राजेश पराजुली, पोखरा । सूर्यदर्शन सहकारीको रकम ठगी एवं अपचलनमा संलग्न भएको आरोप लागेकी नेकपा एमालेकी नेतृ मिना गुरुङ लामो समयदेखि फरार रहेकी छिन् । सहकारीको सञ्चालक समितिको उपाध्यक्ष भई काम गरेकी गुरुङका विरुद्धमा अदालतमा मुद्दा दर्ता भएकाे छ ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार अभियोग–पत्र दर्ता गरेका ४४ जनामध्ये एमालेबाट गण्डकी प्रदेश सभाका पूर्वसदस्य समेत रहेकी गुरुङलाई फरारको सूचीमा राख्दैं मुद्दा दर्ता गरेको छ ।
एमालेनिकट मजदुर संगठनमा लामो समय काम गरेकी पोखरा–१२, रानीपौवानिवासी ६३ वर्षीया उनी हाल फरार सूचीमा छिन् ।
उनलाई सहकारी ठगीको अभियोग लगाइएको छ । ०७४ सालमा समानुपातिक सूचीबाट प्रदेश सभा सदस्य बनेकी उनी ०७९ को निर्वाचनमा भने कास्की–२ ख बाट पराजित भएकी थिइन् । गुरूङ रेडियाे गाेर्खालीकाे निर्देशक समेत हुन् । त्यसो त मिना गुरुङले नेपाल पत्रकार महासंघ कास्कीमा समेत आफ्नो नाममा पुरस्कार स्थापना गरेर वितरण गर्दै आईरहेकी थिईन् । ठगीमा संलग्न भएसँगैं उनले स्थापना गरेको पुरस्कारमाथि नै प्रश्नचिन्ह खडा भएको छ ।
सूर्यदर्शन सहकारी ठगीमा ५० जना र ८ कम्पनीसहित ६३ जना प्रतिवादी र ५ जनाविरुद्ध सम्पत्ति जफतको माग गर्दै मुद्दा अघि बढाईएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology