बुटवल । बुटवल उपमहानगरपालिकाले नयाँ नगर प्रतीक चिन्ह प्रचलनमा ल्याएको छ। यस अघि को प्रतिक चिन्ह बदल्ने र नयाँ निर्माण गर्ने नगर कार्यपालिकाको निर्णय अनुसार बनेको सिफारिश समितिको सिफारिश अनुसार प्रतिक चिन्ह फेरिएको उपमहानगरले जनाएको छ ।
नगरले प्रचलनमा ल्याएको प्रतीक चिन्हमा बुटवलको नेपाल-अंग्रेज युद्धताकाको झलकसहित जितगढी किल्ला, उजिरसिंह थापा, मणिमुकुन्दसेन, बुटवल शहर, तिनाउ नदीजस्ता संकेतहरु रहेका छन्।
नगर प्रवक्ता शिव रानाको संयोजकत्वमा रहेको सिफारिश समितिको बैठकले करीब १ सय भन्दा बढी प्रतीक चिन्हहरुमध्येबाट ३ वटा प्रतीक चिन्ह कार्यपालिका बैठकमा पठाएको थियो। तीन वटा प्रतीक चिन्हमध्ये न्यौपानेको प्रतीक चिन्हले बुटवलको कला संस्कृति र परिवेश झल्काउने भएकाले सो प्रतीक चिन्ह छनोट भएको प्रवक्ता रानाले बताए।
कार्यपालिकाको बैठकको निर्णयअनुसार गत भदौमा बुटवल उपमहानगरपालिकाले बुटवलको पहिचान झल्किने गरी लोगो निर्माण गरी पेश गर्न सार्वजनिक रुपमा आह्वान गरेको थियो।
नयाँ प्रतिक चिन्ह बुटवल ११ का सौरभ न्यौपानेले तयार गरेका हुन । छनोट भएको प्रतिक चिन्ह (लोगो) लाई बुटवल उपमहानगरपालिकाले आफ्नो प्रतिक चिन्हका रुपमा प्रयोग गर्ने र प्रतीक चिन्ह बनाउने न्यौपानेलाई उपमहानगरपालिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने प्रवक्ता रानाले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology