देवदह । विगत केही समयदेखि कहिले देवदह नगरपालिकाको बेरुजु अस्वभाविक बढेको त कहिले कर्मचारीले सरकारी सवारी साधनको दुरुपयोग गरेको विषयले सामाजिक संजाल तताईरहेको छ । तर, सबै राजनीतिक नेतृत्व र कर्मचारीहरू भ्रष्ट हुँदैनन् । जसको उदाहरण बनेका छन्; देवदह नगरपालिका वडा नं. २ स्थित पेटवनिया सामुदायिक आधरभुत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षकहरू ।
पेटवनिया आधारभुत विद्यालयमा सधैं झै शुक्रबार पनि 'इन्टर्भल' सम्म पढाई भयो । शुक्रवार भएको हुनाले सबै विद्यार्थी र शिक्षकहरू नियमानुसार नै आधादिनपछि घर गएर आराम गर्न सक्थे । तर, न शिक्षक घर गए, नत विद्यार्थी नै । बरू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि बहादुर राना पनि टुप्लुक्क विद्यालय आईपुगे । 
यसरी सबैजना जुटेर त्यहाँ कुनै भोज हुँदै थिएन । विद्यालयको प्रांगणमा झांगिएको घाँस काट्न उनीहरू एकजुट भएका थिए । विद्यार्थीले स-साना झार गोडमेल गरे भने शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले हसियाँ लिएर घाँस काट्न सुरु गरे ।
"वर्षे विदा भर्खरै सकिएर विद्यालय सुरु भएकोले पनि होला, विद्यालयको स्वरूप नै विगार्ने गरि प्रांगणमा झाँगिएको घाँस काट्नै पर्ने भएर काटेका हौँ" विद्यालयकि प्रधानाध्यापक शारदा हिताङले सेतोमसीसंग भनिन् । उनी अगाडि भन्छिन्, "विद्यालयको प्राङ्गण र आसपासको जग्गा करिव दश कठ्ठामा फैलिएको छ, सफा नगर्ने हो भने गर्मी र बर्षातको मौसम पनि भएकोले सर्प लगायत किराकिरीको पनि डर हुनसक्छ । विद्यालयमा भर्ना भएर पढ्ने हरेक विद्यार्थीलाई सुरक्षित राख्नु पनि हाम्रो दायित्व हो त्यसैले घाँस काटेका हौं ।" 
त्यसो त यस विद्यालयको अर्को पनि विशेषता छ । कक्षा ५ सम्म पढाई हुने यस विद्यालयमा शिक्षक र कर्मचारी सबै महिला छन् । ७४ जना विद्यार्थीहरू अध्ययनरत विद्यालयमा कार्यालय सहयोगीदेखि प्रधानाध्यापकसम्म सबै महिला छन् ।
यहाँ ६ जना शिक्षका र एक कर्मचारी गरि ७ जना कार्यरत छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology