गाउँभरि हल्लाखल्ला मच्चियो । सबै गाउँले उनलाई हेर्न गाउँमा जम्मा भएका थिए । सबैका आ-आफ्ना सुझाव र सल्लाह थिए । कोही भन्थे- "उतै मरेको भए आमालाई दुःख त हुने थिएन ।"
कसैले नजिकै गएर जिब्रो टोक्दै फर्कन्थे । कतिपय त सहयोग माग्छन् कि भनेर बाटो काटी हिँड्थे । आमा भने गाउँकै अस्पतालको ओछ्यानमा उनलाई हौसला दिन्थिन् । आमा उनको सामुन्ने कहिल्यै रोएकी थिइनन् । उनका आँखा भने आँसुले रसाइ रहन्थे ।
विदेशमा कमाउँदा आफन्त र गाउँलेलाई ल्याइ दिएको कोसेली मस्तिष्कमा आइरहन्थे । ती सम्झना मस्तिष्कमा दबाएर मौन बस्थिन् । उनी शारीरिक रूपमा अपाङ्ग भइन् ।
उनको एउटा हात नै रहेन । गाउँलेहरूले सोचे कि उनको जीवन नै सकियो ।
गाउँलेको सोचले उनलाई कुनै फरक पारेन । उनले परदेशबाट ल्याएको सीप गाउँमै सुरु गरिन् । गाउँमा धेरैले रोजगारी पाए । अहिले पूरा गाउँको सोच र दृष्टि परिपर्तन भएको छ ।
उनी आमाकी मात्र साहसी छोरी होइनन् । अहिले उनी पूरा गाउँकी छोरी साबित भएकी छिन् ।
नारायण कोइराला
तानसेन, पाल्पा
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology