देवदह । रुपन्देहीको प्रतिष्ठित फुटबल प्रतियोगिता २३औं तिलोत्तमा गोल्ड कप यहि चैत्र ९ गते शनिवारदेखि सु्रु हुदैछ । रुपन्देही जिल्ला फुटवल संघको आयोजनामा हुन लागेको प्रतियोगिता बुटवल देविनगरस्थित एन्फा एकेडेमीको फुटवल मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगिता सञ्चालनका लागि एकेडेमीको मैदानलाई सम्याउने काम सकिएको र दर्शक बस्ने प्याराफिटको सुधार र रंगरोगन तथा मैदान क्षेत्रलाई आकर्षक बनाउने काम भैरहेको संघका सचिव शंकर मल्लाहाले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुने ८ टिमको टुङगो लागेको छ । संघका अनुसार प्रतियोगितामा आयोजक रुपन्देही–११, चर्च व्याइज युनाइटेड, नेपाल सशस्त्र प्रहरी क्लव (एपिएफ), संकटा एफसी, मच्छिन्द्र फुटवल क्लब, नेपाल पुलिस क्लब, जर्जियन एफ.सी भारत र एडोर्न गडवाल स्पोर्टिङ कलब भारतको सहभागिता रहने छ । सहभागी ८ टिमलाई दुई पोलमा विभाजन गरि खेलाईने छ ।
जसमा समुह ए तर्फ आयोजक रुपन्देही–११, एपीएफ, संकटा एफ.सी, जर्जियन एफ.सी, भारत रहेका छन् भने बि पोलमा चर्च व्याइज युनाइटेड, मच्छिन्द्र फुटवल क्लब, नेपाल पुलिस क्लब, र एडोर्न गडवाल स्पोर्टिङ कलब भारतको टिम रहेका छन् ।
प्रतियोगिताको उद्घाटन खेल चैत्र ९ गते आयोजक करेन्ट रुपन्देही–११ र एपीएफ क्लवका बिच हुनेछ । चैत्र १० गते चर्च व्याइज युनाइटेड र नेपाल पुलिस क्लब, चैत्र ११ गते संकटा एफ.सी र जर्जियन एफ.सी, भारत, चैत्र १२ गते मच्छिन्द्र एफ.सी र एडोर्न गडवाल स्पोर्टिङ कलब भारतकावीच खेल हुने छ । प्रतियोगिताको फाइनल चैत्र १६ गते हुनेछ ।
यशोदा फुड्स प्रा.लि. र त्रिमुर्ति ईण्डष्ट्रिज प्रा.लि. को मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ हात पार्नेछ । त्यस्तै उपविजेताले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै विधागततर्फ उत्कृष्ट हुने सबैले जनही ३१ हजार र ट्रफी हात पार्नेछन् । प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडीलाई एक थान मोटरसाइकल वा स्कुटर प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई ११ हजार १ सय ११ रुपैंया सहित ट्रफी प्रदान गरिने संघका अध्यक्ष लोक पुनले जानकारी दिए । प्रतियोगिताको २२ औं संस्करण मनाङ मस्र्याङ्दी क्लब, काठमाडौंले जितेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology