काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार साँझ आएको बाढी र पहिरोले कम्तीमा चार जना बेपत्ता भएका छन् । हेलम्बु बजार क्षेत्रका ३ पुरुष र १ महिला गरी चार जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
प्रहरीका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा यातायात सम्पर्क विच्छेद भएको छ भने मेलम्ची–नवलपुर–चौतारा जोड्ने पुल समेत बाढिले बगाएको छ । ठाउँ–ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन् ।
बिभिन्न ठाउँका पुल र सडक बगेपछि अहिले यातायात सम्पर्क विच्छेद भएको छ। खानेपानी र विद्युत सेवा अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार अहिले पनि लेदो र ठूला ढुंगासहितको पहिरो झर्ने क्रम जारी रहेकाले उद्धारमा कठिनाइ भइरहेको छ । उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।
मेलम्ची खानेपानीको मुहान अम्बाथान तिरबाट बाढी उर्लिएर आएको र नदी किनारका बस्तीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । मेलम्ची आयोजनामा कार्यरत चिनियाँहरुको क्याम्प र आयोजनाको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको क्याम्पमा पनि क्षति पुगेको स्थानीयको भनाइ छ । हेलम्बुको तिम्बु बजारका कतिपय घरहरु र किउलमा रहेको ट्राउट माछा फार्म बाढीले बगाएको छ ।रोज होटलको छतबाट दुईजनाले उद्वार मागिरहेका छन् ।
राति ठूलो बाढी र पहिरो झर्न थालेपछि किउल, ग्याल्थुम, तिपेनी, तालामाराङ, मेलम्चीलगायतका स्थानका बासिन्दा घर छाडेर सुरक्षित स्थानमा बसेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology