अहिलेको व्यस्त जीवनशैलीमा कसरी स्वस्थ जीवन जिउने, कुनैपनि रोग, कष्टबाट टाढा कसरी रहने, अस्पताल धाएर औषधी उपचार गर्नु र पैसा बर्बाद हुनबाट कसरी जोगिन सकिन्छ भन्ने चिन्तन कसको हुँदैन र? तर ४ इन्चको जिब्रोलाई यति धेरै माया गर्छौं कि सिङ्गो ६ फुटको शरीरमा कसरी रोगले आक्रमण गर्न पुग्छ हामी पत्तै पाउँदैनौ ।
हाम्रो शरीर र मनलाई स्वस्थ राख्नका लागि हामीले थोरै हाम्रो दैनिकी र आहार परिवर्तन गर्यौ भने अवश्य सम्भव छ । हामीलाई रोगी बनाउने भनेकै हाम्रो आहार विहार र विचारले हो। त्यसर्थ हामी हाम्रो आहार, विहार र विचार प्रति सचेत हुन सक्यौं भने अवश्य स्वस्थ जीवन यापन गर्न सफल हुनेछौं । अहिले हामी स्वास्थ्य प्रति धेरै हदसम्म सचेत भएका छौँ । कस्तो खानपान गर्दा शरीर निरोगी हुन्छ भनेर खोजी गर्न थालेका छौँ । आफ्नो छाकमा पोषिलो एवं सन्तुलित खानपान मिलाउने प्रयास गर्न थालेका छौँ । योग आसन व्यायाम आदिमा दिलचस्पी बढेको छ। हामी रोगमुक्त जीवन बाँच्ने प्रयासमा धेरै सचेत हुने प्रयत्न गरिरहेका छौँ । तथापि बेलाबखत हामी रोगको चपेटामा पर्ने गर्छौँ । आखिर के कुरामा तालमेल मिलिरहेको हुँदैन हाम्रो ? यो कुराप्रति बेलैमा सचेत हुन जरुरी छ।
हामी हाम्रो खानपानसङ्गै शारीरिक व्यायाम, सकारात्मक सोच र चिन्तनको माध्यामबाट अनुशासित हुन सक्यौँ भने धेरै हदसम्म स्वस्थ रहन सक्छौँ । त्यसका लागि स्वस्थ आहार अर्थात् सही खानपान जरुरी हुन्छ । खाना कस्तो खाने भने हामी आफू बसेको वातावरण, भूगोल अनुसार स्थानिय उत्पादन हाम्रो शरीरका लागि उपयोगी हुन्छ । साथै मौसम अनुसारका खानेकुरा जरुरी हुन्छ ।
परापूर्वकालदेखि खानालाई ३ किसिमबाट वर्गीकरण गरिएको छ।
१. राजसी
२. तामसी
३. सात्विक
अहिलेको विश्व परिवेशलाई मध्य नजर गर्दा सात्विक भोजन मानव शरीरका लागि उत्कृष्ट मानिन्छ । बिहान खाली पेटमा केही जडिबुटी जुन हाम्रो घर आँगनमा प्रशस्तै पाइन्छ त्यो खाने । खानामा सकेसम्म काँचो, उसिनेको र सादा खाने। प्राकृतिक खानामा जोड दिदैँ बिहानको खाना पर्याप्त र त्यसपछि क्रमशः खानाको मात्रा घटाउँदै सुत्नुभन्दा तीन घण्टा अघि भोजन गरि सक्नु स्वस्थ जीवनका लागि उत्तम मानिन्छ । अझै साँझ घाम डुब्नुभन्दा पहिले खाना खानु झनै राम्रो मानिन्छ । यसरी उचित आहार अर्थात् सही खानपान गरियो भने शरीर निरोगी र जवान रहन्छ । शरीरभित्र अनावश्यक विकार जम्न पाउँदैन।
त्यस्तै, बिहार पनि हाम्रो जीवनको अर्को महत्त्वपूर्ण पक्ष हो। विहार अर्थात दिनचर्या । उचित दिनचर्या भनेको हाम्रो उठ्ने, बस्ने, खाने, खेल्ने, काम गर्ने, विश्राम गर्ने तौर तरिका हो। कतिबेला उठ्ने, कतिबेला सुत्ने, कतिबेला खाने, कतिबेला विश्राम गर्ने भनेर हामीले दिनचर्यालाई ब्यवस्थित गर्न सकेमा जीवन सुखी हुनेछ ।
हरेक दिन कम्तिमा ६ घन्टा सुत्ने विहान सूर्योदय भन्दा एक घण्टा पहिले उठ्ने, योग, ध्यान, आसन,प्रणायाम व्यायाम गर्ने, सही समयमा खानपान गर्ने, उचित शारीरिक श्रम गर्ने, सही समयमा विश्राम गर्ने । यस किसिमको सन्तुलित, अनुशासित जीवनशैलीले हामीलाई अवश्य सुखी बनाउने छ।
त्यस्तै अर्को महत्त्वपूर्ण पक्ष भनेको स्वस्थ र सकारात्मक विचार हो। हामीलाई खानपान र दिनचर्या मात्रै अनुशासित भएर हुँदैन । शरीर शुद्धिकरण गरेर मात्र पुग्दैन । मन पनि शुद्ध हुनुपर्छ । मन प्रफुल्ल, शान्त र सकारात्मक हुनुपर्छ । यसका लागि खराब विचार त्याग्नुपर्छ । क्रोध, दम्भ, लोभ, मोह, अहंकारजस्ता विकार त्याग्नुपर्छ । जब हामी यी विकार हटाउँछौँ, मनमा करुणा, प्रेम, श्रद्धा, कृतज्ञता पलाउँछ ।कृतज्ञताको भावना भएको व्यक्तिमा कहिल्यै दम्भ हुँदैन । सकारात्मक सोंच र चिन्तनले हामीलाई धेरै आनन्दित बनाउँछ । मनलाई शुद्धिकरण गरेर आत्मालाई खुराक पुर्याउन सक्छौं ।तत्पश्चात निरोगी जीवन जिउन सक्छौँ ।
यसरी हामी हाम्रो दैनिकीलाई अलिकति मात्रै फरक ढंगबाट सुरुवात गर्न सक्यौं भने भरपुर खुशी र सुखी हुन सफल हुनेछौं । त्यसर्थ हामी सुखी र खुशी हुने मूलमन्त्र आहार बिहार र विचार नै हो । त्यसर्थ हरेक पल, हरेक क्षण हामी कसरी स्वस्थ जीवन जिउन सकिन्छ भन्ने चेष्टा गर्ने कोशिस गरौँ । हाम्रो जीवन सार्थक हुनेछ। स्वस्थ रहौं ब्यस्त रहौ। मस्त रहौं। मौकाको रुपमा जिउन पाएको मानव जीवनलाई सदैव सकारात्मक मार्गमा प्रेरित गरौं ।
- सरस्वती बश्याल, देवदह
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology