माधव ज्ञवाली, गुल्मी । छत्रकोट गाउँपालिका गुल्मीले आर्थिक वर्ष २०८०÷८१ को आनुमानित वार्षिक बाजेट प्रस्तुत गरेको छ ।आइतबार एक कार्यक्रमका बिच गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले रु.५५ करोड ५ लाख ६० हजार ६ सय ७१ बराबरको वार्षिक बजेट प्रस्तुत गर्नुभएको हो।
बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पशुक्षेत्र, दिगो सडक र पुर्वाधार निर्माण, खानेपानी तथा सरसफाइ लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको उपाध्यक्ष ज्ञवालीले बताउनुभयो, जसमा छत्रकोट गाउँपालिकाको आन्तरिक आम्दानी मात्रै रु.५५ लाख अनुमान गरिएको छ।
गाउँपालिकाले आर्थिक विकास तर्फ रु.३३ करोड ६१ लाख विनियोजन गरेको छ भने सामाजिक विकास तर्फ रु. २७ करोड ६९ लाख १६ हजार २ सय रकम विनियोजन गरेको छ।
त्यस्तै पुर्वाधार विकासको लागि गाउँपालिकाले रु.१५ करोड ५६ लाख ८५ हजार २ सय ३९ रुपैयाँ, वन वातावरण तथा विपद ब्यवस्थापन तर्फ रु.१ करोड ४९ लाख ५० हजार विनियोजन गरेको छ भने सुशासन तथा संस्थागत विकासतर्फ रु. ६ करोड ६९ लाख ९ हजार २ सय ३२ रुपैयाँ विनियोजन गरेको छ।
गाउँपालिकाले स्मार्ट आमा सम्मान कार्यक्रम संचालनको लागि पनि बजेट विनियोजन गरेको छ भने एस.ई.ई दिएर बसेका छत्रकोट गाउँपालिका भित्रका विद्यार्थीहरुलाई कम्प्युटर तालिम तथा प्लस टु र स्नातक उत्तीर्णहरुको लागि शिक्षक सेवा आयोग र लोकसेवा आयोग संबंधित तयारी कक्षा संचालन गर्न आवश्यक बजेट गरिएको उपाध्यक्ष ज्ञवालीको भनाई रहेको छ।
गाउँपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रमको लागि रु.५० लाख बजेट विनियोजन गरेको छ भने छाडा भुस्याहा कुकुर बन्ध्याकरण शिविर संचालनको लागि पनि बजेट विनियोजन गरेको छ।
यता छत्रकोट गाउँपालिकामा पर्यटन प्रबर्द्धनको लागि महत्वाकांक्षी योजनाको रुपमा लिइएको छत्रकोट जीपलाईन निर्माण कार्यको लागि गाउँपालिकाले रु.१ करोड ३० लाख रकम विनियोजन गरेको छ भने छत्रकोट घुमौँ अभियानको लागि समेत बजेट विनियोजन गरेको छ।
छत्रकोट ३ भेडुवाको राममन्दिर देखि आन्तरिक पर्यटनको लागि प्रसिद्ध चोयगा मन्दिर सम्म झोलुङ्गे पुल निर्माणका लागि रु.३५ लाख रकम विनियोजन गरिएको उपाध्यक्ष ज्ञवालीले बताउनुभएको छ।
गाउँपालिकाले संचारकर्मीहरुलाई समेत पुरस्कृत गर्ने भएको छ, गाउँपालिका भित्रका गतिविधिहरुलाई प्राथमिकता दिँदै सहि सुचना प्रवाह गर्ने संचारकर्मीहरुलाई प्रोत्साहन र पुरस्कृत गर्न आवश्यक बजेट विनियोजन गरेको बताउँदै उपाध्यक्ष ज्ञवालीले स्थानीय संचार गृहहरुलाई नियमित प्रसारण गर्न आवश्यक सहयोग र समन्वयको लागि पनि बजेट विनियोजन गरेको बताउनुभयो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology