प्युठान । एकीकृत विकास संघ (युनेसिन)ले स्थापनाको २०औं वार्षिकोत्सवकाे अवसरमा शुक्रवार गाैमुखी गाउँपालिका- ४, पुजा लिवासेमा एकदिने नि:शुल्क दन्त शिविर सञ्चालन गरेको छ ।
शिविर दन्त चिकित्सक डा. किषन कुँवरकाे नेतृत्व तथा एड्भान्स डेन्टल क्लिनिक र राना डेन्टल क्लिनिकका सञ्चालक क्रमश चुडामणी शर्मा र मुक्ति रानाकाे प्राविधिक सहयाेग र पुजा स्वास्थ्य चाैकीकाे समन्वयमा सम्पन्न भयाे । शिविरमा १६५ जना बिरामीकाे दन्त स्वास्थ्य परीक्षण तथा ७४ जान बिरामीका बचाउन नसकिने दाँतका ठुटाहरु निकालिनुका साथै औषधि पनि प्रदान गरियाे । साथै, शिविरमा सहभागी सम्पूर्ण बिरामीकाे रक्तचाप तथा सुगर पनि परीक्षण र मुख स्वास्थ्य र मुखकाे क्यानसर सम्बन्धि परामर्श पनि दिइएकाे व्यहाेरा कार्यक्रम संयाेजक हेमलाल कुँवरले जानकारी दिए ।
शिविरबाट दन्त स्वास्थ्य सेवाबाट बन्चित बिरामी, जेष्ठ नागरिक तथा बालबालिका लाभान्वित भएको आयोजकले जनाएको छ ।
'यिनी दाँतका ठुटा दुखेर, केही खानै नहुने, यसकाे उपचार गर्न, निकाल्न पनि गाडि चडेर २ घण्टाकाे दुरीमा रहेकाे जिल्ला अस्पताल पुग्नु पर्ने, शिविरले ठूलो राहत भयाे' शिविरमा सहभागी ८१ वर्षीय एक जेष्ठ नागरिकले भने ।
युनेसिनले विगत २० वर्षदेखि सामाजिक कार्य, स्वास्थ्य शिविर र स्थानीय प्रवर्द्धनका कार्यमा सक्रिय रहेको जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology