काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तेस्रोपटक प्रधानमन्त्री बनेका छन् ।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राजपा र जनमत पार्टीको समर्थनमा माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्रीमा तेस्रोपटक नियुक्त भएका हुन् । उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए ।
नेपाली कांग्रेससँग सत्ता गठबन्धनमा सघाइरहेको माओवादी केन्द्र सरकार नेतृत्वका लागि आइतबार मात्रै एमालेलगायत दलसँग गठबन्धन गरेको हो । माओवादी र एमालेबीच साढे २, साढे २ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएसँगै दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । अब नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल बनेको छ ।
नवनियुक्त प्रधानमन्त्री दाहालले भोलि (सोमबार) मात्र राष्ट्रपति भवन शीतलनिवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथग्रहण गर्ने छन् ।
को हुन् पुष्पकमल दाहाल 'प्रचण्ड' ?
कास्कीको ढिकुरपोखरी स्थित लेवाडेमा वि. सं. २०११ मंसिर २६ जन्मिएका पुष्पकमल दाहाल कास्कीकै ढिकुर पोखरीमा हुर्के र प्रारम्भिक तहको शिक्षा पनि त्यहाँबाटै लिए । छविलाल दाहाल नाम भएका उनको कक्षा १० मा अध्ययनरत हुँदा त्यो नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामकरण भयो ।
२०२६ सालमा चितवनको नारायणी विद्या मन्दिर मावि शिव नगरबाट एसएलसी पास गरेका दाहालले २०२७–२०२९ मा पाटन बहुमुखी क्याम्पसबाट आईएससी पूरा गरे । उनले २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषि विषयमा बिएस्सी गरी एमपीएसम्मको अध्ययनसमेत गरे ।
वि.सं. २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड गरी ६ ओटासम्म नाम रहेका दाहाल आफूलाई पुष्पकमल भन्दा पनि प्रचण्ड भनी बोलाइँदा खुसी हुन्छन् ।
चितवन भरतपुर बसाइसराई पछि वि.सं. २०२६ वैशाखमा दाहालको सीता पौडेलसँग विवाह भयो । उनकी तीन छोरी र एक पनि छोरा भए । दाहालले भरतपुरकै नारायणी विद्या मन्दिर मावि, नवलपरासीको डन्डा मावि र गोरखाको आरूघाट माविमा अध्यापन गरे ।
वि.सं. २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टी सदस्यता लिएर राजनैतिक जीवन आरम्भ गरेका दाहालले २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरे । २०३४ सालमा चौथो महाधिवेशन, २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा दाहाल निर्वाचित समेत भए ।
दाहाल विसं २०४१ मा नेकपा (मशाल)को केन्द्रीय सदस्य, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री बने । २०५१ सालमा पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री बनेका दाहाल २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे र २०५७ मा नेकपा माओवादीको अध्यक्ष भए ।
वि.सं. २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहेका दाहाल २०६३ साल असार २ गते भूमिगत जीवनबाट सार्वजनिक भए र अन्तत: २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित बने । तर २०६६ वैशाखमा राजीनामा दिनुपर्यो ।
पछि वि.स. २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा दाहाल काठमाडौं–१० र रोल्पा–२ बाट निर्वाचित भए । संविधानसभाको दोस्रो निर्वाचनमा सिरहा क्षेत्र नं.–५ बाट निर्वाचित दाहाल २०७३ साल साउन १९ गते नेपाल सरकारको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भए ।
दाहालका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), संस्कृति, कला र सौन्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरू (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरू लगायतका पुस्तक प्रकाशित छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology