देवदह । देवदह नगरपालिका वडा नं. ५ मा करिब ४ विगाहा जग्गामा निर्मित भवनलाई बायो मेडिकल कलेजको रुपमा संचालन गरिने भएको छ । आइतबार लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय र देवदह नगरपालिकाबिच भएको छलफलले उक्त भवनलाई चिकित्सक र नर्सको तालिम, सर्पदंशको उपचार तालिम, सिटिईभिटीबाट संचालन हुने सबै प्रकारका स्वास्थ्य तालिम तथा स्वास्थ्य सामग्री मर्मतकेन्द्रको रुपमा उपयोग गर्ने लिखित सम्झौता भएको हो ।
सुरुवाती चरणमा देवदहस्थित देवदह आदर्श बहुमुखी क्याम्पसले प्राविधिक शिक्षा संचालन गर्नेगरि निर्माण सुरु गरिएको उक्त भवनमा पछि तत्कालीन सामाजिक विकास मन्त्री सुदर्शन बरालको पालामा बायो मेडिकल कलेज संचालन गर्ने गरि आदर्श क्याम्पस र नगरपालिकाले प्रदेश सरकारलाई स्वामित्व हस्तान्तरण गरेको थियो । तर, पछि मन्त्रालय विभाजनपछि बनेको स्वास्थ्य मन्त्रालयले उक्त स्थानलाई स्वास्थ्य सामग्री मर्मत केन्द्रको रुपमा मात्रै प्रयोग गर्ने कुरा बाहिरीएपछि नगरपालिकाकाका प्रवक्ता समेत रहेका वडाअध्यक्ष गणेश डुम्रेले प्रारम्भिक सहमति अनुसार नै उक्त स्थानलाई आवासिय तालीम केन्द्रको रुपमा संचालन गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए ।

सोही अनुसार आइतबार स्वास्थ्य मन्त्रालय र नगरपालिकाविचको छलफलले भवनलाई स्वास्थ्य सामग्री मर्मत केन्द्रको रुपमा मात्रै संचालन गर्ने नभई बायो मेडिकल कलेज कै रुपमा प्रयोग गर्ने सम्झौता भएको हो ।
उक्त छलफलमा लुम्बिनी प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपाने, देवदह नगरपालिका प्रमुख ध्रुब प्रसाद खरेल, उपप्रमुख बिद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेल, नगर प्रवक्ता गणेश डुम्रे, देवदह आदर्श बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख जय किशन अधिकारी, क्याम्पस साहायक प्रशासक हरि प्रसाद ढुङ्गाना, लुम्बिनी प्रदेश स्वास्थ मन्त्रालय चिकित्सा तथा अनुगमन निर्देशक डा. पुस्पराज पौडेल, लुम्बिनी प्रदेश स्वास्थ तालिम निर्देशनालय निमित्त प्रमुख नोदनारायण चौधरी लगायत अन्य प्राबिधिकहरुको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology