देवदह । देवदह प्रिमियर लिग (डिपिएल) अन्तर्गत बिहीबार सम्पन्न खेलमा सीता मेडिकल भवानिपुर रोयल्सले ढेकावर योद्धालाई ४६ रनले पराजित गरेको छ ।
देवदह क्रिकेट युनिटको मैदानमा भएको खेलमा ११९ रनको लक्ष्य पछ्याएको ढेकावर योद्धा १४.१ ओभरमा ७२ रनमा समेटिएपछि भवानिपुर रोयल्सले जित निकालेको हो ।
टस जितेर पहिले बलिङ रोजेको ढेकावरविरुद्ध ब्याटिङ गरेको भवानिपुर रोयल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाएको थियो । टोलीका लागि दीपक भण्डारीले सर्वाधिक ४४ रन बनाए । उनले ४५ बलमा ३ चौका र १ छक्का प्रहार गरे । रामजान चायले ३३ तथा कलाम अलीले २२ रनको योगदान दिए ।
बलिङतर्फ ढेकावरका घनश्याम लोधले ३ तथा हिल्सन क्षेत्री र तुलबहादुर थापाले २–२ विकेट लिए ।
११९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको ढेकावरले सुरुदेखि नै विकेट गुमायो । टोलीका लागि रामनाथ कुर्मीले १३ बलमा ४ छक्कासहित २५ रन बनाए । घनश्याम लोधले १४ तथा रमेश रकास्कोटीले ८ रन जोडे । अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् ।
ढेकावरलाई सस्तैमा समेट्ने क्रममा भवानिपुरका रामजान चायले ५ विकेट लिए । दीपक भण्डारी र कलाम अलीले २–२ तथा राज सुनारले १ विकेट लिए ।
खेलमा ३३ रन बनाउनुका साथै ५ विकेट लिएका राजमान चाय उत्कृष्ट प्रदर्शनका आधारमा खेलका उत्कृष्ट खेलाडी बने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology