मानव जीवन अमूल्य छ। हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हाम्रो स्वास्थ्य हो । सामान्य समस्यामा पनि आत्तिएर अस्पताल दगुरिहाल्ने हाम्रो बानी हुन्छ तर हाम्रै समुदायमा र हाम्रै भान्सामा विभिन्न जडिबुटीहरु यत्रतत्र पाइन्छन्, जसबाट हामी कतिपय अवस्थामा अस्पताल नगएरै पनि घरमै स्वास्थ्य लाभ गर्न सक्छौँ । आयुर्वेदले प्रमाणित गरेका विभिन्न जडिबुटीहरुमध्य केही विशेष यस प्रकार रहेका छन् ।
१. अपमार्ग : हिन्दु नारीहरुले तीजको ऋषि पञ्चमीको दिन खाने अपमार्गका वास्तवमा धेरै फाइदा रहेका छन् । महिलाहरुलाई तल्लो पेट सम्बन्धी समस्या, दातँको लागि, गिजाको लागि, पाएल्सको लागि, जुका चुर्नाको समस्याका लागि, खाना अरुचिको समस्याका लागि यो जडिबुटी अत्यन्तै लाभकारी मानिन्छ ।
२. घ्यु कुमारी : हाम्रो शरीरको छाला जलेमा वा पोलेमा घिउकुमारी अचुक औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । पोलेको ठाउँमा यसको भित्री गुदी लगाउँदा चिसो र शीतलता प्रदान गर्छ। गमला सानो प्लाष्टिकको बट्टा वा घर वरिपरि नै रोप्न सकिने घिउकुमारीका अनगिन्ती फाइदा छन्।
३. धनियाँ : एक चम्चा सफा धनियाँलाई साँझ भिजाएर बिहान खाली पेटमा त्यसको पानी खायौँ भने थाइराइड सम्बन्धी समस्यामा लाभ हुन्छ ।
४. अदुवा : हाम्रो भान्सामा प्रयोग हुने अदुवाले पाचनशक्ति वृद्धि गर्छ। यसले अनावश्यक ग्याँस फाल्न मदत गरी पेटलाई हल्का बनाउनुका साथै बान्ता आउने समस्याको समाधान गर्छ । हरेक राती एक कप अदुवा चिया खाँदा पाचन पक्रियालाई सहज बनाउँछ । त्यस्तै मनतातो अदुवा पानी खाँदा बान्ता आउने समस्याको समाधान गर्छ ।
५. ज्वानो : हरेक दिन बिहान खाली पेटमा एक चम्चा ज्वानोको धुलो र थोरै बिरेनुन मनतातो पानीसङ्ग खाँदा अपचको समस्या, ग्यास्ट्रीकको समस्यामा लाभ हुन्छ । ज्वानोमा क्याल्सियम पनि पाइन्छ ।
६. लसुन : हामीलाई क्यान्सर रोगबाट बचाउन मदत गर्ने लसुनले रोग प्रतिरोध क्षमतालाई पनि बलियो बनाउँछ। एन्टिभाइरस र एन्टिव्याक्टेरियलयुक्त लसुनले चिसो, ज्वरो र फ्लुबाट जोगाउँछ । लसुनको नियमति सेवनले आन्तरिक संक्रमणबाट बचाउँछ । त्यस्तै खेलाडीको पैताला र कानमा बाह्य संक्रमण भएमा लसुनको रस लगाउँदा तत्कालै उपचार हुन्छ । प्रतिदिन भोजनमा लसुनको प्रयोग गर्नाले पेटको अल्सर र क्यान्सरबाट जोगिन सकिन्छ । दैनिक लसुन सेवन गर्नाले ब्लडप्रेसरलाई नियन्त्रणमा राख्न सहयोग पुग्छ र यसबाट लामो समयसम्म शरीरको इम्युन सिस्टम पनि बलियो रहन्छ ।
७. बेसार : बेसार आफैमा एन्टिसेप्टिक र एन्टि ब्याक्टेरियाजन्य तत्व हो। त्यही भएर काटेको ठाउँमा, जलेको स्थान वा अन्य घाउमा यसको प्रयोग गरिन्छ । सामान्य चोटपछिको घाउमा बेसार दल्ने संस्कार प्रचलित छ। चिसो लागेमा सुत्नु अगाडि तातो दुधमा केही चिम्टी बेसार राखेर पिउँदा एक रातमै चिसो भाग्छ। बेसारले प्राकृतिक पेन किलर (दुखाई कम गर्ने औषधि)को काम गर्छ। छालासम्बन्धी निश्चित रोगको उपचारमा पनि बेसारको प्रयोग हुन्छ। बेसारले मुटु रोग र क्यान्सरबाट बचाउँछ । बेसारले डिप्रेसन रोगको औषधीको काम गर्छ। नियमित बेसारको धुलो अनुहारमा लगाउँदा अनुहारमा चमक ल्याउनुका साथै चाउरीनबाट बचाउँछ ।
८. हींग : यसले पाचनक्रिया मजबुत बनाउँछ । श्वासप्रश्वाससम्बन्धी रोगबाट बचाउँछ । रुघाखोकी लाग्नबाट बचाउछ । तातो पानीमा राखेर हींग खाँदा ब्रोन्काइटिसमा राहत मिल्छ । पेट दुख्दा तातो पानीसँग हींग खाँदा दुखाई कम हुन्छ। दाँत दुखेमा हींग खाँदा राहत मिल्छ । दुखाई भएको ठाउँमा हींगको लेप लगाउँदा दुखाई कम हुन्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउछ। दाद, लुतो भएको ठाउँमा हींगको लेप लगाउदा औषधिको काम गर्छ । कब्जियत भएमा तातो पानी र हींग खाँदा फाइदा हुन्छ ।
९. जाइफल : जाइफल घोटेर दुधमा मिसाई पिउनाले निद्रा लाग्दछ तर, यो बढी मिसाएमा हानीकारक हुन सक्दछ। जीउ दुखेमा, हातगोडा गलेमा जाइफललाई पानी वा दुधमा पकाइ पिउने गर्दा त्यो समस्या केही क्षणमै सुधार हुन्छ । त्यसैगरी तोरीको तेलमा जाइफल थिचेर फुराउने र त्यसलाई जीउमा दल्दा जीउ दुखाइमा आराम पाइन्छ । जाइफल र तीतेपातीको पातलाई तोरीको तेलमा पानी दोब्बर राखी उमाल्ने र कम आँचमा पकाई पानी सुकाउने । उक्त तेललाई जोर्नी दुखेको ठाउँमा राखी कपडाले बेर्ने गर्दा दुखाई सञ्चो हुन्छ । एक लिटर दुधमा थोरै जाइफल राखेर पकाउने र पिउने बेलामा १ चम्चा मह र सानो टुक्रा शिलाजित मिसाइ पिउने गर्दा नपुंसकता एवम् शीघ्रपतन सम्बन्धी समस्यामा लाभ हुन्छ ।
१०. तुलसी : विज्ञहरुका अनुसार अक्सिजनको उच्च श्रोत भएको विरुवा तुलसीको नियमित सेवन गर्दा छाला, पाचन र रोग प्रतिरोधक क्षमता निको पार्न सकिन्छ । यसका साथै तनावबाट पनि मुक्त पाउन सकिन्छ । एक अनुसन्धानका अनुसार तौल घटाउनका लागि तुलसीको पानी प्रयोग गर्न सकिने जनाएको छ। यसको प्रयोगले रुघाखोकी पनि हटाउन सकिन्छ । पूजा गर्दा वा चोखो कर्म गर्दा पनि तुलसीको प्रयोग अनिवार्य मानिन्छ ।
योग आयुर्वेदलाई परापुर्वकाल देखि नै हाम्रो पूर्खाहरुले गहन खोज गरेर परिक्षण गरेर नतिजालाई भोग्दै आउनु भएको हो । विज्ञानले पनि आयुर्वेदलाई मान्दै आइरहेको हुँदा हामी आफ्नो स्वास्थ्य प्रति सचेत हुँदै रोग अनुसारको योग, आहार-विहार र विभिन्न औषधिजन्य जडिबुटीबाट धेरै हदसम्म स्वास्थ्य लाभ गर्न सक्छौं ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology