देवदह । मदन पुरस्कार प्राप्त कृति ऐँठनबारे बिहिबार देवदहमा आयोजित परिचर्चा कार्यक्रममा उपन्यासले उठाएको युद्ध र शान्तिको विषयमा चर्चा भयो । युगीन साहित्य समाजले उपन्यासका लेखक विवेक ओझाकै उपस्थितिमा गौतम बुद्धको मावली देवदहमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले युद्ध र शान्तिको बारेमा विचार व्यक्त गरे ।
उपन्यासका लेखक ओझाले जनयुद्धमा देखेका र त्यसयता भोगेका पलहरूको संग्रहको रूपमा ऐँठन आएको बताए । आफू शान्ति र मानवताको पक्षधर रहेको उल्लेख गर्दै उनले युद्धमा संलग्न नै नभएको एउटा सामान्य मानिस समेत कसरी युद्धको शिकार बन्छ र युद्धले आम नागरिकको जीवनमा कस्तो प्रभाव पार्छ भन्नेमा उपन्यासको विषयबस्तु केन्द्रित रहेको बताए । "युद्ध सकिएको लामो समयसम्म पनि मान्छेले शरीरमा गोली र छर्रा बोकेर हिंडेको छ र आजपनि मान्छे गाडीको टायर पड्किदा समेत तर्सिने अवस्था छ" उनले भने, "युद्ध चाहे त्यो विश्वयुद्ध होस् या कुनै देशको गृह युद्ध नै किन नहोस, हरेक युद्ध भयानक हुन्छ भन्ने सन्देश ऐँठनमा छ ।"
ऐँठनबारे टिप्पणी गर्दै प्रगतिशील लेखक रामचन्द्र श्रेष्ठले उपन्यासको लेखन कलाबाट आफु प्रभावित भएको बताए । ओझाको लेखकबाट प्रभावित भएपनि उपन्यासले उठाएका कतिपय विषयबस्तुमाथि थप छलफल आवश्यक रहेको उनको भनाई छ । "युद्ध र हिंसा फरक हो" उनले भने, हिँसा जो कोहीले गरेपनि गलत हुन्छ तर युद्ध कहिलेकाही न्यायको लागि पनि लडिन्छ । संसारमा वास्तविक युद्ध को चाहान्छ र कसले दुनियाँमा युद्ध गरिरहेको छ ? मानव अधिकार र शान्तिको मात्रै कुरा गर्ने अमेरिका जस्ता देशमा किन बन्छन संसारका सबैभन्दा खतरनाक हतियार ? आज किन हरेक अमेरिकनले पेस्तोल बोकेर हिड्छन ? इजरायलले गाँजामा गरेको युद्ध रोक्ने विषयमा किन शान्तिको चर्चा गर्ने देश नै बाधक बन्छन ? यी र यस्ता प्रश्नको जवाफ समेत उपन्यासले दिन सकेको भए अझै राम्रो हुन्थ्यो" उनले भने ।
श्रेष्ठले आफु देशमा चलेको १० वर्षे सशस्त्र संघर्षका कैयौं सैद्धान्तिक विषयमा असहमत भए पनि युद्धमा सहभागी योद्धाहरूले यो देशको परिवर्तनको निम्ति दिएको योगदानको प्रशंसक रहेको बताए । जनयुद्धको मुख्य नेतृत्वले सत्ता कै लागि युद्ध गरेको अनुभूति आफुले गरेको भएपनि आम योद्धाहरू अन्याय र अत्याचारको बिरूद्ध र आमुल परिवर्तनको निम्ति लडेको हुनाले युद्धलाई हिँसा मात्र भन्न नहुने उनको भनाई छ ।
त्यसैगरी टिप्पणीकार सरिता श्रीसले युद्धको विरोधले मात्र शान्ति सम्भव नहुने बताईन् । युद्ध किन हुन्छ ? युद्ध कसले केका लागि कसले गरेको छ भन्ने आधारमा युद्धलाई सहि या गलत भनिनुपर्ने उनको तर्क छ । "हिजो भएको १० वर्षे जनयुद्धले ल्याएको परिवर्तन पछिको यो व्यवस्थामा उभिएर बोल्दा युद्ध आफैमा गलत या सहि भन्न सकिन्न र यसको कारण के हो भन्ने कुरा नै मुख्य हुन्छ" उनले भनिन् । उपन्यासकार ओझाको लेखन कलाबाट आफु प्रभावित भएको र उपन्यासले आफुमा पनि एक प्रकारको ऐँठन नै भएको उल्लेख गर्दै उनले युद्ध र युद्धमा हुने प्रेमको बारेमा सम्पूर्ण जानकारी उपन्यासमा पाइने बताईन ।
टिप्पणीकार यज्ञप्रसाद न्यौपानेले उपन्यासले विगतको युद्ध र वर्तमानको यथार्थता औंल्याएको बताए । "युद्ध लड्ने आम योद्धाहरू आज एकातिर छन् भने युद्धको सपना देखाउने र युगान्तकारी परिवर्तनको शंखनाद गर्नेहरू आज सत्ताको स्वर्गमा छन्" उनले भने, व्यवस्था परिवर्तनलाई एकैछिन बिर्सिएर आम नागरिकको जीवनमा हेर्ने हो भने पनि युद्धले दिएको पिडा र युद्धका वेदना आम मानिसमा देख्न सकिन्छ ।" उपन्यासकार ओझाको ऐँठनले युद्ध र त्यसबाट प्राप्त उपलब्धिको बारेमा गम्भीर हुन नेतृत्वलाई घच्घचाउने उनको भनाई छ ।
युगीन साहित्य समाजका अध्यक्ष सुशील सापकोटाको अध्यक्षतामा सम्पन्न परिचर्चा कार्यक्रममा देवदहमा क्रियाशील साहित्य सर्जक तथा विद्यालयका विद्यार्थीहरू उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology