देवदह । देवदह आदर्श बहुमुखी क्याम्पस सञ्चालक समिति सदस्य मेघनाथ भण्डारीले (किरण)ले पदबाट राजिनामा दिएका छन् । संघसंस्थालाई राजनीतिक हस्तक्षप मुक्त गर्नुपर्ने बताउँदै उनले पदबाट राजिनामा दिएको जनाएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमा भिडयो सन्देश प्रवाह गर्दै उनले शिक्षा स्वास्थ्य जस्ता संवेदनशिल संघसंस्थाहरुलाई राजनीति गर्ने थलो बनाइन नहुने उल्लेख गरेका छन् । २०८० माघ ८ गते आफुलाई क्याम्पसले सञ्चालक समिति सदस्यमा चयन गरेको बताउँदै उनले शिक्षा क्षेत्रलाई सञ्चालन गर्ने व्यक्ति राजनीतिक नेतृत्व भन्दा परको र शैक्षिक व्यक्ति नै हुनुपर्ने तर्क गरेका छन् ।
‘मैले राजिनामा दिएर सुरुवात गरेको छु । तपाईहरुपनि राजनीति गर्दै शैक्षिक संघसंस्थामा पुग्नुभएको छ भने आजैबाट आफ्नो पद त्याग्न आग्रह गर्दछु ।’ उनले भनेका छन्, मैले क्याम्पस सञ्चालक समितिका अध्यक्षलाई पनि पटक पटक यसबारे जानकारी गराए, तर कतैबाट पनि सुनुवाइ नभएपछि मैलेनै राजिनामा दिएर सुरुवात गरेको हुँ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति भण्डारीले आँफु सक्रिय राजनीतिमा रहेका कारण समितिमा बस्न उपयुक्त नठानेर राजिनामा दिएको सेतोमसीलाई बताए । ‘मैले केहि समय अघि पनि राजिनामाको सोँच बनाएको थिए, तर यो पटक निर्णयमै पुगेको छु ।’ उनले भने, ‘प्रतिनिधिसभाको निर्वाचनबाट जनताले रास्वपालाई लोकप्रिय मत दिएको र परिवर्तनको सुरुवात पनि रास्वपाबाटै जनताले चाहेकाले मैले यो निर्णय गरेको हुँ ।’
यसअघि सनिबार साँझ उनले सामाजिक सञ्जालमार्फत घुमाउरो भाषामा आफुले राजिनामा दिने उद्घोष गरेका थिए । भण्डारीको राजिनामा घोषणालाई उत्कृष्ट कार्य भन्दै सैयौंले प्रशंसा गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology