काठमाण्डाै । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा फर्काउने कोसिस जारी रहेको बताएका छन।बिहीवार पार्टीकाे सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बाेल्दै उपमहासचिव ज्ञवालीले पूर्वसहमतिअनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिएर सरकारमा राखिरहनुपर्नेमा जोड दिए ।
उनले भने ‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोड्ने परिस्थिति हुनु निश्चय नै दुःखद विषय हो । यसमा समीक्षा हुँदै गर्ला । त्यो पार्टीका सभापति रवि लामिछानेजीले नागरिकता पुनः प्राप्तिको सन्दर्भमा केही प्रक्रियागत त्रुटि गर्नुभएको कारणले उहाँकाे पद रिक्त हुन गयो । त्यसले उत्पन्न भएको समस्या देखिन्छ ।
तर पनि हामीले पुस १० गते यो नयाँ कोर्स निर्माण गरिरहँदा र पछि मन्त्रीमण्डल विस्तार गरिरहँदा जुन ढङ्गले शक्तिको बाँडफाँट गरेका थियौँ, त्यस हिसाबले गृह मन्त्रालय स्वतन्त्र पार्टीलाई दिइनुपर्थ्याे भन्ने हामीलाई लाग्छ । त्यसो गरेर भए पनि उहाँहरूलाई सरकारमा होल्ड गरिराख्नुपर्थ्याे । व्यक्ति कसलाई पठाउनुहुन्थ्यो, त्याे उहाँहरूको कुरा थियो । त्यसमा अलिकति असमझदारी देखियो । त्यसलाई आधार बनाएर उहाँहरू बाहिरिनुभएको छ । तर बाहिरिए पनि सरकारलाई उहाँहरूको समर्थन कायम नै छ ।
हाम्रो तर्फबाट उहाँहरूलाई त्यो विश्वासमा कायमै राख्ने र एउटा उपयुक्त वातावरण बनाएर सरकारमा फर्काउने कोसिस जारी छ ।’उपमहासचिव ज्ञवालीले जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा ल्याउने कोसिस जारी भएको उमले बताए। फरक–फरक पार्टीको बीचमा गठबन्धन हुँदा असमझदारी देखिनसक्ने भन्दै ती असमझदारीलाई समाधान गर्न सकिनेमा उनले विश्वास व्यक्त गरे ।
उपमहासचिव ज्ञवालीले वर्तमान सत्तारूढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे। एमालेले गठबन्धन टिकाउने सङ्कल्प गरेको पनि उनले उल्लेख गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology