सुर्खेत । कर्णाली प्रदेशमा सोमबार दुई जना सांसदहरूले मन्त्रीको सपथ लिँए । नेकपा (माओवादी केन्द्र) सांसदहरू कृष्णा शाह र रातो कामीलाई दिउँसो तीन बजे प्रदेश प्रमुख तिलक परियारले सपथ खुवाएका छन्। मुख्यमन्त्री जीवनबहादुर शाहीले शाहलाई आर्थिक मामिला तथा योजना र कामीलाई जलस्रोत तथा उर्जा विकास मन्त्रीमा आजै नियुक्त गरेका थिए।
उनीहरू दुई जनाले मन्त्रीको सपथ लिएसँगै प्रदेश सभामा रहेका माओवादी केन्द्रका सबै सांसदहरू मन्त्री भएका छन्।
२०७४ मा कर्णाली प्रदेश सभामा माओवादीका १३ सांसद निर्वाचित भएका थिए। नौ जना प्रत्यक्षतर्फ निर्वाचित भएका थिए भने चार जना समानुपातिकतर्फ चुनिएका थिए। प्रत्यक्षबाट निर्वाचित सबै सांसद पुरूष हुन्।
१३ सांसदमध्ये पुष्पा घर्ती बिष्ट कर्णालीकी उपसभामुख छिन्।
बाँकी १२ जना सांसदमध्ये दैलेखका धर्मराज रेग्मी एमालेमा गएका छन्। सुर्खेतका ठम्मर विष्ट पार्टीभित्र एकलौटी भएको भन्दै गत चैतमा एमालेमा प्रवेश गरेका छन्।
बाँकी १० जना सांसदमध्ये महेन्द्रबहादुर शाही साढे तीन वर्ष कर्णालीको मुख्यमन्त्री बने। हाल पार्टीको प्रदेश कमिटी अध्यक्ष रहेकी रुकुम पश्चिमकी विमला केसी प्रदेश सकारको पहिलो कार्यकालमा कृषि मन्त्री, जुम्लाका नरेश भण्डारी आन्तरिक मामिला तथा कानुन मन्त्री बने।
त्यसपछि रूकुम पश्चिमका गोपाल शर्मा र सुर्खेतका विन्दमान बिष्ट अर्थमन्त्री बने।
जाजरकोटका गणेशप्रसाद सिंह जलस्रोत तथा उर्जा विकास मन्त्री, सुर्खेतकी सीता नेपाली आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेका छन्।
साउन २९ गते डोल्पाका बीरबहादुर शाहीलाई माओवादीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाएको थियो।
यसअघि माओवादीबाट कर्णाली प्रदेश सभा सदस्य बनेका ठम्मर बिष्ट माओवादीले सबै सांसदलाई मन्त्री बनाउनु संघीयताको भद्दा मजाक भएको बताउँछन्।
‘यो संघीयताकै भद्दा मजाक हो, यस्तो मजाक गर्ने सम्बन्धित पार्टीको नांगिने कुरा त छँदैछ, यसले स्वत: प्रणाली र देशलाई नै ठूलो धक्का पुर्याउने निश्चितै छ,’ बिष्ट भन्छन्, ‘अझै केही महिना छ, उहाँहरूले त आफ्नो गैरसांसद, कार्यकर्ता मात्र होइन कानुनले मिल्नेसम्म आफन्त ल्याएर मन्त्री बनाउन बेर छैन।’
माओवादी भित्रको यही प्रणालीकै कारण आफूले सांसद हुँदाहुँदै पार्टी छोड्ने निर्णय गरेको उनले बताए।
‘देशमा गरिबी छ, भोकमरी छ। सरकारले यसमा काम गर्ने हो,’ उनले भने ‘क्षमताको आधारमा जिम्मेवार पदमा व्यक्तिलाई स्थायित्वसहित जिम्मेवारी दिनुपर्ने हो, तर पार्टीभित्र मानिसलाई खुसी पार्नका लागि संघीय प्रणालीमाथि भद्दा मजाक गरिएको छ।’
माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले सबै सांसद बन्नु संयोग मात्रै भएको बताइन्।
‘सबै सांसदलाई मन्त्री बनाउने भन्ने हाम्रो नीति होइन। संयोग परेको हो,’ उनले भनिन्,‘अदालतले मन्त्रिपरिषद् समावेशी बनाउनु भनेर आदेश दियो। कांग्रेसले त्यतातिर ध्यान दिएन, एकीकृत समाजवादी पनि ध्यान दिएन। समावेशी बनाउने जिम्मा हाम्रै काँधमा आयो। त्यही भएर महिला र दलित समुदायका सांसदलाई मन्त्री बनाइएको हो।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology