देवदह । देवदह नगरपालिकाको वडा नम्बर ५ ले विकास, सुशासन र सेवा प्रवाह सम्बन्धमा आर्थिक वर्ष २०८१÷०८२ को सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । कार्यक्रममा आर्थिक बर्ष २०८१÷०८२ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गणेश डुम्रेले वडाको एक करोड ६ लाख, नगरस्तरीय समपुरक योजना २ करोड, प्रदेशको २ करोड १० लाख र संघीय बजेटबाट ४५ लाख गरी कुल पाँच करोड ६१ लाख रुपैंयाबाट भएका कामहरुको विवरण प्रस्तुत गरे । उनले आर्थिक बर्ष ०८१÷०८२ मा वडाले ४३ लाख ५० हजार रुपैंया राजश्व संकलन गरेको बताए ।
अध्यक्ष डुम्रेले विकास निर्माणसँगै वडामा वालमैत्री अभियान, नियमित सरसफाई, टोल विकास संस्थाका नियमित गतिविधि, विपद् व्यवस्थापन, वातावरणमैत्री क्रियाकलाप, भुमि सहजीकरण, र वडा खेलकुद समितिले सक्रिय रुपमा काम गरिरहेको जानकारी दिए । उनले वडामा अव्यवस्थित जग्गाको नापी कार्य सकिएको जानकारी दिँदै अव छिट्टै जग्गाधनी पुर्जाको सूचना प्रकाशित हुने जनाए ।
प्रगति प्रतिवेदन प्रस्तुतीसंगै सुरु भएको सवाल जवाफ चरणमा सहभागीहरुले विभिन्न प्रश्नहरु गरे । उनीहरुले वडाले गर्ने कार्यक्रममा आर्थिक पारदर्शिता रहेता पनि सुशासनको हिसावले योजनाले पार्ने दिर्घकालिन प्रभावको विषयमा ध्यान पुर्याउन नसकेको भन्दै असन्तुष्टि प्रकट गरे ।
यसैगरी सहभागीहरुले प्रदेशको बजेटमा भने अनियमितता को आशंका गरे । उनीहरुले प्रदेशको हरेक बजेट टेण्डर मार्फत ठेकेदारले गर्ने र त्यसमा स्थानीय उपभोक्ताले चासो राख्न नपाईने गरेको भन्दै गुनासो गरे । ‘हामीले प्रदेशबाट पर्ने बजेटले उसले भनेभन्दा डबल काम गर्न सक्छौं, तर प्रकृयाले उपभोक्ता समिति मार्फत प्रदेश बजेटको काम गर्न नमिल्ने रहेछ ।’ स्तानीय विमल प्रसाद भुषालले प्रश्न गर्दै भने, ‘उपभोक्ता र स्थानीयले चासो राख्न नपाउने ठेकेदारको काममा गुणस्तरियता कस्तो हुन्छ होला ?’ भुषालले देवदहमा पछिल्लो क्रममा नदिजन्य पदार्थ चोरी निकासी हुनेगरेको भन्दै अब चोरी निकासी हुने सम्भावित स्थानमा सिसिटिभी क्यामरा जडान गर्न सुझाव दिए ।
कार्यक्रममा अर्का सेवाग्राही छवि भट्टराईले वडा र नगरले आफुले गरेको कामको भन्दापनि सेवाग्राहीको सन्तुष्टि मापन गर्नुपर्ने औंल्याए । उनले सन्तुष्टिको मापन नगरी गरिने विकास प्रभावकारी नहुनेमा जोड दिए ।
कार्यक्रममा बासुदेव रिमाल, कोषबहादुर गुरुङ, मनोज कुमार पुन, बिरेन्द्र पाण्डे, श्याम अर्याल, माधव ढकाल, सिर्जना गैरे, गोपाल प्रसाद भन्डारी, केशव पुन, श्री कुमारी सोमै, पुर्णिमा थापा, अन्जु श्रेष्ठ, चक्रपाणी न्यौपाने, प्रविन पौडेल, दुर्गा प्रसाद बस्याल, कृष्ण भुषाल, पार्वती न्यौपाने लगाएतले प्रश्न गरेका थिए ।
उनीहरुले खानेपानी, विद्युत, स्वास्थ्य, सुरक्षा, ईन्टरनेटको तारका कारण परेका समस्या, नीजि बिद्यालयले कोचिङ र होस्टेलको नाममा अतिरिक्त पैसा लिदा अभिभावकमा परेको मर्का लगाएत विषयमा वडा अध्यक्ष र अन्य सरोकारवाला निकायका प्रमुख÷प्रतिनिधिहरुसँग प्रश्न र जिज्ञासा राखेका थिए ।
सहभागिहरुले कृषि र पर्यटनको विकासमा नगर उदासिन बनेको र वडाको बजेटमा समेत कृषि र उत्पादनले प्रार्थमिकता नपाएको भन्दै गुनसो गरे । उनीहरुले सवाल जवाफमा उठेका प्रश्नको उत्तर वडा अध्यक्षले आगामी बजेटबाट दिनुपर्ने भन्दै वडाले नगरमा प्रस्तुत गरेका योजना संसोधन गरेरै भएपनि नागरिकका गुनासो सम्बोधन गर्नुपर्ने बताए ।
कार्यक्रममा नगर प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौड्याल, शिक्षा शाखा प्रमुख उपसचिव लोकराज पन्थि, वडा अध्यक्ष गणेश डुम्रे, प्रहरी चौकी देवदहका इन्सपेक्टर भिमसेन विष्ट, देवदह खानेपनीका अध्यक्ष गुमानसिंह कुँवर, बुद्ध सामुदायिक वनका अध्यक्ष टेकबहादुर राना, विद्युत कार्यालय सितलनगरका अर्जुन ढकाल लगाएतले सहभागिहरुबाट उठेका जिज्ञासा र प्रश्नहरुको जवाफ दिएका थिए ।
सोहि अवसरमा वडामा उत्कृष्ट टोल विकास समितिको रुपमा मितेरी गाउँ, सबैभन्दा बढि लागत सहभागिता गराउने टोल विकास संस्था बुद्ध टोल, सरसफाई युक्त टोल विकास संस्थाको रुपमा सुन्दर टोल, सिद्धार्थ कोलोनी, आदर्श, संगम पाल्पाली, एकता, बैकुण्ठनगर र दुर्गानगरलाई सम्मान गरिएको छ ।
यसैगरी वालमैत्री वडा बनाउनका लागि सहयोग गर्ने तीनवटा व्यावसायिक संघसंस्था, वालमैत्री तथा फोहरमैला व्यवस्थापनमा सहयोग गर्ने बुद्ध सामुदायिक वन र पोषण तथा संस्थागत प्रसुती सेवामा योगदान पुर्याको भन्दै महिला स्वास्थ्य स्वयम्सेवीकाहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा वडा सदस्य शोभाकान्त भट्टराईले उद्घाटन सत्रको सञ्चालन र रामबहादुर गुरुङले सार्वजनिक सुनुवाई चरणको सहजिकरण गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology