देवदह । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देवदह नगर समितिको प्रथम नगर अधिवेशन बिहिवार हुँदैछ । बुधवार मनोनयन दर्ता सकिएको र तीन जनाले सभापति पदमा मनोनयन दर्ता गरेको निर्वाचन समितिले जनाएको छ ।
सेतोमसीसंग कुरा गर्दै निर्वाचन समिति संयोजक सुरेन्द्र प्रसाद बस्यालले सबै पदका लागि दर्ता भएका उम्मेदवारहरूको पहिलो नामावली (प्रथम सूची) सार्वजनिक गरिएको बताए ।
प्राप्त सूची अनुसार सभापति पदमा बल बहादुर श्रेष्ठ (असिम), मेघनाथ भण्डारी (किरण) र प्रकाश अधिकारीले मनोनयन दर्ता गरेका छन् । नगरका अन्य सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएपनि सभापतिमा सहमति भइनसकेको निर्वाचन समिति सदस्य दुर्गा अर्यालले जानकारी दिइन् ।
पार्टीको उपसभापतिमा तुलसी खनाल, सचिवमा दुर्गा प्रसाद तिवारी र सह-सचिवमा राम प्रसाद पंगेनी सर्वसम्मत चयन भएको जनाइएको छ ।
त्यसैगरी महिला सदस्यमा तिला बुढामगर, विमला थापा र मोनिका थापा चयन भएका छन भने समावेशी सदस्य दलिततर्फ उम्मेदवारी खाली रहेको जनाइएको छ । खुला सदस्यमा भक्त बहादुर थापा, चुरामणि तिवारी, चोलाकान्त पौडेल, शेर बहादुर कार्की र कमल पौडेल चयन भएको निर्वाचन समिति सदस्य अर्यालले बताइन् ।
अधिवेशन प्रतिनिधिहरूमा जिल्ला र प्रदेशको सर्वसम्मत टुंगिएको छ भने केन्द्रीय प्रतिनिधिमा तीन जनाको उम्मेदवारी परेको छ ।
सर्वसम्मत चयन भएका जिल्ला अधिवेशन प्रतिनिधिहरूमा मीना पौडेल, माया कुमारी राना, मित्रलाल पाण्डे र मनोज पुन रहेका छन् भने प्रदेश अधिवेशन प्रतिनिधिहरूमा महेश भण्डारी र भगवती आचार्य चयन भएका छन् ।
केन्द्रीय अधिवेशन प्रतिनिधिमा महेश भण्डारी, राजन अधिकारी र रोहीत वाग्लेले मनोनयन दर्ता गरेको जनाइएको छ ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूका लागि नाम फिर्ता लिने समय बिहिवार बिहान ११:३० बजेसम्म तोकिएको छ। उम्मेदवारी फिर्ताको समय सकिएलगत्तै सोही दिन दिउँसो १:३० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology