देवदह । देवदह खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरूले प्रचार प्रसार तथा पत्रकार भेटघाटका कार्यक्रमलाई अघि बढाएका छन् । निर्वाचनमा होमिएको नेकपा एमाले प्यानलले बिहीवार पत्रकार सम्मेलन गर्दै आफुले जीत हासील गरे प्रतिबद्धता अनुसार काम गर्ने बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै एमाले प्यानलका अध्यक्ष गुमानसिंह कुँवरले देवदह खानेपानीको विकासका लागि आफू योग्य भएकोले उम्मेदवारी दिएको बताए । यस अघि प्रतिबद्धता अनुसार काम हुन नसकेको पत्रकारको प्रश्नमा स्पष्टीकरण दिंदै कुँवरले यसअघि परिस्थितिबस अन्यथा भएको बताए । अहिले प्रतिबद्धता अनुसार काम हुने र आफ्नो कार्यकालमा विकासका योजनाहरू अगाडि बढाईएको जिकिर गर्दै कुँवरले समयमै आयोजना पूरा गर्न आफुले जित्नुपर्ने बताए ।
अन्य सबै दल एकातिर एमाले मात्रै किन एक्लै भन्ने पत्रकारको प्रश्नको जवाफमा बोल्दै एमाले प्यानलको निर्वाचन परिचालन मुल समितिका संयोजक समेत रहेका एमाले देवदहका अध्यक्ष टिकाराम चापागाईंले सबै दलमा सहमती कायम गरेर जाने प्रयत्न असफल भएकोले अलग्गै उम्मेदवारी दिनुपरेको बताएका थिए ।
व्यवसायीक तथा प्रगतिशील प्यानलको ब्यानरमा आयोजित उक्त पत्रकार सम्मेलनमा नेकपा एमालेका जिल्लास्तरीय र स्थानीय नेताहरूको सहभागीता रहेको थियो ।
फाल्गुन १४ गते हुने उक्त निर्वाचनमा संयुक्त गठबन्धनको तर्फबाट मोतिलाल ढकालको प्यानल र एमालेको तर्फबाट गुमानसिंह कुँवरको प्यानल चुनावी मैदानमा छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology