देवदह । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच सहरी जीवनयापन सुधार परियोजना (अर्वान रेजिलियन्स एन्ड लाइभाबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट) कार्यान्वयनका लागि सम्झौता भएको छ।
अर्थ मन्त्रालय र एडिबी बीच १६ करोड अमेरिकी डलर (करिब रु २१ अर्ब बराबर)को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब रु ७० करोड बराबर) को अनुदान सम्झौता भएको हो । अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा अर्थसचिव कृष्णहरि पुस्कर र एडिबीका नेपालका लागि देशीय निर्देशक आर्नोड कोस्वाले हस्ताक्षर गरेका छन् ।
सो परियोजना रुपन्देहीको देवदह नगरपालिका सहित लुम्बिनी सांस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकासंगै पोखरा महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिकामा कार्यान्वयन हुने जनाईएको छ ।
पूर्वाधार विकासमार्फत स्थानियको जीवनयापनलाई सहज बनाउन हरेक वर्ष एडिबीले गर्ने लगानी अन्तर्गत यो वर्ष रूपन्देही देवदह नगरपालिका सहितका पालिकाले एडिबीको योजना प्राप्त गरेको देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिए ।
परियोजना सम्झौता अनुसार देवदह नगरपालिकामा पहिलो चरणमा एडिबीले ३ अर्ब लगानी गर्ने देवदह नगरपालिकाका प्रबक्ता गणेश डुम्रेले बताए ।
पहिलो चरणमा पालिकाको पूर्वाधारमा सुधार अन्तर्गत देवदह ९ को भलुही भाटाटोल हुँदै मुखिया टोल, देवदह ४ सिगहा हुँदै नगरपालिका जाने सडक, देवदह ७ बन चौकी देखि मायादेवी पार्क हुँदै बुद्ध सर्किट सडक, देवदह ८ को बुधबारे हाटबजारदेखि तिलोत्तमाको बनाह जाने सडक र देवदह ७ सित्तलनगर भवानीपुर हुँदै सोइया जाने सडकको निर्माण प्रक्रिया सुरु प्रबक्ता डुम्रेले जानकारी दिए ।
सम्झौता कार्यान्वयन पछि ती पालिकामा प्राकृतिक, सांस्कृतिक र सम्पदा पर्यटन सम्पदाको पुनःरुत्थान गर्न, संस्थागत क्षमतालाई सुदृढ गर्न सहयोग गरेर परिवर्तनकारी प्रभाव पार्ने अपेक्षा गरिएको छ । यस परियोजनाले सम्बन्धित नगरपालिकाको लगानी योजनामा तोकिएका प्राथमिकतासँग मिलाएर पूर्वाधार विकास गर्ने जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology