Logo

२०८३, आश्विन १२गते


images
images

सेतोमसी हाईलाइट : आजका १० समाचार

सेतोमसी हाईलाइट : आजका १० समाचार

images
  • सेतोमसी हाईलाइट : आजका १० समाचार
    images
    images

    १. पोखरा तीज महोत्सव सम्पन्न

    images
    images
    images

    पोखरा तीज अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको २५ औं संस्करणको लामाचौर तीज महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ । महोत्सव अवसरमा राष्ट्रिय भलिबल प्रतियोगिता, अन्तरमहिला समूहगत खुला तीज गीत तथा अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगितालगायत विविध प्रतियोगिता प्रमुख आकर्षण रहे । ३ दिनसम्म चलेको महोत्सवको सोमबार समापनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले गरेका हुन् । उनले यसखालका मेला महोत्सवले संस्कृति संरक्षणका साथै आर्थिक गतिविधि बढाउन मद्दत मिल्ने बताए ।

    images
    images
    images

    अन्तरमहिला समूहगत खुला तीज गीत तथा अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता दुवैमा लामाचौरकै वर्चश्व रह्यो । अन्तरमहिला समूहगत खुला तीज गीतमा लामाचौरको जाल्पादेवी महिला सामुदायिक विकास प्रथम भयो । दोस्रो हेमजाको देवीस्थान भजन समूह, तेस्रो महिला सामुदायिक स्वास्थ्य समाज पोखरा १९ र सान्त्वना गैराबारी कोपिला महिला समूह पोखरा १९ भए । प्रथमलाई ५०, दोस्रोलाई ३०, तेस्रोलाई २० र सान्त्वनालाई १० हजार र सहभागी टिमलाई प्रोत्साहनवापत २ हजार दिइयो । जसको निर्णायक संयोजक कलाकार दीपक खड्का थिए ।

    images
    images
    images

    अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा लामाचौरको सरस्वती आदर्श विद्याश्रम प्रथम भएको छ । भाष्कर ममोरियल दोस्रो र वेसलाइन एकेडेमी तेस्रो भए । सान्त्वना प्रगति इङलिस बोर्डिङ स्कुल, कुमुदिनी होम्स् र बालकल्याण मावि सान्त्वना भए । सिर्जना मावि उत्कृष्ट भेषभूषामा पुरस्कृत हुँदै ५ हजार पुरस्कार जितेको छ । प्रथम, दोस्रो, तेस्रो र सान्त्वना (३ टिम) लाई क्रमशः ४०, २५, १५ र ५ हजार प्राप्त गरेका छन् ।

    अन्तिम दिन भलिबलसहित विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण एवं स्रष्टा सम्मान गरियो । खेलकुदतर्फ दिलसरा राना र बास्केटबल तथा ह्याण्डबल प्लेयर जुमप्रसाद गुरुङ, शिक्षातर्फ पश्चिमाञ्चल इन्जिनियरिङ कलेज तथा साहित्य विधामा रवीन्द्र माकाजू सम्मानित भएको संस्थाका सहसचिव हरिबहादुर थापाले बताए ।

    आयोजकले दैनिकरुपमा राष्ट्रिय कलाकारलाई महोत्सव उतारेको थियो । आइतबार समीक्षा अधिकारीको प्रस्तुतिमा दर्शक झुमेकोमा समापनमा लोकदोहोरी कलाकार चिज गुरुङ, श्रीकृष्ण बम मल्ल, बविता बानियाँ जेरी, लक्ष्मी मल्ल, दीपक खड्का लगायत कलाकारले प्रस्तुति दिएको संस्थाका प्रथम उपाध्यक्ष तथा सूचना एवं सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले बताए । महोत्सवमा विभिन्न व्यापारिक स्टलहरुमा पनि ग्राहकको भिड लागेको थियो ।

    संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले महोत्सव सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे । आयोजकले महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष वृद्धिका लागि थप गर्ने संस्थाका पूर्व अध्यक्ष बुद्धिबहादुर खत्री क्षेत्रीले बताए । संस्थाको २७ औं वार्षिक समारोहबीच इन्द्रराज्य लक्ष्मी माविको प्रांगणमा शनिबारदेखि सुरु महोत्सवको संघीय मन्त्री सुरेन्द्र आचार्यले समुद्घाटन गरेका थिए ।

    २. पोखरामा  निःशुल्क एम्बुलेन्स सेवा  

    पोखरा महानगरपालिका वडा नं.१६, १९ र नव आदर्श सामुदायिक विकास समाज लामाचौर तथा मातृशिशु मितेरी अस्पताल बिच निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ । वडा कार्यालयको आमा पोषण कार्यक्रम अन्तरगत आफ्ना नागरिकहरूलाई महानगरभित्रका अस्पतालहरूसम्म पुग्नका लागि नव आदर्श सामुदायिक विकास समाजले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा वडा अध्यक्षद्धय अमृत शर्मा तिमील्सीना र पुष्पेन्द्र पाण्डे तथा समाजका अध्यक्ष स्वागत मानसिं भण्डारी र अस्पतालका स्वास्थ्य सेवा प्रमुख धर्मदेव ढकालले हस्ताक्षर गरे गर्नुभएको हो ।

    सम्झौता अनुसार नव आदर्श सामुदायिक विकास समाजले पोखरा १६ र १९ का वडावासीहरूलाई बिरामी भई उपचारका लागि अस्पतालसम्म जानका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ । उपचार पश्चात् घर फर्कन परेमा एम्बुलेन्स तथा उपचारका क्रममा मृत्यु भएमा सववाहन सेवा समेत समाजले उपलब्ध गराउनेछ । तर, सेवाका लागि पोखरा १६ र १९ मा स्थायी बसोबास गरिरहेको भन्ने प्रमाण खुल्ने कागज भने सेवाग्राहीले अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ ।

    सेवाबापत वडा कार्यालयहरूले समाजलाई भुक्तानी दिनेछ । आफ्ना नागरिकहरूका लागि निःशुल्क व्यवस्था गरिएको भए पनि वडा कार्यालयको तर्फबाट भने सेवाबापतको रकम भुक्तानी गर्ने व्यवस्था सम्झौतामा उल्लेख छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहवरमा गरिएको उक्त सम्झौता एक वर्षसम्म कायम रहनेछ ।

    सम्झौता अनुसार पोखरा १६ र १९ का जनताले नव आदर्श सामुदायिक विकास समाज र मातृशिशु मितेरी अस्पतालद्वारा सञ्चालित एम्बुलेन्स तथा शव वाहनबाट चौबिसै घण्टा निःशुल्क सेवा लिन सक्ने पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सीनाले बताए । एम्बुलेन्स सेवाका लागि नव आदर्श समाजको फोन नं ०६१–४४४१००, ९८५६०१५२०६, ९८५६०१६२०६ तथा मातृशिशु अस्पतालको ०६१–४४३१४४ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको पोखरा १९ का वडा अध्यक्ष पाण्डेले बताए ।

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वास्थ्य सेवामा नगर बासीहरूको सहज पहुँच पुर्‍याउनका लागि यस प्रकारका समझदारीहरूले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । सेवाबापतको रकम वडा कार्यालयको तर्फबाट भुक्तानी हुनेभएपछि सेवाग्राहीहरू नागरिकलाई यसले ठुलो राहत पुग्ने उनले बताए । रातको समयमा अप्ठ्यारो परेका बेला शुल्कका विषयमा झमेला नगरी निर्बाध सेवा लिन पाउने व्यवस्था नागरिकका लागि राज्यले बहन गरेको महत्पूर्ण जिम्मेवारी भएको उनले उल्लेख गरे ।

    पोखरा महानगरपालिकाद्धारा सञ्चालित शिशुवा अस्पतालले पनि अत्याधुनिक एम्बुलेन्स सेवा प्रदान गरिरहेको छ । नागरिकको स्वास्थ्य सेवाका लागि पोखरा महानगरपालिका मातहतमा १ अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्र, १९ स्वास्थ्य चौकी, २ आयुर्वेद औषधालय, १ सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, २३ सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन् ।

    ३. आज राष्ट्रिय शिक्षा दिवस, विविध कार्यक्रम गरि मनाइँदै

    ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदै छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकुमार राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्या भूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको छ ।

    यसबीचमा स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त सात सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वोत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनालाई ‘ग’ श्रेणीको पदक दिइनेछ । यस्तै छात्रा विद्यापदक पनि प्रदान गरिनेछ ।

    समयमा बजेट निकासा नहुँदा पदक निर्माण हुन नभ्याइएकाले आज पुरस्कारमात्रै वितरण हुने र पदक वितरणको सूचना पछि आउने मन्त्रालयले जनाएको छ । विभूषित हुनेहरूको नामावली मन्त्रालयले आज प्रकाशन गरेको छ । दिवसका अवसरमा पहिलोपटक नेपाल प्रविधि विद्या भूषण र समाज कल्याण शिक्षा पुरस्कार थप गरिएको छ । सबै गरी एक सय ७७ पुरस्कृत हुनेछन् ।

    नेपाल सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानी गत जेठ ९ गतेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।

    सङ्घीय संसद्को दुवै सदनबाट पारित सो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ असोज २ गते प्रमाणीकरण गर्नुभएको थियो । विसं २०३१ देखि ‘शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ सुरु भएको राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापनापछि हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवस (सेप्टेम्बर ८) कै दिन मनाउन थालिएकामा २०७६ सालदेखि दुई दिवसलाई अलग–अलगरूपमा मनाउने निर्णय भए पनि राष्ट्रिय दिवसको मिति निर्धारण हुन बाँकी रहेको थियो । 

    ४. आज ऋषिपञ्चमी पर्व मनाइँदै

    ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

    प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

    हरितालिका तीजको व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

    महिलामा रजस्वलाका समयमा छाई छुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

    नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी, र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दतिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको उनले बताए ।

    यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

    ऋषि पञ्चमीको पृष्ठभूमि
    महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किंवदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रह्म हत्याको पाप भोग्नुपर्यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए ।

    यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसूदन सुवेदीले बताए ।

    रजस्वला भएका बेलामा अरूलाई छोइछाइ गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने एवं जानी नजानी छोइछाइ भएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको हो ।

    रज भनेको फोहर हो । जुन महिलामा मासिक धर्मका समयमा निस्कन्छ । यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययन अनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएको विश्वास गरिन्छ । यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अध्ययन गरी सार्वजनिक गरिनुपर्नेमा पनि उनले जोड दिए । आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।

    यस अवसरमा आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ ।

    ५. नौबिसे–मलेखु सडक राती बन्द हुने 

    पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड राती बन्द हुने भएको छ ।

    सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको हो । असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि ३ बजेसम्म चार घन्टा खयरघारी र पोखरेखोला नजिक सवारी आवागमन रोकेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले जानकारी दिए ।

    सोमबार बसेको सरोकारवालाहरूको बैठकले रातिको समयमा एम्बुलेन्स र सुरक्षाकर्मीको सवारीबाहेक अन्य सवारीसाधन पूर्ण रूपमा बन्द गरिने निर्णय गरेको हो। सवारी बन्द गरेर काम गर्दा यात्रुलाई समस्या हुने भएकाले दिउँसो मात्र यात्रा गर्न आग्रह गरिएको छ ।

    निर्माण कार्यस्थल नजिक हुने सक्ने सम्भावित सवारी चापलाई मध्यनजर गरी राजमार्गका उपयुक्त स्थानमा सवारीसाधन रोकी व्यवस्थापन गर्न पनि अनुरोध गरिने प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए ।

    उनले सम्बन्धित आयोजनाका तर्फबाट सबै पक्षलाई सूचित गर्न राष्ट्रिय दैनिक तथा अन्य सञ्चार माध्यमबाट सूचना प्रवाह गर्न र छिमेकी जिल्लासँग पनि समन्वय गरी यात्रुले दुःख नपाउने गरी काम गर्न निर्देशन दिएका छन् ।

    ६. विद्यार्थीमा सफलताको भोक हुनुपर्छः महामन्त्री थापा

    नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताएका छन । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यार्थीले सफलताको भोक राखेर अघि बढ्नुपर्ने बताएका हुन । उनले जिन्दगीको सबैभन्दा ठूलो कुरा भनेको खुशी कसरी हुने भन्ने रहेको बताए ।

    उनले हरेक मानिस जहिल्यै पनि तनावमा रहने गरेको भन्दै सानो तिनो हारलाई पनि सहजै लिन जान्नुपर्ने बताए । उनले सांसदहरुलाई अर्को चुनाव कसरी जित्ने भन्ने चिन्ता, ५ पटक प्रधानमन्त्री भइसकेको व्यक्तिलाई छैटौं पटक किन भइएन भन्ने चिन्ता र प्रधानमन्त्रीलाई बेलुका पद जाने हो की भन्ने चिन्ता हुने गरेको बताए । 

    महामन्त्री थापाले इमान्दारिताका साथ काम गर्न र फलको आश नगर्न विद्यार्थीलाई आग्रह गरे ।

    ७. संसदमा दर्ता भएको शिक्षा विधेयकको बारेमा छलफल गर्न तयार छौँः उपप्रधानमन्त्री खड्का

    उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको मुलुकको संविधानले परिकल्पना गरेको शिक्षा व्यवस्थाको प्रतिकुल नहुनेगरी संसदमा दर्ता भएको शिक्षा विधेयकको बारेमा छलफल गर्न सरकार तयार रहेको बताएका छन । मंगलवार राष्ट्रिय शिक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उनले मुलुकको अर्थतन्त्रले धान्न नसक्ने मागहरु र मुलुकको संविधानले परिकल्पना गरेको शिक्षाको व्यवस्थाको प्रतिकुल नहुनेगरी यी दुई कुरा बाहेक सबै कुरामा सरकार संसदमा दर्ता भएको विधेयकका बारेमा छलफल गर्न, समाधान निकाल्न तयार रहेको बताएका हुन । उनले छलफल र सहकार्यबाट समाधान सबैकुरा समाधान गर्न सकिने बताए । कार्यवाहक प्रधानमन्त्री खड्काले मुलुकको वर्तमान अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा रहेकाले अहिलेको अर्थतन्त्रले धान्न नसक्ने मागलाई सम्बोधन गर्न नसकिने स्पष्ट पारे ।

    कार्यवाहक प्रधानमन्त्री खड्काले सकरारले शिक्षा क्षेत्रमा रुपान्तरणको आवश्यकता महशुस गरेको बताए । उनले प्राथमिक तहदेखि विद्यालय तहसम्मको भौतिक पूर्वाधार सुधार, पाठ्यक्रम परिमार्जन, अध्ययन, अध्यापनको पद्धतिमा सुधार, परीक्षा प्रणालीको नतिजा व्यवस्थापनमा सुधारका प्रयासहरु भइरहेको पनि बताए । उनले शैक्षिक कार्यतालिकालाई पूर्वअनुमान योग्य बनाउने सन्दर्भमा समयमा नै भर्ना, परीक्षा सञ्चालन र नतिजा प्रकाशन गरी विश्वविद्यालयहरुको एकीकृत र शैक्षिक कार्ययोजना तयार भएको बताए । उनले व्यवसायिक तथा प्राविधिक शिक्षालाई सरकारले उच्च महत्व दिएको उल्लेख गर्दै प्राविधिक र व्यवसायिक शिक्षालयहरुको गुणस्तर अभिवृद्धिका लागि सरोकारवाला सबैबाट यथेष्ट पहल हुनुपर्ने बताए । 

    कार्यवाहक प्रधानमन्त्री खड्काले चिकित्सा क्षेत्रको सुधारको सन्दर्भमा सरकारले सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने नीति लिएको र काम पनि अघि बढीसकेको बताए । 

    ८. लको नयाँ बसपार्कमा स्नानगृहसहितको सुविधासम्पन्न शौचालय बन्ने

    बुटवलको नयाँ बसपार्कमा स्नानगृहसहितको सुविधासम्पन्न शौचालय बन्ने भएको छ। १ करोड ८० लाख ८४ हजार लागतमा बन्ने शौचालय निर्माणस्थलमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिलान्याश गरे।

    शिलान्याशपछि बोल्दै नगर प्रमुख पाण्डेयले बसपार्कलाई स्तरीय, सुविधासम्पन्न र सुरक्षित बसपार्कका रुपमा विकसित गर्ने उदेश्यका साथ योजना अगाडि बढाएको बताए ।

    उनले बसपार्कमा उज्यालोका लागि २ वटा हाइमास्ट लाइट, स्तरीय क्यान्टिन, कोशेली घर, ७ तले कार पार्किङ भवन, सुविधासम्पन्न शौचालय र विश्रामस्थल बनाउने योजना नगरले अगाडि बढाएको बताए ।

    उनले बसपार्कलाई सफा र व्यवस्थित राख्नका लागि यातायात व्यवसायी र मजदुरहरुले पनि उत्तिकै चासो दिनुपर्ने बताए ।

    बुटवललाई सफा, सुन्दर र हरियाली शहर बनाउनका लागि नगरले निरन्तर अभियान सञ्चालन गरेको र यसमा जनसहभागिता तथा संघसंस्थाहरुले समेत यसलाई प्राथमिकताका साथ चासो दिएमा बुटवल उदाहरणीय शहर बन्ने बताए ।

    उनले नयाँ बसपार्क सुधार तथा व्यवस्थापनमा नगरले निरन्तर काम गरिरहेको बताउँदै बुटवललाई उपयुक्त विश्रामस्थल बनाउनका लागि चरणबद्ध योजना बनाएको बताए । नयाँ बसपार्कलाई सिटी बसपार्क बनाएर अर्को बसपार्क बनाउने गरी तयारी भइरहेको उनले बताए ।

    ३० वटा शौचालय कक्ष, १० वटा स्नान गृह र विश्रामस्थल रहने शौचालयमा महिलाहरुका लागि सेनेटरी प्याड, बालबालिका हेरचाहका लागि उपयुक्त स्थलसमेत रहने योजना महाशाखाका निर्देशक सुमन श्रेष्ठले बताए । वडा नं ९ का अध्यक्ष प्रदीप श्रेष्ठले बसपार्कलाई सुधार गर्दै स्तरीय बनाउनका लागि स्थानीयको समेत साथ र सहयोग आवश्यक हुने बताए ।

    आगामी असारभित्रै निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउने सिभिल विल्डर्स एण्ड इन्जिनियरिङ कन्ट्रक्सनका सञ्चालक रामु ज्ञवालीले बताए ।

    ९. शिक्षकलाई शिक्षा मन्त्रीको आह्वानः वार्तामा आउनुहोस्, गुनासो समेट्न पर्यत्न गर्छौ

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारले प्रयत्न गरिरहेको बताएका छन  । 

    मंगलवार राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षा मन्त्री राईले शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गर्दै वार्तामार्फत  गुनासो समेट्ने प्रयत्न गरिने बताएका हुन । शिक्षकहरुको मागका सन्दर्भमा समस्याको निकास खोजिने बताए  । उनले ऐन कानून बिना लोकतन्त्रको अभ्यास नहुने भन्दै संविधानको कार्यान्वयनका लागि शिक्षा ऐन पारित हुनुपर्ने बताए । राईले संसद्ले छलफल नै गर्न नपाई संसद्मा दर्ता मात्रै भएको आधारमा केहि सरोकारवाला निकायहरुले आपत्ती जनाएको बताए । उनले संविधान जारी भएको आठ वर्षसम्म पनि विद्यालय शिक्षा ऐन बन्न नसकेको भन्दै ढिलै भएपनि शिक्षा विधेयक संसदमा प्रवेश गरेको बताए ।

    कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारीले समतामुलक समाज निर्माणमा शिक्षाले अहम भुमिका निर्वाह गरेको बताए । उनले संविधान कार्यान्वयनका लागि शिक्षा विधेयक अपरिहार्य रहेको बताए  । संविधानले दिएको अधिकार उपभोग गर्न नयाँ शिक्षा ऐन कार्यान्वयन हुनुपर्ने बताए । उनले विधेयकमा धेरै नै परीमार्जन गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि संसदीय समितिमा संशोधन हालेर परिमार्जन गरेर अगाडी बढाउन सकिने बताए । मानव विकास सूचकाङ्कमा पछाडी परेका समुदायको शिक्षाको स्तर बढाउन जरुरी रहेको बताए ।

    उनले संविधान कार्यान्वयनका लागि संघीय शिक्षा विधेयक संसदबाट परिमार्जनसहित पारित गर्नुपर्ने बताए ।

    १०. विश्वव्यापी सङ्कटले जोखिममा धकेलिएका अति कम विकसित देशको लागि उद्धार योजना जरुरी

    संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा सञ्चाचालन भइरहेको एसडीजी शिखर सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका छन् ।

    विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्षको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरुका पक्षमा अन्तर्राष्ट्रिय समुदायले यसअघि गरेको प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने बताए ।

    उनले एसडीजी प्रोत्साहन प्याकेजमार्फत अतिकम विकसित राष्ट्रलाई सहयोग गर्न, ऋण सङ्कटलाई सम्बोधन गर्न र समयमै समन्वित र उपयुक्त ऋण समाधान उपलब्ध गराउन पनि उनले आग्रह गरे ।

    प्रधानमन्त्री प्रचण्डले कोभिड-१९ महामारी, जलवायु परिवर्तन र भूराजनीतिक तनाव जस्ता विश्वव्यापी सङ्कटहरूले अतिकम विकसित देशहरुको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गर्दै यसबाट उम्कन उद्धार योजना जरुरी रहेको बताए ।
     
    सन् २०२१ को तुलनामा सन् २०२२ मा अल्पविकसित देशहरुमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह लगभग ३० प्रतिशतले घटेको उल्लेख गर्दै उनले यसबाट पूर्वाधार, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षामा लगानीलाई ठूलो धक्का लागेको तथा बाह्य ऋणले संकटको जोखिम बढाएको औंल्याए ।

    प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरुले स्वदेशी स्रोत र संस्थालाई सुदृढ र परिचालन गर्ने अधिकतम प्रयास जारी राखेको बताउँदै दिगो विकास लक्ष्य हासिल गर्न एक्लो प्रयासले मात्रै नपुग्ने बताए ।

    उनले यसका लागि अन्तर्राष्ट्रिय समुदायको समर्थन र प्रतिबद्धता गरेको दोहा कार्ययोजनालाई स्वीकार गर्न आग्रह गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सेतोमसी हाईलाइट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।