काठमाडौँ । फ्रान्सेली घरेलु फुटबल प्रतियोगिता लिग वानअन्तर्गत भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लेहाभ्रेलाई ५–१ गोलले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले उत्कृष्ट प्रदर्शन गर्दै फराकिलो जित निकालेको हो ।
खेलको १८औँ मिनेटमा जोस माजाले गोल गर्दै लेहाभ्रेलाई सुरुवाती अग्रता दिलाएका थिए । तर पिएसजीले त्यसको आठ मिनेटपछि नै मिका गोड्ट्सको गोलबाट खेल बराबरीमा ल्यायो । त्यसको दुई मिनेटपछि अचरफ हाकिमीले गोल गर्दै पिएसजीलाई २–१ को अग्रता दिलाए ।
दोस्रो हाफमा हाकिमीले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए । उनले ५५औँ मिनेटमा फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गरे भने ६२औँ मिनेटमा सेनी मायुलुले गोल गर्दै पिएसजीको अग्रता ४–१ बनाए । खेलको ६९औँ मिनेटमा हाकिमीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । उनले यस खेलमा तीन गोल गर्नुका साथै दुई गोलका लागि अवसरसमेत सिर्जना गरेका थिए । उनको उत्कृष्ट प्रदर्शन पिएसजीको जितमा निर्णायक बन्यो ।
यस जितसँगै पिएसजीले लिग वानमा आफ्नो शीर्ष स्थान थप मजबुत बनाएको छ । नौ खेलबाट २० अंक जोडेको पिएसजी शिर्ष स्थानमा छ । यता लिगको पुछारमा रहेको लेहाभ्रे भने लगातार पाँचौँ हार बेहोर्दै दबाबमा परेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology