१.आज कुशे औँशी, गोकर्णेश्वर र पशुपतिमा श्राद्ध गर्नेको भीड
आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन । कुशे औँशीका दिन छोराछोरीहरू परम्पराअनुसार आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने गर्दछन् ।
कुशे औँशीको अवसरमा आज काठमाडौंको पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तिर्थस्थलमा भीड लागेको छ । कुशे औँशीको अवसरमा गोकर्णेश्वर, पशुपतिनाथ मन्दिर क्षेत्रस्थित वागमती नदी किनारमा आफ्नो पिता गुमाएकाहरुले श्राद्ध, पितृको नाममा तर्पण एवं पिण्डदान दिइ पितालाई सम्झनेहरुको भीड देख्न सकिन्छ ।
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष घुइँचो लाग्छ । आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।
२. गैडहवामा ईलाका प्रशासन कार्यालय राख्न गृहमन्त्रीसँग माग
रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकामा ईलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे र गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडलले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग गृहमन्त्रालयमा छलफल गरेका छन । क्षेत्र नं. ५ मा पर्ने गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका, मायादेवी गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र सैनामैना नगरपालिकाका ३२ वटा वडाका अधिकांश बासिन्दालाई पायक पर्ने गैडहवाको प्रमुख प्रशासनिक भवन रहेको क्षेत्रमा ईलाका प्रशासन कार्यालय स्थापनाको विषयमा छलफल भएको हो ।
त्यसक्रममा प्रतिनिधिसभा सदस्य घिमिरेले स्थानीय सरकारका जनप्रतिनिधि, राजनीतिक दल तथा सरोकारवालाहरुको सर्वदलीय बैठक बसी गरेको निर्णयको छायाँप्रतिसहित आफ्नो तर्फबाट ईलाका प्रशासन कार्यालय स्थानपाको मागसहितको पत्र गृहमन्त्री श्रेष्ठलाई प्रदान गरे । छलफलमा उनले क्षेत्र नं. ५ का ३२ वडाका अधिकांश नागरिकलाई जिल्ला सदरमुकाम भैरहवा पुगेर प्रशासनिक सेवा लिन कठिन रहेकोले यथाशीघ्र ईलाका प्रशासन कार्यालय स्थापनाको प्रक्रिया अघि बढाइदिन गृहमन्त्री श्रेष्ठसँग माग गरे । पायक पर्ने स्थानमा ईलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने यहाँका नागरिकहरुको धेरै पहिला देखिको माग रहेको उल्लेख गर्दै उनले यहीँ सन्दर्भलाई लिएर स्थानीय सरकारका प्रमुख, उपप्रमुखहरु लगायतका जनप्रतिनिधिहरु, राजनीतिक दलका नेतालगायत सरोकारवालाहरुको सर्वदलीय बैठक बसेर अधिकांश जनतालाई पायक पर्ने गैडहवाको प्रमुख प्रशासनिक भवन रहेको क्षेत्रमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न जिल्ला प्रशासन कार्यालयमार्फत् गृह मन्त्रालयमा माग गर्ने निर्णय भएको समेत जानकारी गराए ।
यस्तै गाउँपालिका अध्यक्ष पौडेलले जनतालाई छिटोछरितो प्रशासनिक सेवा प्रदान गर्ने नेपाल सरकारको नीति समेत रहेकोले गैडहवामा ईलाका प्रशासन कार्यालय अनिवार्य रहेको बताए । उनले सामाजिक न्यायको लागि पनि क्षेत्र नं. ५ का बासिन्दाका लागि गैडहवामा नैं ईलाका प्रशासन कार्यालय आवश्यक रहेको उल्लेख गरे ।
३.सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै
नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ ।
सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उनको सोमबार राति हृदयाघातबाट निधन भएको थियो ।
एमालेले विज्ञप्ति जारी गर्दै उपाध्यक्ष नेम्वाङको शवयात्राको रुट पनि तय भएको जनाएको छ ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज– नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट पुर्याइने उल्लेख छ ।
नेम्वाङप्रति बुधबार विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
४.स्पेनको नर्सिङ होममा आगलागी हुँदा एक जनाको मृत्यु, २७ घाइते
उत्तरी स्पेनको नर्सिङ होममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
उत्तरी स्पेनको सिएरो नगरपालिकाको एक नर्सिङ होममा बुधवार आगलागी भएको हो । आस्टुरियसको प्रिन्सिपलिटी (सेपा) को आपत्कालीन सेवाका अनुसार मृतक महिला आगलागी भएको भवनको तेस्रो तलामा थिइन् । २७ जना घाइतेमध्ये तीनको अवस्था गम्भीर छ ।
५. थाइल्याण्डले चीन र काजाकिस्तानका पर्यटकलाई भिसा बिनै प्रवेश दिने
थाइल्याण्डले पर्यटन उद्योगको विकासका लागि वर्षको अन्त्यमा चीन र काजकिस्तानका पर्यटकहरुलाई बिना भिसा प्रवेश दिने भएको छ ।
चीन र काजाकिस्तान पर्यटकहरुका लागि अस्थायी भिसा छुट दिने प्रश्ताव अनुमोदन भएको हो । थाइ प्रधानमन्त्री श्रेथा थाभिसिनले बुधवार यो नीतिले चिनियाँ र काजाकिस्तान पर्यटकहरुलाई सेप्टेम्बर २५ देखि फेब्रुअरी २०२४ को अन्त्यसम्म भिसा आवश्यक नपर्ने बताए ।
यस अवधि सकिएपछि त्यसको प्रभाव मूल्यांकन हुने बताए । यस नयाँ नीतिबाट थाइल्याण्डले यस वर्ष २८ मिलियन विदेशी पर्यटक भित्र्याउने सोच राखेको छ । उनीहरुबाट ३९.१५ बिलियन अमेरिकी डलर राजश्व कमाउने अपेक्षा गरेको छ । कुल पर्यटन राजश्वमा ८६.६८ बिलियन अमेरिकी डलरसहित २०२४ मा देशमा पर्यटकको संख्या ४ करोड पुग्ने अनुमान छ । थाइल्याण्डमा देशको कुल गार्हस्थ्य उत्पादनको करिव १२ प्रतिशत पर्यटनले ओगटेको छ ।
६. व्यवस्थापकीय जनशक्तिलाई रोजगारीसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्वन गर्नुपर्छ
विज्ञहरुले विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई रोजगारीसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्वन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनीहरुले व्यवस्थापन संकायमा विद्यार्थी संख्या बढेपनि उत्पादित जनशक्तिलाई रोजगारसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्वन गर्न नसकेको बताएका हुन् । विद्यार्थीलाई रोजगारसँग जोड्न उद्योगधन्दाको विकास हुनुपर्ने र राज्यले उपयुक्त नीति अवलम्वन गनुपर्नेमा विज्ञहरुको जोड छ ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लिराज शर्माले उत्पादित जनशक्तिले सजिलैसँग रोजगारी पाउन नसकेको बताए । शर्माले विद्यार्थीलाई रोजगारसँग जोड्न उद्योग धन्दाको विकास हुनुपर्ने र राज्यले उपयुक्त नीति अवलम्वन गनुपर्ने बताए । उनले विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरेपनि दक्षताको अभिवृद्धि गर्ने अवसर नपाउँदा विद्यार्थीहरु विदेश पलायन हुन बाध्य भएको बताए । उनले नेपालमा सञ्चालित उद्योगहरुमा समेत दक्ष र सीपयुक्त जनशक्तिले रोजगार पाउन नसक्नु बिडम्बनाको विषय भएको उल्लेख गरे । उनले शिक्षा व्यक्तिको व्यवसायिक मात्रै नभई व्यक्तिगत जीवनशैली र जीवनपद्यतीसँग पनि जोडिएकाले विद्यार्थीको आकर्षण व्यवस्थापन संकायमा बढेको बताए ।
विश्वविद्यालयले इन्टर्नसिप वा व्यवहारिक रुपबाट शिक्षालाई जोड्नुपर्ने भएपनि अझै त्यसो हुन नसकेको बताए । विद्यार्थीको चाप धेरै भएपनि औद्योगीकरण (इन्डस्ट्रीलाईजेसन) र औद्योगिक प्रतिष्ठानहरुमा विद्यार्थीले पर्याप्त अवसर पाउन नसकेको गुनासो गरे । विद्यार्थीहरुलाई व्यवहारमुखी ज्ञान दिन आवश्यक रहेको उनको भनाई छ ।
७. राष्ट्रिय सभाबाट संविधान सभा अध्यक्ष स्व.नेम्वाङको शोक प्रश्ताव पारित
राष्ट्रिय सभाको बैठकले संविधान सभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय उपाध्यक्ष एवं प्रतिनिधि सभामा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रश्ताव पारित गरेको छ ।
बिहीवार बसेको राष्ट्रिय सभाको बैठकले स्व.नेम्वाङको निधनको शोक प्रश्ताव बैठकबाट सर्वसम्मतिले पारित भएको हो । उनको सम्मानमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा मिति २०८० साल भदौ २६ गते निधन भएकोमा राष्ट्रिय सभाको बैठकले गहिरो शोक प्रकट गरेको बताए ।
स्व. नेम्वाङ नेकपा एमाले पार्टीको तर्फबाट २०४८ र २०५२ मा राष्ट्रिय सभा सदस्य, २०५६ मा प्रतिनिधि सभा सदस्य,२०६३ मा पुनःस्थापित प्रतिनिधि सभा सदस्य र व्यवस्थापिक संसद सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिक संसद सदस्य, २०७४ र २०७९ मा संघीय संसदअन्तर्गतको प्रतिनिधि सभा सदस्य थिए । साथै २०६३ सालमा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६३ सालमा नै व्यवस्थापिका संसदको सभामुख र २०६५ र २०७० को संविधान सभाको अध्यक्ष थिए । यसैगरी २०५६ मा प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति भएका स्व. नेम्वाङ कानून, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत भएका थिए । संविधान सभा मार्फत नेपालको संविधान निर्माणमा उनको अग्रणी भुमिका रहेको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक २०८० साल असोज १२ गते शुक्रवार अपरान्ह बजेर १ मिनेटमा बस्नेछ ।
८. लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुग्यो, १० हजार बेपत्ता
पूर्वी लिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुगेको छ ।
अन्य ७ हजार बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । त्रिपोलीस्थित आपत्कालीन सेवाका प्रवक्ता ओसामा अलीले मृतकको यकिन संख्या अझै निर्धारण गर्न नसकिएको र अझै पनि बाढीबाट प्रभावित क्षेत्रहरुबाट शव निकाल्ने काम भइरहेको बताए ।
बाढी प्रभावित क्षेत्रमा करिव १० हजार मानिस बेपत्ता भएको र ३० हजार बढी बिस्तापित भएको बताइएको छ । साथै अत्यावश्यक सामग्रीहरुको समेत अभाव हुन थालेको बताइएको छ । भूमध्यसागरीय आँधी पछिको बाढीका कारण पूर्वी लिबियामा ठूलो क्षति भएको छ ।
९. एकिकृत समाजवादीमा झाक्रिलाई अमेरिका इन्चार्जको जिम्मेवारी
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव रामकुमारी झाँक्रीले प्रवास विशेष प्रदेशको जिम्मेवारी पाएकी छन् ।
अध्यक्ष माधवकुमार नेपालले नेताहरुको कार्यविभाजनसहित जारी गरेको अन्तरपार्टी निर्देशनमा नेतृ झाक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जका रुपमा जिम्मेवारी तोकिएको छ ।
१०.अहिलेका दिनहरुमा चर्चामा रहेको काठमाडौंको टुकुचा खोलाको पौराणिक नाम के हो ?
सेतोमसी लोकसेवा विशेष - अध्याय ४
१. कोशी प्रदेशलाई कहिले साक्षर प्रदेश घोषणा गरियो ?
(क) २०७९/०५/२३
(ख) २०७९/०४/२३
(ग) २०८०/०४/२३
(घ) २०८०/०५/२३
२. पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट कहिले पहिलो व्यवशायिक उडान भएको हो ?
(क) २०७९/०५/२३
(ख) २०७९/०४/२३
(ग) २०८०/०४/२३
(घ) २०८०/०५/२३
३. आई सी सी महिला टि २० विश्वकप एसिया छनौटमा नेपाल सेमिफाईनलमा नेपाल कुन देशसंग पराजित भएको हो ?
(क) दुबइ
(ख) कतार
(ग) श्रीलंका
(घ) थाईल्याण्ड
४. २० औ निजामती सेवा दिवसको नारा के हो ?
(क) “सुशासन र प्रदान गरिने सेवाको प्रभावकारिता”
(ख) स्वच्छ र सक्षम निजामती प्रशासन, समृदि र सुशासन “
(ग) व्यावसायिक र सिर्जनशील प्रशासन बिकास,समृदि र सुशासन”
(घ) निजामती सेवामा सबैको समान पहुच “
५. टाईटन सबमरसिबल (Titan Submersible ) कहिले दुर्घटना भएको हो ?
(क) २०२३ जुन १८
(ख) २०२३ अगस्ट १८
(ग) २०२३ मे २३
(घ) २०२३ जुन २३
६. हेलो सरकारको विस्तारित २४ घन्टे सेवाको सुरुवात कहिले गरियो ?
(क) २०८०/०५/१५
(ख) २०८०/०५/१६
(ग) २०८०/०५/१७
(घ) २०८०/०५/१८
७. नाम्जा भन्ज्याङ कुन जिल्लामा पर्दछ ?
(क) ताप्लेजुंग
(ख) डोल्पा
(ग) मुगु
(घ) रसुवा
८. गोसाइँकुण्ड कुन जिल्लामा पर्दछ ?
(क) ताप्लेजुंग
(ख) डोल्पा
(ग) मुगु
(घ) रसुवा
९. अहिलेका दिनहरुमा चर्चामा रहेको काठमाडौंको टुकुचा खोलाको पौराणिक नाम के हो ?
(क) महाप्रभा
(ख) चम्पावती
(ग) यसोधरा
(घ) इच्छामती
१०. सातौ कृषि गणना २०८० को नतिजा कहिले सार्बजनिक भएको हो ?
(क) २०८०/५/२०
(ख) २०८०/०५/२१
(ग) २०८०/०५/२२
(घ) २०८०/०५/२३
उत्तरहरू
१. २०७९/०५/२३
२. २०८०/०५/२३
३. थाईल्याण्ड
४. व्यावसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन”
५. २०२३ जुन १८
६. २०८०/०५/१७
७. मुगु
८. रसुवा
९. इच्छामती
१०. २०८०/०५/२१
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology