देवदह । नेकपा एमालेबाट रुपन्देही क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार छविलाल विश्वकर्माले उत्पादन वृद्धिका लागि सौर्यउर्जाद्धारा संचालित सिचाई प्रणालीको विकास गरिने बताएका छन् ।
रोहिणी गाउँपालिका-४, छिपागढमा एमाले, राप्रपा र जसपाको संयुक्त निर्वाचन प्रचार प्रसार कार्यालय उद्घाटन तथा घरदैलो कार्यक्रममा बोल्दै नेता विश्वकर्माले उत्पादन बृद्धिको लागि सौर्यउर्जाद्धारा संचालित सिंचाई प्राणालीको विकास गरिने दावी गरेका हुन् ।
कृषकले उत्पादन गरेका सामाग्रीहरुको बजार व्यवस्थापन नभएको अवस्थामा न्यूनतम लागतको आधारमा समर्थन मूल्य तोक्न आवश्यक रहेको उल्लेख गर्दै उनले कृषिको विकासले मात्र नागरिकको जीवन स्तर सुधार हुने बताए ।
मंसीर ४ पछि बन्ने एमाले नेतृत्वको सरकारले त्यसलाई पुरा गर्ने उनको दावी छ ।
आफनो ५ बर्षे कार्यकालमा क्षेत्रमा समानुपातिक विकासको अवधारणा अनुसार दशगञाबाट काम शुरुवात गरेको बताएका उनले दशगजा देखि दलदले र दलदले देखि माथागढीसम्म आवश्यकताको आधारमा समानुपातिक विकास गरिने प्रतिवद्धता व्यक्त गरे । पुर्वमन्त्री समेत रहनु भएका विश्वकर्माले एमालेको सरकार हुँदा हुलाकी मार्ग शुरु गरेको, शैक्षिक विकासको लागि र्भाैतिक पुर्वाधार निर्माण, सडक पुर्वाधार निर्माण कार्यको थालनी गरेकोले अधुरा काम पुरा गर्नको लागि तीन दलिय साझा उम्मेदवारलाई जिताउन आग्रह गरे ।
सोही अवसरमा बोल्दै निर्वाचन क्षेत्र नम्वर १(१) प्रदेश सभाका उम्मेदवार आशिषकुमार चौधरीले समग्र क्षेत्रको विकासको लागि एमाले, राप्रपा र जसपाको साझा उम्मेदवारले जित्नु पर्नैमा जोड दिए। उनले क्षेत्रको विकासको लागि सवैसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology