देवदह । रुपन्देहीको देवदह नगरपालिका–५ र ६ मा फैलिएको बुद्ध सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८३/०८४ का लागि १ करोड ५२ लाख ७ हजार ६ सय ९१ रुपैयाँ ५१ पैसाको अनुमानित बजेट तथा वार्षिक कार्यक्रम तय गरेको छ ।
समूहका अध्यक्ष टेकबहादुर रानाले प्रस्तुत गरेको वार्षिक योजनामा वन विकास, महिला सशक्तीकरण तथा गरिबी निवारण, सामाजिक विकास, गौतम बुद्ध राष्ट्रिय उद्यानको विकास र संस्थागत व्यवस्थापनलाई प्राथमिकतामा राख्दै २९ बुँदे वार्षिक कार्यक्रम अघि सारिएको छ ।
प्राप्त प्रतिवेदनअनुसार गत वर्षको बैंक तथा नगद मौज्दात २ लाख ७८ हजार १ सय १९ रुपैयाँ ५१ पैसा र चालु आर्थिक वर्षको अनुमानित आम्दानी १ करोड ४९ लाख २९ हजार ५ सय ७२ रुपैयाँ गरी कुल १ करोड ५२ लाख ७ हजार ६ सय ९१ रुपैयाँ ५१ पैसाको आय प्रक्षेपण गरिएको छ ।
चालु आर्थिक वर्षमा बाह्य काठ–दाउरा लिलामबाट ६५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ । साल गोलिया बिक्रीबाट २५ लाख, गौतम बुद्ध राष्ट्रिय उद्यानबाट २० लाख, अनुदान तथा सहयोगबाट १५ लाख, आपूर्ति गोलिया काठ बिक्रीबाट १३ लाख र जर्ना (दाउरा) बिक्रीबाट ७ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी बोलपत्र फारम बिक्रीबाट १ लाख ६८ हजार, कुकाठ गोलियाबाट १ लाख, सदस्यता शुल्कबाट ६० हजार, विविधबाट ५० हजार ७२, बैंक ब्याजबाट २० हजार, बल्लाबल्ली तथा भाटा बिक्रीबाट १५ हजार, दण्ड जरिवानाबाट १० हजार, निवेदन दस्तुरबाट ५ हजार र फोटोकपीबाट १ हजार ५ सय रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
खर्चतर्फ वन विकासमा ७० लाख ३७ हजार ८ सय ७४ रुपैयाँ ३४ पैसा, महिला सशक्तीकरण तथा गरिबी निवारणमा ३४ लाख १९ हजार ६ सय ५२ रुपैयाँ, सामाजिक विकासमा २५ लाख ५० हजार र प्रशासनिक खर्चमा २२ लाख १६५ रुपैयाँ विनियोजन गरिएको प्रतिवेदनमा उल्लेख छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology