देवदह । देवदह नगरपालिका वडा नं. ५ स्थित गुरुङ सेवा समाजको भवनमा भोज सहित नेकपा एमालेले मतदाता राखेको आरोप अन्य दलहरू लगाएका छन् । निर्वाचन सुरू हुन केही घण्टा मात्र बाँकी रहँदा एमाले ले २०० जना बढी मतदातालाई खानपान सहित प्रलोभनमा पारी राखेको आरोप नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूले लगाएका हुन् । 
निर्वाचन आचारसंहिता र मौन अवधिको उल्लंघन गर्दै मतदाताहरूलाई खानपान सहित विभिन्न प्रलोभनमा पारी एमालेले अलोकतान्त्रिक चरीत्र देखाएको राप्रपा देवदहका अध्यक्ष समेत रहेका राप्रपाबाट मेयर पदका उम्मेदवार माधव रिमालले बताए । प्रशासनलाई समयमै खबर गर्दा पनि सहयोग नपाएको उनले गुनासो गरेका छन् ।
त्यसैगरी प्रलोभन र दबाबमा पारी मतदाताहरूलाई भवनमा ल्याएर राखिएको भन्दै नेपाली कांग्रेसबाट वडा नं. ६ का उम्मेदवार दामोदर क्षेत्रीले एमाले उक्त कार्यमा संलग्न भएको आरोप लगाएका छन् ।
यद्यपि यस विषयमा एमालेका कुनै पनि नेताहरूको भनाइ बाहिर आएको छैन ।
सेतोमसीसंग कुरा गर्दै उक्त स्थानमा खटिएका प्रहरी इन्स्पेक्टर रामप्रसाद पाण्डे सहितका सुरक्षा अधिकारीहरूले 'भित्र केही मतदाता हुनुहुन्छ भन्ने छ, उहाँ किन र कसरी आउनुभएको हो भन्ने खुलेको छैन' र आफुहरूले बुझ्ने प्रयास गरिरहेको जनाएका छन् ।
यो समाचार तयार गर्दैगर्दा थप एक गाडी शसस्त्र प्रहरीको टोली उक्त स्थानमा आईपुगेको घटनास्थलबाट सहकर्मी राहुल सापकोटाले जनाएका छन् ।
भित्र नेकपा एमालेका स्थानीय नेता सहित मतदाता रहेको आरोप लगाउँदै नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाका समर्थकहरूको ठूलो भिड उक्त गुरुङ समाजको भवन अगाडि लागेको छ । जसले गर्दा बाताबरण कोलाहलयुक्त र तनावग्रस्त बनेको छ ।
भवन प्रवेशको मुल गेट र च्यानल गेट समेत बन्द गरिएकोले भवनभित्र कति व्यक्ति रहेका छन् र त्यहाँ के भैरहेको छ भन्ने जानकारी प्राप्त भएको छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology