काठमाडौं । राष्ट्रिय स्वतत्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आर्थिक वर्षको अन्त्यतिर संसदीय समितिले अनुगमन र भ्रमण गर्न नहुने बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको संघीय संसदको संसदीय सुनुवाई समितिमा बोल्दै कार्यवाहक सभापति अर्यालले समाजमा बजेट सक्नको लागि ‘असारे भ्रमण’ गर्ने प्रवृत्तिमाथि प्रश्न उठ्ने गरेको उल्लेख गरे ।
असार महिनामा अनुगमन र भ्रमणका कार्यक्रमहरु गर्न नहुने उनको भनाइ छ । अर्यालले बजेट सक्नको लागि मात्र नभई अनुगमन र भ्रमण समयसापेक्ष र योजना अनुसार हुनुपर्ने बताए ।
उनले समितिले सुनुवाई प्रक्रियाको प्रभावकारितालाई बढाउनुपर्नेमा समेत जोड दिए । भ्रमणको सट्टा पूर्वराजदुत र न्यायाधीशहरूसँगको अघिल्लो सुनुवाईमा व्यक्त प्रतिवद्धता कार्यान्वयन भए÷नभएको समिक्षा गर्नुपर्ने कार्यवाहक सभापति अर्यालको भनाइ छ ।
उनले भने, ‘असारे बजेट भन्ने बहस जुन समाजमा चलिरहेको छ । हामी पनि अनुगमनका लागि असारमै पुगेको अवस्था भएको कारणले बजेट सक्नको लागि अनुगमन र भ्रमण गर्न थाले भन्ने प्रश्न आउने कुरा पनि एउटा चिन्ताको विषय हो । यदि भ्रमण गर्नु नै छ भने हामीले योजना बनाएर अगामी वर्षमा गर्नसक्छौं । यो वर्ष हामी के गर्नसक्छौँ त्यो हेरौँ ।’
उनले वर्तमान समयमा अनावश्यक भ्रमणभन्दा समितिको जिम्मेवारीमा केन्द्रित भई समितिको प्रभावकारिता बढाउनुपर्नेमा जोड दिनुपर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology