देवदह । नेकपा माओवादी केन्द्र देवदहको नगरसम्मेल आज हुँदैछ । खैरेनीस्थित पाठक फुडल्याण्ड एण्ड इभेन्ट भेन्युमा बिहान ११ बजे सम्मेलनको उद्घाटन गरिने सो पार्टीका नगर संयोजक केदारनाथ काफ्लेले बताए ।
यस अघि नगरभित्रका सबै टोल र वडाको सम्मेलन सकाईसकेको माओवादी केन्द्रले वडा समितिबाट निर्वाचित भएर आउने २७८ प्रतिनिधिहरूका विच सम्मेलन गर्न लागेको हो ।
सम्मेलनको उद्घाटन शत्रलाई सम्बोधन गर्न पार्टी लुम्बिनी प्रदेश सचिव जगप्रसाद शर्मा 'अपार' आउने सो पार्टीले जनाएको छ । साथै जिल्ला पार्टी संयोजक नारायण जीसी 'निर्मल' लगायतका नेताहरूले पनि सम्मेलनलाई सम्बोधन गर्ने संयोजक केदारनाथ काफ्लेले बताए ।
पार्टी नेतृत्वमा दावी गर्ने बढे, सहमतिको प्रयास जारी
नगरसम्मेलनको उद्घाटन शत्र सुरु हुन केही घण्टा बाँकी रहदासमेत पार्टी नेतृत्वमा सहमति हुन सकेको छैन । सामान्यतया पार्टीको जिल्ला नेतृत्वले नै नगर र गाउँको नेतृत्व टुंग्याउदै आएको माओवादी केन्द्रले यसपटक भने स्थानीय नेताहरूलाई नै सहमतिमा नेतृत्व चयन गर्न सुझाएको छ ।
नेतृत्व चयनको जिम्मा स्थानीय नेताहरू कै हातमा आएपछि पार्टी नेतृत्वमा दावी गर्नेहरूको संख्या समेत बढेको छ ।
पार्टी स्रोतका अनुसार उक्त पार्टिमा अध्यक्षमा वर्तमान संयोजक केदारनाथ काफ्ले, हालका सचिव केशव पुन, महिला नेतृ सुन्दरी गिरि युवा नेता प्रशान्त गैरे लगायतले दावी गरेका छन् । त्यसैगरी पार्टी सचिवमा केही युवा नेताहरूले दावी गरेका छन् । सचिवमा दावी गर्नेहरूमा थानेश्वर लम्साल, दीपक न्यौपाने, निर्मला जिसी लगायतका नेताहरू रहेको पार्टी स्रोतले सेतोमसीलाई बतायो ।
लामो समयसम्म देवदह पार्टीको नेतृत्व गरेका माओवादी रुपन्देही सचिवालय सदस्य मोतिलाल ढकालले सहमतिमै नेतृत्व चयन हुने विश्वास व्यक्त गरे । सम्मेलन नजिकिदै गर्दा नेतृत्वको सवालमा धेरै जनाको अपेक्षा हुनु स्वाभाविक रहेको बताउँदै नेता ढकालले सबै नेताहरूको साझा चिन्ता पार्टी कसरी बलियो बनाउँने भन्ने रहेकोले यसप्रकारको दावीले पार्टीलाई सहयोग नै पुर्याउने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology