कुनै एक आसनमा बसेर आँखा बन्द गरेर एउटै वस्तु वा विषयमा ध्यानकेन्द्रित गर्दागर्दै ध्यानको विषयसँग एकाकार हुँदा मनमा आउने आनन्द र शान्ति अनुभूतिको अवस्थालाई ध्यान भनिन्छ ।
सामान्यतया सुख, शान्ति, तनाव कम गर्न एन्जाइटी र डिप्रेसनबाट बच्न, दिमागलाई स्वस्थ बनाइराख्न र योगी साधकहरुले सिद्धि प्राप्तिका लागि पनि ध्यान गर्ने गर्छन् । ध्यानको अनुभूति र ज्ञान व्यक्तिपिच्छे फरक हुन सक्छ
ध्यान किन र कसरी गर्ने ?
पहिलो पटक ध्यान गर्दा आँफूखुसी गर्नु हुँदैन । कुनै योग गुरुबाट सिकेर मात्रै ध्यान गर्न थाल्नु राम्रो हुन्छ । गुरुले दिएको सुझाव अनुसार नियम पालना गरी गर्नुपर्छ । जस्तै, यसमा आँखा बन्द गरेर सजिलो आसनमा ढाड, कम्मर, गर्धन सीधा राखेर ध्यानमुद्रामा बसिन्छ । त्यसपछि लामो सास लिंदा र सास फाल्दा मनमनै ‘ओम्’ शब्द दोहोर्याएर गर्ने गरिन्छ । तर ब्रम्हा कुमारी ईश्वरीय विश्व विद्यालयमा गरिने राजयोगमा आँखा खुल्लै राखेर पनि घण्टौ ध्यान गर्ने चलन हुन्छ ।
ध्यान कतिबेर गर्ने ?
ध्यानको अभ्यासका लागि निश्चित समयावधि नै तोकिएको त हुँदैन । तर सुरुवाती चरणमा ध्यान साधना गर्दा १० देखि १५ मिनेट गर्न सकिन्छ । आफ्नो क्षमता अभिवृद्धिपछि विस्तारै समयावधि बढाउँदै लैजान सकिन्छ । निरन्तर दैनिक ध्यान साधना गर्ने साधकहरुले करिब दुईदेखि तीन घण्टासम्म र हाम्रा पूर्वज ऋषिहरुले वर्षौंसम्म ध्यान गर्ने गरेको शास्त्रहरुमा भेटिन्छ ।
ध्यान गर्दा के हुन्छ ?
ध्यान गर्न बस्दा हामी हरेक समस्याको समाधान पाउन थाल्छौं । ध्यानको माध्यमद्वारा जीवन जिउने कला सिक्छौं, जसले दैनिक जीवनमा आइपर्ने तनावलाई नियन्त्रण गर्ने क्षमता राख्न थाल्छौं । साधकले अभ्यासको निरन्तरतासँगै मन स्थिरता, विचारहरुमा स्पष्टता, निर्णय क्षमता, सुख, शान्ति तथा आनन्दको अनुभूति प्राप्त गर्दै जान्छ । यसले हामीलाई मानसिक रुपमा पनि शान्ति मिल्छ।
ध्यानले हाम्रो शरीर र मनमा कस्तो प्रभाव पार्छ ?
ध्यानले हाम्रो शरीर र मस्तिष्कमा एकदमै सकारात्मक प्रभाव पार्छ । ध्यानले मनमा कुरा कम खेल्ने, सकारात्मक र रचनात्मक सोचको वृद्धि गर्ने, अनुहार र आँखामा चमक आउने, बोली नम्र हुने, अनुहार प्रसन्न र हँसिलो हुने, शारीरिक र मानसिक रुपमा निरोगी हुने कार्यमा सहयोग पुर्याउँछ ।
हाम्रो शरीरको लागि ब्यायाम र मन मष्तिस्कको लागि ध्यान एकदमै जरुरी छ। ध्यानले सकारात्मक सोंचाइको विकास हुन्छ । सोंच सकारात्मक भयो भने हाम्रो कर्म र फल अवश्य पनि सकारात्मक नै प्राप्त हुन्छ भन्ने कुरामा दुई मत छैन।
हरेक दिन हाम्रो समयलाई व्यवस्थित गरौं र हाम्रो मन र मष्तिस्क स्वस्थ बनाउने प्रयत्न गरौं । अहिले धेरै सजिलो छ। किन भने हाम्रो मुठ्ठी बाटै संसार अध्ययन गर्न सकिन्छ । अहिलेको ब्यस्त जीवन शैलीमा हाम्रो दैनिकीलाई चुस्त दुरुस्त राख्न र सदैव सकारात्मक सोचका साथ सकारात्मक परिणाम हासिल गर्न ध्यान अत्यन्तै जरुरी छ।
- सरस्वती बश्याल, देवदह
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology