रेशम अधिकारी, देवदह । नेपाल शिक्षक महासंघले देशभरीका स्थानीय तह, जिल्ला प्रशासन र शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा रिले अनसन सुरु गरेको छ । शिक्षामा २० प्रतिशत बजेट बिनियोजन हुनुपर्ने लगायतका ३४ सुत्रीय माग सहित आन्दोलनमा उत्रीएको महासंघले चरणबध्द आन्दोलन अन्तर्गत शुक्रबार देशैभरी धर्ना र रिले अनसन गर्न लागेको हो ।
रुपन्देहीको देवदहमा पनि शिक्षक महासंघले नगरपालिका प्राङ्गणमा धर्ना तथा रिले अनसन सुरु गरेको छ । बिहान ८ बजेबाट सुरु भएको अनसन दिउँसो ४ बजेसम्म जारी रहने महासंघ देवदहका उपाध्यक्ष हरि प्रसाद भण्डारीले जानकारी दिए । सेतोमसीसंग कुरा गर्दै भण्डारीले शिक्षक महासंघसंग विगतमा भएका सहमतिहरूको कार्यान्वयनका लागि दवाव सिर्जना गर्न आन्दोलन गरिएको बताए । शिक्षामा आवस्यक बजेट बिनियोजन गर्ने देखि शिक्षक सेवा आयोगलाई संबैधानिक आयोगको रुपमा मान्यता दिनुपर्ने लगायत शिक्षकका ३४ सुत्रीय माग पूरा हुनसके नेपालको शिक्षा प्रणाली थप व्यवस्थित हुने उनको भनाई छ ।
त्यसैगरी, शिक्षक महासंग देवदहकी सह-सचिव विमला अर्यालले शिक्षा क्षेत्रमा कायम विभेदको अन्त्य गर्न शिक्षकहरू आन्दोलित भएको बताईन् । "शिक्षकहरू आन्दोलनमा जानुपर्ने रहर नभएर बाध्यता हो, शिक्षामा रहेको विभेद हटाउन हाम्रा माग पूरा हुनु जरूरी छ" - शिक्षिका अर्यालले भनिन् ।
साउने झरीको प्रवाह नगरी देवदह नगरपालिकाको प्राङ्गणमा पाल टाँगेर अनसन बसेका शिक्षक/शिक्षिका आफुहरू अन्यायमा परेको बताउँछन् । "हाम्रो आफ्नै भविष्यको टुंगो छैन भने हामी कसरी बालवालिकाको उज्ज्वल भविष्यको लागि योगदान दिन सक्छौं ?" - अनसनरत एक शिक्षकले दुखेसो पोखे ।
सचेत, जिम्मेवार र नैतिकवान नागरिक उत्पादनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने शिक्षक शिक्षिकहरूलाई आन्दोलनमा पठाउने होइन, कक्षाकोठामै रमाउने बाताबरण बनाउनु राज्यको दायित्व हो । त्यसैगरी शिक्षक शिक्षिकाहरू पनि राजनीतिक दल वा नेता विशेषको झोला बोकेर यो वा त्यो बाहानामा आन्दोलित हुनुको बदलामा त्यो भन्दा माथि उठेर व्यवसायिक मर्यादा कायम राख्नु जरूरी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology