देवदह । देवदह नगरपालिकामा चालु शैक्षिक सत्रको कक्षा ८ को नगरस्तरीय परीक्षा सुरु भएको छ । बुधवारदेखि सुरु भएको परिक्षामा १ हजार ३९५ विद्यार्थी सहभागी छन् ।
परिक्षामा ७१० छात्र र ६८५ जना छात्रा परीक्षार्थी रहेका छन् । पहिलो दिनको परिक्षामा १५ जना विद्यार्थी अनुपस्थित रहेको नगर शिक्षा अधिकारी परशुराम ढकालले जानकारी दिए ।
नगरस्तरीय परीक्षाको लागि ६ वटा केन्द्र तोकिएको छ । जसमा जनप्रिय माविमा २३९ जना विद्यार्थीले परिक्षा दिएका छन् । सिता मावि, न्यु नमूना इ.बो. स्कुल, कोलिय इ.बो. स्कुल, देवदह मावि, जनता मावि र सरस्वती आविका विद्यार्थीले उक्त केन्द्रबाट परिक्षा दिएका छन् । जनप्रियको परिक्षा केन्द्रमा १ छात्रा अनुपस्थित रहेको जनाइएको छ ।
जनता मावि परिक्षा केन्द्रमा २४१ जना विद्यार्थीले परिक्षा दिएकोमा ३ जना विद्यार्थी अनुपस्थित रहेका छन् । जसमा २ छात्रा र १ छात्र छन् । जनता माविमा जनप्रिय मावि, महामाया भवानी मावि, ज्ञानज्योति मावि, मदरल्याण्ड एकेडेमी कोटही आवि र ग्रीन प्लान्ट इ.बो. स्कुलका विद्यार्थीको केन्द्र रहेको छ ।
देवदह मदरटङ्स एकेडेमीमा २१४ जना विद्यार्थीले परिक्षा दिएका छन् । उक्त केन्द्रमा सबै विद्यार्थी उपस्थित रहेको जनाइएको छ । देवदह मदरटङ्समा युगज्योति मावि, न्यु लुम्बिनी इ.बो. स्कुल, देवदह बुद्ध पब्लिक इ.बो. स्कुलका विद्यार्थीको परिक्षा केन्द्र रहेको छ ।
ग्रीनप्लान्ट इ.बो. स्कुल परिक्षा केन्द्रमा २९९ विद्यार्थीले परिक्षा दिएका छन् । जहाँ ७ जना विद्यार्थी अनुपस्थित रहेको जनाइएको छ, जसमा ५ जना छात्र र २ जना छात्रा रहेका छन् । ग्रीनप्लान्ट इ.बो.मा केरवानी मावि, देवदह इ.बो. स्कुल, देवदह मदरटङ्स एकेडेमी र सगरमाथा इ.बो. स्कुलको परिक्षा केन्द्र रहेको छ ।
एशियन लाइट इ.बो. स्कुल परिक्षा केन्द्रबाट १९९ जना विद्यार्थीले परिक्षा दिएका छन् । जसमा ३ जना छात्र अनुपस्थित रहेको जनाइएको छ । एशियन लाइटमा सेभेनस्टार इ.बो., सरस्वती मावि, नमूना एभरग्रीन इ.बो., प्रगति मावि र भविष्य निर्माण माविको केन्द्र रहेको छ ।
त्यसैगरी प्रगति मावि परिक्षा केन्द्रबाट २०३ जना विद्यार्थीले परिक्षा दिएका छन् । जहाँ १ जना छात्र अनुपस्थित रहेको जनाइएको छ । प्रगति माविमा एशियन लाइट इ.बो. स्कुल, सिक्टहन मावि, नारायणी पब्लिक हाइ स्कुल, जनता आवि, खड्ग मावि र शंकर आविको केन्द्र रहेको छ ।
सामुदायिक र संस्थागत गरी ३० वटा विद्यालयका विद्यार्थी परिक्षामा सहभागी छन् । जसमा १७ वटा सामुदायिक विद्यालयका ७१९ विद्यार्थी रहेका छन् भने १३ वटा संस्थागत विद्यालयका ६७६ जना विद्यार्थी रहेका छन् ।
परिक्षामा अनुपस्थित रहेका विद्यार्थीहरु मध्ये १२ जना सामुदायिक विद्यालयका छन् । जसमा केरवानी माविका सबैभन्दा धेरै ६ जना विद्यार्थी अनुपस्थित देखिए । संस्थागत तर्फ ३ जना विद्यार्थी अनुपस्थित रहेका छन् ।
देवदहको आधारभूत तहको परिक्षामा गत वर्ष एक हजार ४८६ जना विद्यार्थी सहभागी थिए । जसमा १३ जना विद्यार्थी अनुपस्थित रहेको सरकारी तथ्यांक छ ।
गत शैक्षिक सत्रसंग तुलना गर्दा देवदहमा विद्यार्थीकोको संख्या घटेको देखिन्छ । यो वर्ष गतवर्ष भन्दा ९१ जना कम विद्यार्थी परिक्षामा सहभागी छन् । जुन गतवर्षको तुलनामा ६.१२ प्रतिशतले कमी हो ।
यसैगरी देवदह नगरपालिकाले आजै देखि कक्षा ५ को परिक्षासमेत संचालन गरेको छ । जसमा ४२ विद्यालयका एक हजार ४७९ जना विद्यार्थी सहभागी छन् । परिक्षामा १६ वटा विद्यालयका विद्यार्थीको २० जना भन्दाकम रहेको तथ्यांकले देखाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology