देवदह । रुपन्देहीको देवदहमा विभिन्न कार्यक्रम गरी तमु ल्होसार २०८० मनाईएको छ । तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद देवदह नगर समितिको आयोजनामा तमु ल्होसार विभिन्न कार्यक्रम गरी मनाईएको हो ।
गुरुङ्गले प्रत्येक बर्षको पौष १५ गते तमु ल्होसार मनाउदै आईरहेको छ । उनीहरुले तमु ल्होसारलाई नयन बर्षको रुपमा मनाउने गर्दछन् । विरालो वर्षलाई विदाई गर्दै गरुड बर्षको स्वागत गर्दै तमु ल्होसार २०८० देवदह–९, देवदह मण्डपमा मनाएको हो ।
सो अवसरमा बोल्ने वक्ताहरुले जातीय भाषा, संस्कार संस्कृतिको संरक्षणको लागि राज्यले पहल गर्नुपर्नेमा जोड दिए । उनीहरुले गुरुङ्गले नया बर्षको रुपमा मनाउदै आएको ल्होसार राष्ट्रिय पर्वको रुपमा मान्यता पाउन नसकेको गुनासो गरेका थिए ।
सोही अवसरमा बोल्दै देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेलले भाषा, कला, संस्कृतिको संरक्षण गर्नको लागि सवै जागरुक हुन आवश्यक रहेकोमा जोड दिए । नगर प्रमुख खरेलले नेपाल कला, संस्कार र संस्कृतिको धनी देश भएकोले संस्कार, संस्कृति अनुसार पर्वहरु मनाउनु पर्ने बताए । जातीय भाषा, संस्कार, संस्कृतिको संरक्षण सम्वद्र्धन र जर्गेना गर्न सकेमात्र देवदहको पहिचान स्थापित गर्न सकिनेमा जोड दिंदै उनले भाषा, संस्कार, संस्कृतिको संरक्षणसंगै आर्थिक विकासमा जोडिन आवश्यक रहेको औल्याए । यस क्षेत्रमा रहेका जातीय भाषा, संस्कार र संस्कृतिको माध्यमबाट देवदहलाई पर्यटकीय हवको रुपमा विकास गर्न सकिने उनको भनाई छ ।
तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद देवदह नगर समिति मनबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, तमु भाषा अभियन्ता भिमप्रसाद गुरुङ्ग, देवदह–१०, का वडाअध्यक्ष यकबहादुर सुनार, नेपाली काग्रेसका गुनाखर भुर्तेल, तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद रुपन्देहीका सदस्य गौबहादुर तमु, सल्लाहकार दुरमान गुरुङ्ग, आदिवासी जनजाति महासंघ देवदहका अध्यक्ष मिना श्रेष्ठ, नेवाः पुच देवदहका अध्यक्ष कुशल श्रेष्ठ, पर्वत तमु समाजका अध्यक्ष तारमप्रसाद गुरुङ्ग लगायतले आ–आफना भनाई राखेका थिए ।
तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद देवदह नगर समितिका उपाध्यक्ष सुभाष गुरुङ्गको स्वागत र सरीमाया तमुको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology