ लाख अष्ट्रेलियाली डलरसम्म जरिवाना गर्न सकिनेछ । यीमध्ये जुन रकम बढी हुन्छ, त्यही असुल गरिनेछ । साना तथा कम जोखिम भएका व्यवसायलाई भने छुट दिन सकिने व्यवस्था छ । कानुन आगामी वर्ष नोभेम्बरदेखि लागू हुन सक्ने जनाइएको छ ।
अष्ट्रेलियाकी सञ्चारमन्त्री अनिका वेल्सले यस कानुनको उद्देश्य इन्टरनेट प्रयोगकर्ताको सुरक्षा गर्नु रहेको बताएकी छन् । उनले यसलाई सवारीसाधनमा सिट बेल्ट अनिवार्य गर्ने र चुरोटको प्याकेटमा सादा आवरण लागू गर्ने नियमसँग तुलना गरेकी छन् ।
यसअघि सन् २०२५ मा अष्ट्रेलिया १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश बनेको थियो । युरोपेली संघ र बेलायतमा पनि सामाजिक सञ्जाल कम्पनीलाई हानिकारक तथा गैरकानुनी सामग्री नियन्त्रण गर्नुपर्ने व्यवस्था छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology