देवदह । स्थानीय चुनावको सरगर्मी बढ्दो छ । सडक, चोकदेखि चिया पसल सबैतिर चुनाव कै चर्चा छ । राजनीतिक कार्यकर्ता होउन् या स्वतन्त्र नागरिक सबैलाई चुनावले छोएको छ । चुनावी मौसमको सुरुवातसंगै को उम्मेदवार बन्छ र कसले बाजि मार्छ भन्नेसम्मका आंकलन पनि हुँदै आएका छन् ।
यसैक्रममा रुपन्देहीको देवदह नगरपालिकामा आगामी स्थानीय तहको निर्वाचनमा यहाँ क्रियाशिल दलहरूबाट चर्चामा आएका उम्मेदवारका आकांक्षी र संभावित दलिय समीकरणको बारेमा चर्चा गर्दैछौं ।
देवदहवासी चुनावमा अभ्यस्त नै छन । यहाँ बार्हैमासे चुनाव लाग्छ । मन्दिर, सहकारी, बन, विद्यालय देखि खानेपानीसम्मका चुनावले देवदह सधै तातिरहन्छ । स-साना संस्थामा समेत राजनीतिक सहमति गरि मिलेर जान नसक्ने र चुनावमै होमिने अनि भद्दा प्रचारमा उत्रिने यहाँका स्थानीय नेता-कार्यकर्ताहरूको संस्कृति नै बनिसकेको छ ।
हालै सम्पन्न देवदह खानेपानीको समाचार राष्ट्रिय समाचार बन्यो । दुबै प्यानलका प्रचार स्थानीय निर्वाचनकाभन्दा कम रहेनन् । १० भोटलाई ४० हजारसम्मको अफर गरियो । खानेपानी उपभोक्ताको १ लाख बढीको बक्यौता उम्मेदवारले नै तिरिदिए । मतदातालाई प्रभावित पार्न निर्वाचनको अघिल्लो दिन विजुलीका पोल झारियो । मौन अवधी सुरु भएपछि मध्यरातमा मतदातालाई कम्बल वितरण गरियो । पार्टीका केन्द्रिय पदाधिकारी, संघीय र प्रदेशसभा सांसद नै घर दैलोमा हिडें । 'हामी खानेपानीको सर्वेमा आएका हौं । फलानो प्यानललाई मतदान गरेमा बजेट उपलब्ध गराउँछौं' भन्नेसम्मका झुटा आश्वासन केन्द्रिय नेताले खानेपानी उपभोक्तालाई बांडे । त्यतिमात्रै होईन, मतदानको दिन, दिनैभरी प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधि आ-आफ्नो प्यानलको पक्षमा भोट माग्न मतदान केन्द्रको गेटमै उभिएँ । यसले पनि स्थानीय तहको निर्वाचन देवदहमा कति सभ्य र स्वस्थ हुनेछ भन्ने संकेत गर्छ ।
राष्ट्रिय राजनीतिमा क्रियाशिल सबै प्रमुख राजनीतिक दलहरू देवदहमा क्रियाशिल छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी देवदहमा क्रियाशिल प्रमुख राजनीतिक दलहरू हुन् । त्यसो त राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका पार्टी संगठनहरू समेत देवदहमा क्रियाशिल छन् ।
नेकपा एमाले :
नेकपा एमालेका तर्फबाट मेयरको उम्मेदवारमा नगर अध्यक्ष टिकाराम चापागाईंको नाम चर्चामा छ । गत स्थानीय तहको निर्वाचनमा झिनो मतान्तरले पराजित चापागाईं देवदह पुराना एमाले नेतामध्य एक हुन् । पार्टीपंक्तिका युवामाझ चापागाईंको राम्रो पकड छ । उनले टिकट पाए, युवा परिचालनमा सहज हुने र निर्वाचन जित्न सजिलो हुने उनी निकट युवाहरू बताउँछन् ।
त्यसैगरी एमालेबाटै अर्का बलिया उम्मेदवार हुन् - विद्यालक्ष्मी गुरुङ । गत निर्वाचनमा नगरप्रमुख पराजित हुँदा समेत उप-प्रमुखमा जित हासिल गरेकी गुरुङ युवा, महिला र जनजातिमाझ लोकप्रिय छन् । गुरुङले टिकट पाएमा चुनाव जित्न सहज हुने उनी निकट नेताहरू बताउँछन् ।
त्यसैगरी एमालेबाटै रेवती घले, प्रकाश अर्याल, डोलराज चापागाईं, गुमान सिंह कुँवर, बिष्णु प्रसाद पौडेल, कृष्णराज पौडेल र लक्ष्मी पंगेनी लगायतको नाम नगरप्रमुख र उपप्रमुखको उम्मेदवारको रुपमा चर्चामा छन् ।
नेपाली कांग्रेस :
हाल देवदह नगरको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसको तर्फबाट झन्डै आधा दर्जन नेताहरूले नगर प्रमुखको दावी गर्न सक्ने कांग्रेस नेताहरू बताउँछन् । कांग्रेसबाट गुनाखर भुर्तेल, हिरा बहादुर खत्री, बासुदेव रिमाल, प्रमोद खनाल, झबिन्द्र प्रसाद देवकोटा, रामकृष्ण पौडेल लगायतको नाम चर्चामा छ ।
उल्लेखित नामहरूमध्य नगर सभापति समेत रहेका गुनाखर भुर्तेललाई कांग्रेसको बलियो उम्मेद्वारको रुपमा लिइएको छ । गत निर्वाचनमा नेकपा माओवादी केन्द्रसंग गठबन्धन गरेर निर्वाचनमा गएको कांग्रेसले झिनोमतले नगरप्रमुख जितेको थियो । हाल हिरा बहादुर केसी देवदहको नगर प्रमुख रहेका छन् । त्यसो त पुनः एकपटक केसी नगरप्रमुखमा दोहोरिन चाहेको उनी निकट कार्यकर्ता बताउँछन् । यद्यपि जित्ने सम्भावना बलियो नभएको खण्डमा उनी उम्मेदवार नबन्ने र अन्त्यमा गुनाखर भुर्तेलले उम्मेदवारको टिकट पाउने कांग्रेस स्रोतको भनाइ छ ।
त्यसैगरी, नेपाली कांग्रेसबाट नगर उपप्रमुखको उम्मेदवार बन्न कांग्रेस नेतृहरू पार्वती न्यौपाने, लक्ष्मी न्यौपाने, भगवती गैरे, मीना श्रेष्ठ, मीना पौडेल लगायत आकांक्षी रहेका छन् । यद्यपि गठबन्धन गरेर गएको खण्डमा कांग्रेसले उपप्रमुख अन्य दललाई छोड्नुपर्ने हुनसक्छ ।
नेकपा माओवादी केन्द्र :
नेकपा माओवादी केन्द्र देवदहको तेस्रो राजनीतिक शक्ति हो । तेस्रो शक्ति भएकै कारण माओवादी यहाँको निर्णायक शक्ति पनि हो ।
माओवादी केन्द्रबाट नेताहरू मोतिलाल ढकाल, गोविन्द ठटराई, शौरभ चापागाईं, केदारनाथ काफ्ले, सुन्दरी गिरी, टीका न्यौपाने, तुल्सी न्यौपाने, भरत तिवारी लगायत उम्मेदवारका आकांक्षी रहेका छन् ।
उल्लेखित नाममध्य माओवादी केन्द्र देवदहका पुर्व नगर इन्चार्ज समेत रहेका नेता मोतिलाल ढकाल र हालका नगर अध्यक्ष गोविन्द ठटराई मध्यबाट उम्मेदवार बन्ने सम्भावना बलियो रहेको छ ।
नेकपा एकीकृत समाजवादी :
नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीबाट नेता निलकण्ठ पौडेल र टंक पोखरेल नगरप्रमुखको उम्मेदवारको रुपमा अगाडि सर्ने सम्भावना बलियो छ ।
तत्कालिन नेकपा एमालेमा माधब नेपाल निकट मानिने पौडेल यस अघिको चुनावमा एमालेबाट नगर प्रमुखको मुख्य दावेदार भए पनि अन्तिममा आएर उनको टिकट खोसिएको थियो । पौडेल नगर प्रमुखको उम्मेदवार बनेमा एमालेका मत समेत उनले तान्न सक्ने स्थानीय नेताहरू बताउछन् । टंक पोखरेल पार्टी नगर अध्यक्ष हुन् । पौडेल अघि नसरेमा समाजवादीबाट पोखरेल उम्मेदवार बन्ने सम्भावना छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी :
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगरप्रमुखको उम्मेदवारमा पार्टी नगर अध्यक्ष माधव रिमाल अगाडि सर्ने देखिन्छ । त्यसो त युवा नेताहरू तोयनाथ लम्साल, ज्ञानु तिवारी लगायत राप्रपा देवदहको संगठन विस्तारमा राम्रो खटेका नेताहरू हुन् । कोरोना महामारीको चरणमा राप्रपाले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको थियो भने संक्रमितको घरघरमै पुगेर पौष्टिक आहार र स्वास्थ्य सामग्री वितरण गरेको थियो । जसका कारण राप्रपाले पार्टी समर्थक बाहेकका नागरिकको पनि केही मत प्राप्त गर्नसक्ने अनुमान लगाउन सकिन्छ ।
राष्ट्रिय जनमुक्ति पार्टी :
मगर समुदायको संख्या उल्लेख्य रहेको देवदहमा राष्ट्रिय जनमुक्ति पार्टी सक्रिय छ । जनमुक्तिबाट सो पार्टीका नेता दल बहादुर बिरकट्टा नगरका चर्चित नेता हुन् । जनजाति समुदायमा लोकप्रीय बिरकट्टा जनमुक्तिबाट उम्मेदवार बने उक्त समुदायको भोट पाउने सम्भावना समेत देखिन्छ ।
गठबन्धनको कुरा गर्दा मुख्य दुई राजनीतिक दल एमाले र कांग्रेस दुबैको रोजाईमा माओवादी पर्नेगर्छ । गत निर्वाचनमा माओवादी कै कारण कांग्रेसले नगर प्रमुख जितेको थियो भने एमालेले नगरप्रमुखबाट हात धुनुपरेको थियो । तेस्रो र निर्णायक शक्ति माओवादी भएकोले माओवादी जता लाग्छ, त्यतैको पल्ला भारी हुने स्थानीय राजनीतिकर्मीहरू बताउँछन् ।
एमाले - माओवादी गठबन्धन
चुनाव नजिकिदै जादा वामपंथी मिल्नुपर्ने तर्क अघि सार्दै एमाले माओवादीसंग नजिकिन सक्ने र अन्त्यमा एमाले र माओवादी मिल्न सक्ने संभावना जिवितै छ । नेपाली कांग्रेसको मत हसियाँ हथौड़ामा नजाने भएकोले कांग्रेससंग भन्दा एमालेसंगै मिल्दा माओवादीलाई फाइदा हुने केही माओवादी नेताहरू तर्क गर्छन् ।
यद्यपि एमालेले माओवादीलाई मनाउँने कोसिस गरेपनि एकीकृत समाजवादीलाई गठबन्धनमा ल्याउन एमाले इच्छुक हुनेछैन । तर, केन्द्रिय तहबाटै माओवादी र समाजवादी फरक फरक प्यानलमा नजाने निर्देशन आउनसक्नेछ । त्यसो भएमा समाजवादीलाई छोडेर माओवादी एक्लै एमालेसंग चुनावी एकतामा जानेछैन । आफुले राजनीतिक दलको मान्यता नै नदिएको एमालेले समाजवादीसंग चुनावी एकता गर्ने संभावना झिनो छ । त्यसो भएको खण्डमा एमाले माओवादीको गठबन्धन हुने संभावना नरहन सक्छ ।
साथै, हालै सम्पन्न विद्यालय र खानेपानीका निर्वाचनमा कांग्रेस, माओवादी र समाजवादी मिलेरै गएको हुनाले कायम समीकरण छाडेर माओवादीले एमालेसंग सहकार्य नगर्न सक्छ ।
कांग्रेस-माओवादी गठबन्धन ?
हाल केन्द्र र प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी र जसपा लगायतको गठबन्धनको सरकार कायम छ । उक्त गठबन्धन नतोड्न र स्थानीय तहको निर्वाचनसम्म नै गठबन्धन कायम गर्न नेपाली कांग्रेसको एक पक्ष, माओवादी केन्द्र र समाजवादीका नेताहरू लागिरहेका छन् । उक्त गठबन्धन कायम रहेमा देवदहमा कांग्रेस, माओवादी र समाजवादीको समीकरण बन्न सक्छ । उक्त समीकरणमा राप्रपा पनि थपिने सम्भावना पनि उत्तिकै छ ।
यद्यपि देवदहमा अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले प्रमुख र उप प्रमुखमा चुनावी तालमेल गरेका थिए । तर माओवादीले प्रमुखलाई जिताइरहदा कांग्रेसले उपप्रमुखमा माओवादीका उम्मेदवारलाई भोट नदिएको आरोप माओवादी नेताहरू लगाउँछन् । कांग्रेस कार्यकर्ताले हसिया हथौड़मा भोट नहाल्ने भएकोले कांग्रेससंगको गठबन्धन माओवादीलाई नफाप्ने माओवादीको बुझाई रहेको छ ।
साथै, हालै सम्पन्न देवदह खानेपानीको निर्वाचनमा कांग्रेसको एक पक्ष खुलेर नलागेको केही माओवादी नेताहरूको आरोप छ । जसका कारण कार्यकर्ता पंक्तिले कांग्रेससंगको सहकार्यमा पुनर्विचार गर्न नेतृत्वलाई दवाव दिन सक्छ ।
एमाले - राप्रपा गठबन्धन
यदि माओवादी र एमाले मिल्न नसकेर कांग्रेस र माओवादीको गठबन्धन बनेमा एमालेले आकर्षक अफर गरेर राप्रपालाई आफ्नो पक्षमा पार्न सक्नेछ । कांग्रेस, माओवादी र समाजवादीको गठबन्धनमा भन्दा एमालेसंग मिल्दा धेरै पद प्राप्त हुने भएकोले राप्रपा पनि एमालेसंग मिल्न तयार हुने देखिन्छ ।
कुल १३५.९५ वर्ग कि. मि. क्षेत्रफलमा फैलिएको देवदह नगरपालिकामा १२ वटा वडा रहेका छन् । लगभग १५ हजार घरधुरी रहेको यहाँको जनसंख्या ७० हजार बढी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology