देवदह । देवदहमा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । युगिन साहित्य समाज, अनुराग साहित्य समाज तथा उज्यालो लालटिन प्रतिष्ठानको आयोजनामा रचना वाचन सम्पन्न भएको हो ।
देवदह नगरपालिकाको आर्थिक सहयोगमा आयोजित उक्त कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुब प्रसाद खरेलले गलत बाटोमा लागेकालाई सहि बाटोमा ल्याउन साहित्यले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । साहित्यको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन गर्न सकिने बताउँदै नगरप्रमुख खरेलले नगरको विकास र समृद्धिको यात्रामा साहित्यको महत्त्वपूर्ण भुमिका रहने बताए ।
कार्यक्रममा नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङ, साहित्यकार बूँद राना, डा. श्याम प्रसाद न्यौपाने, विनोद उदय, यज्ञ प्रसाद न्यौपाने, सरस्वती बस्याल, श्याम न्यौपाने, गणेश खनाल, सागर भट्टराई लगायतले रचनावाचन गरेका थिए।
सो अवसरमा कविता लेखन प्रशिक्षणमा सहभागी १२ वटा विद्यालयका १२ जना विद्यार्थीहरुले समेत प्रतिनिधि मूलक रुपमा रचनावाचन गरेका थिए ।
कार्यक्रम युगीन साहित्य समाजका अध्यक्ष सुशील सापकोटाको अध्यक्षता, उज्यालो लालटिन प्रतिष्ठानका सदस्य सुरज भट्टराईको धन्यवाद ज्ञापन र विष्णु 'विवश' पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology