Logo

२०८३, आश्विन १२गते


images
images

सेतोमसी हाईलाइट : आजका १० समाचार

सेतोमसी हाईलाइट : आजका १० समाचार

images
  • सेतोमसी हाईलाइट : आजका १० समाचार
    images
    images

    १. पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा प्रवेश

    images
    images
    images

    साबिकको विजेता श्रीलंकाले एसीसी एसिया कप क्रिकेटको सुपर फोरको खेलमा पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएको छ ।श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा श्रीलंका डकवर्थ लुईस पद्दती अनुसार २ विकेटले विजयी भएको हो । पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलंकाले निर्धारित ४२ ओभरको अन्तिम बलमा पुरा गर्‍या ।

    images
    images
    images

    श्रीलंकाका लागि कुसल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्काको सहयोगमा ९१ रन बनाए । सदिरा समराविक्रमाले ५१ बलमा ४ चौकाको सहयोगमा ४८ रन बनाए । मेन्डिस र सदिराले तेस्रो विकेटका लागि ९८ बलमा १ सय रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।चरिथ असलंका ४७ बलमा ३ छक्का र १ चौकाको सहयोगमा ४९ रनमा अविजित रहे । डेब्यु खेल खेलिरहेका जमान खान बलिङमा आए  । खानले सुरुआती चार बलमा दुई रन मात्रै दिएर पाकिस्तानको जितको आधार बनाउँदै थिए ।  

    images
    images
    images

    त्यसपछिको दुई बलमा जितको लागि ६ रन चाहिएको थियो । चरिथले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै श्रीलंकालाई फाइनल पुर्‍याएका हुन् ।साबिकको विजेता श्रीलंकाले आइतबार भारतसँग उपाधिको लागि खेल्ने छ ।

    २. दक्षिण पश्चिम पाकिस्तानमा भएको बिष्फोटमा ११ घाइते

    पाकिस्तनको दक्षिणपश्चिम बलुचिस्तन प्रान्तमा बिहीवार भएको बिष्फोटमा एक धार्मिक राजनीतिक दलका नेतासहित ११ जना घाइते भएका छन् । 

    जमियत उलेमा ए इस्लामका नेता कलात जिल्लामा राजनीतिक रयालीमा भाग लिन जाँदै गर्दा प्रान्तको मस्तुङ जिल्लबाट आक्रमण भएको थियो । नाम नबताउने शर्तमा मस्तुङको प्रहरी श्रोतले प्रारम्भिक अध्ययनअनुसार नेता हाफिज हमदुल्लहको गाडीलाई आत्मघाती हमलाकारीले आक्रमण गरेको बताएको छ ।

    आक्रमणमा घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको छ । अहिलेसम्म कुनैपनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । अनुसन्धानका लागि सो क्षेत्रमा नाकाबन्दी गरिएको छ । 

    ३. दरौँदीमा ९ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने

    गोरखा नगरपालिका-१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । दुई अर्ब १९ करोड ९५ लाखको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । 

    मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा दरौँदी नदीमा नौ दशमलव ८४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष डा. डम्बरबहादुर नेपालीले जानकारी दिए । आयोजना निर्माण गर्दा कुल लगानीको ७० प्रतिशत ऋणबाट लगानी गर्ने र बाँकी स्वपुँजीअन्तर्गतको लगानी रहने उनले बताए । 

    “सिमलगैरामा विद्युत् रहने गरी दरौँदी नदीमा जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो”, उनले भने, “दरौँदी नदीमा बाँध बाँधेर कर्मसिं फाँटको रातडाँडामा बाँध रहने गरी आयोजना निर्माण हुनेछ ।”

    गोरखा-१२, १३ र १४, सहिद लखन गाउँपालिकाका-१, २ र ३ तथा पालुङटार नगरपालिका-३ वडाका गरी आयोजनाले कुल चार सय ४० रोपनी क्षेत्रफल ओगट्ने छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनअनुसार आयोजनाले खेतीयोग्य जमिन एक सय २३ रोपनी, दुई सय ९२ रोपनी बगर क्षेत्र, ३८ रोपनी स्थायी तथा अस्थायी जमिन र १७ रोपनी सामुदायिक वन क्षेत्रफल ओगट्ने छ ।

    “आयोजनाको मुख्य संरचना गोरखा-आँबुखैरेनी सडकखण्डको पहुँच क्षेत्रमा रहनेछ”, आयोजनाका इन्जिनियर अनिल नेपालले भने, “अर्धजलासययुक्त आयोजनाको जलाधार क्षेत्र पाँच सय ३६ दशमलव ५४ वर्गकिलोमिटर रहने छ ।”

    कम्पनीले आयोजना निर्माणस्थल र प्रभावित क्षेत्रका बासिन्दाको धारणा बुझेर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई अन्तिम रूप दिन सार्वजनिक सुनुवाइ कार्यक्रम गरी राय सुझावसमेत सङ्कलन गरिसकेको छ । स्थानीयवासीले आफूहरूलाई आयोजनामा सहभागी गराउनुपर्ने, जग्गा अधिग्रहण गर्दा उचित मुआब्जा दिनुपर्ने, स्थानीयलाई रोजगारी सुनिश्चित गर्नुपर्ने, डुबान तथा प्रभावित क्षेत्रका बासिन्दालाई आयोजनाको सेयर उपलब्ध गराउनुपर्नेलगायतका माग सार्वजनिक सुनवाइका क्रममा गरेका थिए ।

    प्रभावित क्षेत्रका बासिन्दाको राय सुझाव थप गरेर अब वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस गरिने र मन्त्रालयबाट स्वीकृति प्रदान भए लगत्तै विद्युत् उत्पादन अनुमतिका लागि विद्युत् विभागमा निवेदन दिएर तत्काल काम अघि बढाउने कम्पनीका सञ्चालक बलराम केसीले जानकारी दिए । विभागबाट अनुमति पाएपछि आगामी माघ पहिलो सातादेखि आयोजनाको संरचना निर्माणका काम थाल्ने योजना रहेको कम्पनीले जनाएको छ । आयोजना निर्माण सुरु भएको साढे दुई वर्षभित्रमा विद्युत् उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।

    ४. आज राष्ट्रिय बाल दिवस, विविध कार्यक्रम आयोजना गरी मनाइयो

    राष्ट्रिय बाल दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइदैछ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो ।

    त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्षको बाल दिवस ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ मनाइँदैछ ।

    बालबालिकाको हक, हित र बाल अधिकारको शंरक्षण तथा सम्बर्धनका लागि संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धीका प्रावधान, राष्ट्रिय एबं अन्तर्राष्ट्रिय प्रतिबध्दता र नेपालको संबिधान र कानूनले प्रत्याभुत गरेका बालबालिकाको हक हितको कार्यान्वयन नेपाल सरकारको सर्बोच्च प्राथमिकताका बिषयहरु हुन् ।

    नेपालको संबिधानले बालबालिकाको हकलाइ मौलिक हकको रुपमा आत्मसात गरेको छ । संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको छ ।

    ५. राजदुत पोखरेलले बुझाए ओहोदाको प्रमाणपत्र

    पपुवा न्युगिनीका लागि नेपाली राजदुत  कैलाशराज पोखरेलले ओहोदाको प्रमाणपत्र पेस  गरेका छन ।

    बुधबार राजधानी पोर्ट मोरेस्बी स्थित गभर्नर जनरल हाउसमा नवनियुक्त राजदुत महामहिम कैलाश राज पोखरेलले पपुवा न्युगिनीको गभर्नर जनरल सर बोव बोफेङ दादे समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस  गरेका हुन ।

    लामो समय सम्म अभिभावक बिहिन बनेका पपुवा न्युगिनीवासी नेपालीहरु पोखरेलको नियुक्ति संगै खुशी बनेका छन । पोखरेल अस्ट्रेलियाको लागि आवासिय साथै पपुवा न्युगिनी र न्युजिल्यान्डको लागि गैर आवासिय राजदुत हुन ।

    यसै बिच गैरआवासिय नेपाली संघ पपुवा न्युगिनीले नवनियुक्त राजदुत कैलाश राज पोखरेललाई स्वागत, बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

    संस्थाका अध्यक्ष पोषण पुनको सभापतित्व र उपाध्यक्ष हिमाल गौतमले स्वागत गरेको कार्यक्रममा प्रबेश अर्याल, किशोर सिन्हा, डा. किरन राई, सुनिल पोखरेल, सचिन रायमाझी, डा. सुदेश सुवेदी, प्रदिप प्रधान त्यसैगरी डिल्ली गुरागाँइ, रबि शर्मा, सुजन घिमिरे, लक्ष्मण चन्द ठकुरी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा पुर्ब आइसिसी प्रतिनिधि सोम थापा, ममता गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन निबर्तमान अध्यक्ष मोहन बाबू पन्तले गरेका थिए ।

    ६. सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन

    सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन भएको छ । 

    शुक्रवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्ले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो । योग्यता, क्षमता र अनुभवको आधारमा शर्मालाई सर्वाेच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिए । 

    शर्मामाथि संसदीय सुनुवाई समितिमा कुनैपनि उजुरी परेको थिएन । न्याय परिषद्को गत भदौं १० गते बसेको बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनुवाई समितिले अनुमोदन गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नेछन । 

    ७. बालमैत्री वडा बन्ने दौडमा देवदह-५ : टोलटोलमा प्रशिक्षण, स्कूल-स्कूलमा प्रतियोगिता

    देवदह नगरपालिकाको वडा नं. ५ बालमैत्री वडा घोषणाको लागि आवश्यक सूचक पुरा गर्न निरन्तर लागिपरेको छ । जसको लागि वडा कार्यालयले वडा अन्तरगतका सबै टोल र सबै विद्यालयमा अभियान संचालन गरिरहेको छ।   

    बालमैत्री वडा घोषणा कै अभियानमा देवदह-५ ले ५९औं बाल दिवस मनाएको छ । बालमैत्री बाताबरण, बालमैत्री मापदण्ड, सुचकहरुको पुर्णताको लागि टोल स्तरीय प्रशिक्षण कार्यक्रम गरेको छ । आगामी फाल्गुन २ गते बालमैत्री वडा घोषणा गर्ने दौडमा जुटेको वडा कार्यालयले बालदिवसमा टोलहरूमा प्रशिक्षण मात्र गरेको छैन, वडा अन्तरगतका विद्यालयहरूमा बालदिवस विशेष प्रतियोगिता तथा प्रतिभा प्रदर्शनका लगायतका कार्यक्रम संचालन गरेको छ। 

    वडाका विभिन्न २१ वटा टोललाइ ४ भागमा बाडेर प्रशिक्षण चलाइएको वडा अध्यक्ष समेत रहेका नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए। जस अन्तरगत दुर्गा नगर टोल, नमुना हरियाली टोल, सगरमाथा टोल, माथागढी टोल, बैकुण्ठनगर टोल, सिद्धार्थकलोनी टोल, पाल्पालीटोल, आदर्श टोल, सत्यवती टोल, मितेरी टोल, सुन्दर टोल विकास संस्था, माथादेबी टोल विकास संस्था, मितेरी दुर्गा मन्दिर टोलको प्रशिक्षण सम्पन्न भएको वडा कार्यालयले जनाएको छ।

    शुक्रबार सम्पन्न प्रशिक्षणमा प्रशिक्षकहरू निर्मल ढूँगाना, राहुल देव सापकोटा र त्रिलोचन दाहालले बालमैत्री स्थानीय शासनका सूचक, यसको आवश्यकता र महत्वबारे वडाबासीलाई प्रशिक्षित गरेको वडा कार्यालयले जनाएको छ । प्रशिक्षणमा टोल विकास संस्थाका पदाधिकारी, विभिन्न बाल क्लब र बालसंजालका अध्यक्ष तथा पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । 

    त्यसैगरि स्कूल स्कूलमा प्रतियोगिता र बाल प्रतिभा प्रदर्शन कार्यक्रम अन्तरगत वडाले देवदह मदरर्टङ्स एकेडेमी (मदरर्टङ्स बाल क्लब) मा  सामाजिक सद्भाव हाम्रो पहिचान, यसपालिको तीज विद्यार्थी अभियान विषयक तिज गित प्रतियोगिता, केरवानी माध्यमिक विद्यालय (केरवानी बाल क्लब ) मा  बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी विषयक तीज गीत तथा नृत्य प्रतियोगिता, देवदह बुद्ध पब्लिक इ बो स्कुलमा प्रतिभा प्रदर्शन कार्यक्रम र न्यु लुम्बिनी इबो स्कुलमा बाल दिवस विशेष तीज गीत प्रतियोगिता लगायतका कार्यक्रम  सम्पन्न गरेको छ ।

    नगरपालिकामै पहिलोपटक वडा बाल प्रोफाइल तयार गरेको देवदह-५ ले बालमैत्री स्थानीय शासनका ५१ सूचकमध्ये अधिकांश सूचक पुरा भैसकेको र बाँकी केही सूचक पुरा गर्न अभियान संचालन गरिरहेको जनाएको छ ।

    ८. प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति शिसँग हाङजाओमा शिष्टाचार भेट गर्ने

    प्रधानमन्त्री पुष्पकमल दाहालले चीनका राष्ट्रपति शि जिनपिङसँग हाङजाओमा शिष्टाचार भेटवार्ता गर्ने भएको छन ।

    प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमण र संयुक्त राष्ट्र संघको ७८ औं महासभाको औपचारिक भ्रमणबारे शुक्रवार प्रतिनिधि सभालाई जानकारी गराउँदै सो कुरा बताएका हुन । प्रधानमन्त्री दाहाल अगामी असोज ५ गते संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिएर सिधै चीन भ्रमणमा जाने कार्यक्रम तय गरिएको छ । प्रधानमन्त्री दाहालले छोटो समय रहेका कारण संयुक्त राष्ट्र संघको ७८ औं महासभाको कार्यक्रम सकेर त्यतैबाट भ्रमण चीन भ्रमणमा जानुपर्ने अवस्था आएको बताए । उनले आफ्नो चीन भ्रमण दुई मुलुकबीचको  विद्यमान द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने तथा नेपाल र नेपाली जनताको हीत एवं दुई मुलुकबीचको सम्बन्धलाई मजबुत तुल्याउन सदुपयोग गर्ने बताए । 

    यसअघि प्रधानमन्त्री दाहालले असोज ४ गते संयुक्त राष्ट्र संघको ७८ औं महासभालाई न्युयोर्कमा सम्बोधन गर्नेछन । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघको महासभामा आफूले नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरु अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रुपमा स्तरोन्नति हुन आइपरेका चुनौतिबारे विश्व समूदायको ध्यानाकर्षण गराउने बताए । उनले अल्प विकसित देशहरुको समूहका अध्यक्षको हैसियतले यो समूहका सदस्य राष्ट्रहरुले झेल्नुपरेका विशिष्ट चुनौतिबारे आवाज उठाउने, जलवायु परिवर्तनबाट नेपालजस्तो पर्वतीय देशमा परेको गहिरो र दूरगामी प्रभाव लगायतका नेपालका लागि चासोका विषय र प्राथमिकताहरुप्रति विश्व समुदायको न्यायाकर्षण गराउने योजना रहेको बताए । 

    प्रधानमन्त्री दाहालको प्रधानमन्त्रीको रुपमा चीनको यो तेस्रो भ्रमण हो । भ्रमण दल छोटो र छरितो रहेको पनि उनले दाबी गरे ।

    ९. कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्छः मन्त्री बस्नेत

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्ने बताएका छन । 

    शुक्रवार काठमाडौंमा आयोजित जनसङ्ख्या र विकास सम्बन्धी सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षालाई देशभर निःशुल्क गर्नुपर्ने बताए । उनले कक्षा १२ सम्मको शिक्षाको जिम्मा राज्यले लिनुपर्ने बताए । आफूले शिक्षालाई निःशुल्क बनाउनुपर्ने कुरा संसद र मन्त्रिपरिषद्मा पनि राखिरहेको उनले बताए । उनले शिक्षा र स्वास्थ्य जनताको आधारभुत आवश्यकता भएको उल्लेख गर्दै यसको प्रगति र व्यवस्थापन बिना राष्ट्रको विकास सम्भव नहुने बताए । उनले आफूले मन्त्रीको जिम्मेवारी सम्हालेपछि १६ वर्षदेखि मन्त्रालयमा अल्झिएर बसेका विभिन्न रणनीतिहरु पास गरेको पनि बताए ।

    मन्त्री बस्नेतले केही दिन अघि कान्ति बाल अस्पतालमा आकस्मिक उपचार नपाएर एक बालिकाको मृत्यु भएको प्रकरणमा सम्बन्धित स्वास्थ्यकर्मीको कमी, कमजोरी भएको भन्दै कारबाही प्रक्रिया अगाडी बढेको बताए । 

    मन्त्री बस्नेतले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरु पनि पूर्वशर्त बमोजिम दुर्गम ठाउँमा गएर सेवा नगर्ने गरेको अवस्था रहेको बताए । उनले विभिन्न बाहानाबाजी गरेर चिकित्सकहरु सुविधासम्पन्न ठाउँमा बसिरहने प्रवृत्ति रहेको पनि उल्लेख गरे । मेडिकल बोर्डले समेत सम्बन्धित चिकित्सकहरुलाई बिरामी भएको प्रमाणित गरिदिने गरेको भन्दै अहिले सरकारले त्यसरी मेडिकल बोर्डले दिने प्रमाणपत्रलाई बन्द गरेको बताए । त्यसैगरी डाक्टरले दिने प्रस्किप्सनको समेत अडिट हुने गरेको उनले बताए ।

    मन्त्री बस्नेतले सरकारले कडाइ गरेका कारण अहिले भने दुर्गम ठाउँमा चिकित्सकहरु जाने गरेका बताए । 

    १०. बुटवलका प्रमुख र उपप्रमुखले पोशाक र कापी हस्तान्तरण गरेर मनाए बाल दिवस

    बुटवलका प्रमुख र उपप्रमुखले बालबालिकालाई पोशाक र कापी हस्तान्तरण गरेर राष्ट्रिय बाल दिवस मनाएका छन्। शुक्रबार राष्ट्रिय बाल दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल ५ मा रहेको बाल विद्यामन्दिरका ३२ जना बालबालिकालाई पोशाक, पोशाक सिलाउने रकम, कापी, पेन्सिल र खाजा दिएका हुन्।

    पोशाक हस्तान्तरण गर्दै नगर प्रमुख पाण्डेयले घरबाट बालबालिकालाई उचित शिक्षा र उपयुक्त वातावरण प्रदान गर्नुपर्ने बताए।

    'घर नै बालबालिकाको पहिलो सिकाइ गर्ने थलो हो, घरमै उचित वातावरण दिइएन भने बालबालिकाको भविष्य राम्रो हुँदैन-उनले भने-केही आर्थिक स्थिति कमजोर भएका अभिभावकले आफ्ना छोराछोरीलाई माग्न पठाउने र त्यो रकमबाट मदिरा सेवन गर्ने गरेको पनि पाइएको छ, घरमा यस्तो सिकाइ भयो भने बालबालिकाको भविष्य कसरी राम्रो हुन्छ, यसतर्फ पनि हामी सचेत हुनुपर्दछ।'

    कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बालबालिकाको भविष्यबारे अभिभावकले पहिलो चासो दिनुपर्ने र त्यसपछि समाजमा उपयुक्त वातावरण दिनुपर्ने बताइन्।

    कार्यक्रममा बाल संगठनका साजन भण्डारी, बुटवल उपमहानगरपालिकाका निर्देशक तुलसा अर्याललगायतले बोलेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।