Logo

२०८३, आश्विन १०गते


images
images

तोलराजका ५५ बर्षे एमाले यात्रा : उनी पार्टीमा खटिईरहे, नयाँ-नयाँ आए र लखेटिरहे !

तोलराजका ५५ बर्षे एमाले यात्रा : उनी पार्टीमा खटिईरहे, नयाँ-नयाँ आए र लखेटिरहे !

images
  • तोलराजका ५५ बर्षे एमाले यात्रा : उनी पार्टीमा खटिईरहे, नयाँ-नयाँ आए र लखेटिरहे !
    images
    images

    देवदह । वि. सं. २०१० सालमा स्याङ्जाको ग्वादीमा जन्मिएका तोलराज विक, उमेरले डेढ दशक पूरा गर्दा नगर्दै राजनीतिमा होमिए । अलिअली बुझ्ने भएदेखी नै समाजमा उनी आफुले भोगेका विभेद, अन्याय र अत्याचार अरुले भोग्नु नपरोस् भन्ने चाहान्थे । विकट बस्तिमा हुर्किरहेका किशोर तोलराजले तिनै विभेदको रुख जरादेखि नै ढलाउन विचारको बन्चरो खोजिरहेका थिए । सोही क्रममा १४ बर्ष पुग्दै गर्दा उनी स्थानीय बाम बुद्धिजिवीहरू जयप्रकाश विक, दिलबहादुर राना लगायतको सम्पर्कमा पुगिसकेका थिए । जहाँबाट उनी कम्युनिस्ट राजनीति, त्यसले बोकेका विचार र आदर्शसंग परिचीत भैसकेका थिए । यसरी २०२४ सालबाट उनी तत्कालीन मालेको युवकसँगमा जोडिएर युवा खर्क गाउँ समितिमा आवद्ध भैसकेका थिए । जसलाई उनले पछि अन्य गाउँहरूमा समेत विस्तार गरे ।

    images
    images
    images

    तत्कालीन नेकपा (माले) को 'जाली फटाहा' हरूलाई कार्वाही गर्ने निति अनुसार उनी संगठीत रहेको युवक संघले पार्टीले पहिचान गरेका केही त्यस्ता मान्छेलाई कालोमोसो दल्ने काम समेत गर्यो । ठाउँ ठाउँमा विरोध स्वरूप कालो झण्डा गाडियो । जसका कारण २०२७ सालमा गाउँ कै नेता धन बहादुर विक  पक्राउ परे । ग्वादीमा प्रहरी पसेपछि २०२७ सालमा उनी पनि भुमिगत भए र गुल्मीको हर्मीचौरमा पुगे । त्यहाँ पुगेर पनि उनी मात्रै लुकेर बसेनन् ।  पार्टी काममा खटिईरहे ।

    images
    images
    images

    आफ्नो राजनीतिका सुरुवाती दिनबारे कुरा गर्दै तोलराज त्यो बेला स्याङ्जाको ग्वादिबाट रातमा हिड्दै गाउँमा जम्मा गरिएको लेभी बुझाउन पार्टी सम्पर्क कार्यालय पाल्पाको तानसेन जाने गरेको सम्झिन्छन् । दुई पटकसम्म त्यसरी रातिमा पैदलले हिडेर लेभी बुझाउन जाने उनलाई पार्टी कार्यालयले यस्तो गर्न हुन्न भनेर सम्झाएर पठाउने गर्थ्यो । उनका अनुसार त्यो बेला समेत ३०० देखि ४०० रुपैयाँसम्म लेभी संकलन गरेर ज्यानै जोखिममा राख्दै इमानदारीताका साथ लेभी दाखिला गर्ने उनलाई पछि पार्टीले जति उठ्छ आफैसंग राख्नु र मौका मिलेको बेला बुझाउनु राती राती नहिड्नु भनेर सम्झाएको थियो ।

    images
    images
    images

    केही महिना गुल्मीमा भुमिगत रहेका उनी २०२८ सालमा भारत पसे । भारतको दिल्लिमा उनले चप्रासीदेखि प्रीन्टिङ्ग प्रेससम्ममा काम गरे । जागीर गर्ने क्रममा २०३० सालमा उनी पार्टीको प्रवास कमिटीमा जोडिएर काम गरे । 
    प्रवासमै काम गर्ने क्रममा उनले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र  सदस्य तुल्सीलाल अमात्यसम्मलाई भेटे । पुष्पलाल श्रेष्ठलाई उनले भारतको गोविन्द वल्लव अस्पतालमा भेटेका थिए । जहाँ पुष्पलाल उपचाररत थिए । अस्पतालमा पुष्पलाललाई भेट्न र एकरात भएपनि कुर्न भनि गएका उनको कुर्ने पालो दोस्रो दिन पर्यो । तर पुष्पलालले दोस्रो दिन यो संसार देख्न पाएनन् । अर्को दिन तोलराज अस्पताल पुग्दा उनले प्राण त्यागिसकेका थिए । उक्त क्षण सम्झिदै उनले तत्कालीन पंचायतले पुष्पलालको पार्थिव शरीर नेपाल ल्याउन नदिएको स्मरण गर्छन् । उनी भन्छन्, 'पुष्पलाललाई नेपाल ल्याएर जलाईयो भने उनलाई जलाएको धुवाँबाट समेत देशमा कम्युनिस्ट फैलिन्छन् भन्ने निष्कर्ष त्यो बेलाको सरकारले निकालेको थियो ।' पुष्पलालको अन्तिम संस्कारमा समेत सहभागी भएका उनले पुष्पलालको पार्थिव शरीर अगाडि मुठ्ठी उठाएर उनकी जीवनसाथी  साहाना प्रधानले कमरेड तपाईंका अधुरा सपना हामी पूरा गर्छौं भनेको अहिले पनि झल्झल्ती सम्झिन्छन् । पुष्पलालको अन्तिम संस्कारमा तोलराज संगै हाल देवदहका  वासिन्दाहरू गोविन्द विक, शिवलाल विक र खगु विक ( मृत्यु भैसकेको) पनि थिए । 


    पुष्पलाललाई भेटेपछि भारतमै तुल्सीलाल अमात्यलाई भेटेर पार्टी विभाजनबारे कुरा गरेको बताउने उनले त्यो बेला पुष्पलालले लेखेको 'नौलो जनवादी क्रान्ति र मूल बाटो' र तुल्सीलालले लेखेको 'कुन बाटो ?'  जस्ता दस्तावेजबारे छलफल गरेका थिए । 

    तत्पश्चात तोलराजले भारत छाड्ने निधो गरेर २०३४ सालमा नेपाल फर्किएका थिए ।

    दिल्ली जान्छु भनेर खैरेनी आए …

    २०३४ सालमा नेपाल आएपछि दुई साल जति घरमै रहेका तोलराज २०३६ सालमा देवदहको खैरेनी आएका थिए । घरबाट दिल्ली जान्छु भनेर हिडेंका उनी खैरेनीमा आई सुकुम्बासी बस्तिमा टहरो बनाई बसेका थिए । जहाँ उनले पित्तलका गहना बनाउने काम गरे । जसलाई पछि उनले सुन पसलमा बिस्तार गरि लामो समय सुन पसल गरेका थिए ।

    २०३६ सालमा भएको जनमत संग्रहमा तोलराज बहुदलको पक्षमा खुलेर लागेका थिए । यद्यपि तत्कालीन सरकारले गठन गरेको एक शक्तिशाली आयोगका नवलपरासी, रुपन्देही र कपिलवस्तु हेर्ने संयोजक दिपक बोहोरा (जो हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता छन् ) ले पंचायतलाई भोट दिए सुकुम्बासी बस्तीमा तोक आदेश दिने र बस्ती व्यवस्थित गरिदिने आश्वासन दिएको उनलाई अहिले पनि सम्झना छ । त्यो संगै आफू लगायत सुकुम्बासी परिवारले बनाएका १९२ झुप्रामा आगो लगाईएको पनि उनी सम्झिन्छन ।

    यद्यपि उनी निराश भएनन् र पंचायत विरोधी आन्दोलनमा लागिरहे २०३६ सालको आन्दोलनमा शिवराज सुवेदी, डोलराज चापागाईं लगायतसंगै तोलराज पनि आन्दोलनको अग्रभागमा खटिईरहे ।

    २०३८ सालमा पार्टीका किताब ल्याउने र भलुही र टटेरामा पुर्याउने उनी २०४३ सालमा पार्टी सदस्य लिएर पार्टीको टोल कमिटी सचिव, वार्ड सचिव, इलाका सचिव, क्षेत्रीय उपाध्यक्ष हुँदै २०५४ सालसम्म पार्टीका विभिन्न जिम्मेवारी बहन गरे ।

    २०५४ को स्थानीय चुनावमा तत्कालीन वडा नं. २ को वडाध्यक्षमा निर्वाचित भएर जनप्रतिनिधि भएका उनले आफ्नो वडालाई विद्युतिकरण गरेका थिए । 

    २०७४ मा विष्णुले तोलराज रोजे, छविलालले झिल्लु खोजे !

    तोलराजका अनुसार २०५४ सालमा उनी जनप्रतिनिधि बन्न चाहदैनथे । उनले भर्खरैमात्र सुन पसल खोलेको भएर पनि समय दिन सक्दिन भन्ने लागेर उनी निर्वाचित हुन चाहादैनथे । तर पार्टीले जोड गर्यो र उनले पार्टी निर्णय मानेर चुनाव लडे र जिते पनि । तर २०७४ मा त्यसको ठिक उल्टो भयो । उनी जनप्रतिनिधि बन्न चाहान्थे । त्यो पनि वडाध्यक्ष नै बन्न चाहान्थे । उनको चाहाना अनुसार एमाले नेता विष्णु पौडेलले उनलाई वडाध्यक्षको उम्मेदवारको टिकट दिने निर्णय नै गराए ।  

    यद्यपि उक्त निर्णय लामो समय टिकेन । अर्का नेता छविलाल विश्वकर्माले पार्टीमा राप्रापाका नेता झिल्लु प्रसाद न्यौपानेलाई भित्र्याएर वडाध्यक्षको टिकट थमाईदिए । झिल्लु न्यौपानेलाई पार्टीमा भित्र्याउनुको कारण के थियो भन्ने प्रश्नमा २०७० को निर्वाचनमा पराजित भएका विश्वकर्माले जसरी पनि संघीय निर्वाचन जित्न चाहान्थे । त्यसको लागि राप्रपाको केही मतमा प्रभाव राख्ने नेता न्यौपाने उपयुक्त पात्र हुन् भन्ने छविलाल विश्वकर्मालाई लागेको उनी बताउँछन् ।

    यसरी २०७४ मा वडाध्यक्ष बनेर काम गर्ने उनको इच्छा अधुरै रह्यो ।  उनले वडा सदस्यमा उम्मेदवारी दिए र निर्वाचित त भए । तर उनलाई जिल्ला समन्वय समितिमा लैजाने भनी नेताहरूले गरेको निर्णय समेत कार्यान्वयन नगरिएको उनको गुनासो छ । 

    ०७९ मा पनि ०७४ कै पुनरावृत्ति ! 

    तोलराजका अनुसार उनलाई नेताहरूद्वारा अर्को निर्वाचनमा हेरिने आश्वासन दिईएको थियो । तर ०७४ कै पुनरावृत्ति २०७९ मा पनि भयो । उनलाई हुन्छ, हुन्छ भनियो । अन्तिम समयसम्म पनि उनले आस गरिरहे तर टिकट अर्कैलाई दिईयो । टिकट अर्कैलाई दिइँदा समेत आफुलाई यो कारणले तपाईंलाई टिकट दिन सकिएन भनेर नेताहरूले फोन समेत नगरेकोमा उनको चित्त दुखाई छ ।

    तपाईंले २०७९ मा पनि २०७४ कै पुनरावृत्ति भएको उल्लेख गर्नुभयो कसरी इतिहासको पुनरावृत्ति भयो भन्ने प्रश्नमा तोलराजले ०७४ मा राप्रपाबाट मान्छे प्रवेश गराएर टिकट दिईए झै ०७९ मा पनि 'नवप्रवेशी' लाई टिकट दिईएको आरोप लगाए । यसरी पार्टीमा निरन्तर काम गर्ने मान्छेहरूले अवसर नपाउने र अन्य पार्टीबाट नयाँ-नयाँ मान्छे ल्याएर पुरानालाई लखेटिरहने हो भने त्यो पार्टी र उक्त पार्टीमा राजनीति गर्ने कुनै पनि कार्यकर्ताको मूल्य नहुने उनको भनाइ छ ।

    तपाईंलाई पार्टीले कारवाही गरिसक्यो अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनी कारवाही स्वभाविक भएको र अब आफू एमालेमा नरहने उल्लेख गरे । पार्टी अवसरबादीहरूको कब्जामा गईसकेको र टिकट वितरणमा व्यापक चलखेल भएकोले आफुले स्वतन्त्र उम्मेदवारी दिएर पुतली चिन्हमा चुनाव लडिरहेको बताउँदै आफुले निर्वाचन जित्ने र स्वतन्त्रै रहेर जनताको सेवा गर्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।