जीवनको यात्रामा मानिसले धेरै सपना देख्छ । तर मेरा लागि जीवनको सबैभन्दा ठूलो सन्तुष्टि भनेको आफूले जीवनका महत्वपूर्ण समय बिताएको र कर्मभूमि बनाएको समाजका लागि केही गर्न सक्नु हो । पद, प्रतिष्ठा र व्यक्तिगत लाभभन्दा माथि उठेर आफ्नो ठाउँ, समाज र भावी पुस्ताका लागि योगदान गर्ने सोचका साथ मैले विगतदेखि वर्तमानसम्म विभिन्न क्षेत्रमा आफ्नो समय, श्रम र क्षमता खर्चिँदै आएको छु ।
आज विगतका दिनहरू सम्झँदा देवदहको शैक्षिक, आर्थिक, सामाजिक, सञ्चार क्षेत्र तथा ऐतिहासिक र पुरातात्त्विक क्षेत्रको पहिचान एवं संस्थागत विकासका विभिन्न चरणमा जोडिएर काम गर्न पाएकोमा सन्तुष्टि महसुस हुन्छ ।
गुणस्तरीय शिक्षाका लागि विद्यालय स्थापना :
देवदह विस्तारै सहरउन्मुख हुँदै गइरहेको थियो । देवदहका विद्यार्थीहरू अङ्ग्रेजी माध्यममा अध्ययनका लागि बुटवल जानुपर्ने बाध्यता थियो । विद्यार्थीको आवश्यकतालाई ध्यानमा राखेर वि.सं. २०५२ सालमा ‘देवदह इङ्लिस बोर्डिङ स्कुल’ स्थापना गरियो । हाल यहाँ अध्ययन गरेका विद्यार्थीहरूले देशविदेशमा विभिन्न ओहोदामा रहेर सफलतापूर्वक काम गर्दै आइरहेका छन् । हजारौँ विद्यार्थीको भविष्य निर्माणमा जोडिन पाउनु मेरो जीवनको महत्वपूर्ण उपलब्धि हो । यो उपलब्धि कुनै एक व्यक्तिको मात्र नभई विद्यालयसँग जोडिएका शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी र सम्पूर्ण शुभेच्छुकहरूको साझा प्रयासको परिणाम हो ।
सहकारी स्थापना र आर्थिक विकासमा योगदान :
एक समय देवदहमा नागरिकहरूमा बचत गर्ने बानीको विकास पर्याप्त भएको थिएन । सानो बचतबाट ठूलो आर्थिक आधार निर्माण गर्न सकिन्छ भन्ने विश्वासका साथ वि.सं. २०५९ सालमा ‘देवदह बचत कोष’ स्थापनाको अभियानमा महत्वपूर्ण योगदान गर्ने अवसर प्राप्त भयो ।
त्यसपछि ‘देवदह बचत तथा ऋण सहकारी संस्था’ को संस्थापकका रूपमा रहेर स्थानीय नागरिकमा बचत गर्ने बानी, आर्थिक अनुशासन र सहकारी भावनाको विकासमा जोडिएँ । आज ‘कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ को सल्लाहकारका रूपमा समेत संस्थागत यात्रामा जोडिएको छु ।
सामुदायिक रेडियो देवदहको नेतृत्व :
तत्कालीन देवदह गा.वि.स.मा सूचना तथा सञ्चारको पहुँच र स्थानीय आवाजलाई व्यापक रूपमा प्रवाह गर्ने माध्यमको आवश्यकता थियो । देवदहको आफ्नै सञ्चार माध्यम हुनुपर्छ भन्ने अवधारणाका साथ ‘रेडियो देवदह’ स्थापनाको अभियानमा सहभागी भई संस्थापक कोषाध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भयो ।
वि.सं. २०७४ सालमा रेडियोको नेतृत्व गर्ने अवसर प्राप्त भयो । हाल पूर्व अध्यक्ष तथा सल्लाहकारको रूपमा काम गर्दै आइरहेको छु । आवाज, सूचना, शिक्षा, संस्कृति र जनचेतनाको विकासमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ भन्ने मान्यताका साथ यो यात्रा अगाडि बढेको हो ।
देवदह संरक्षण युवा मञ्चको स्थापना :
ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्व बोकेको देवदहको पहिचान अपेक्षाअनुसार राष्ट्रिय स्तरमा प्रचारप्रसार हुन सकेको थिएन । देवदहको इतिहास, संस्कृति र सम्पदालाई विश्वसामु चिनाउनुपर्छ भन्ने उद्देश्यले ‘देवदह संरक्षण युवा मञ्च’ को स्थापना गरी संस्थापक अध्यक्षको जिम्मेवारी निर्वाह गरेँ ।
यसै अभियानअन्तर्गत पहिलो पटक लुम्बिनी विकास कोषसँग सम्बन्ध विस्तार गरी ऐतिहासिक ‘देवदह महोत्सव’ सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर मिल्यो । देवदहको ऐतिहासिक पहिचान, पर्यटन र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा त्यो अभियान एउटा महत्वपूर्ण प्रयास थियो ।
बैंकिङ सेवाको पहुँच विस्तारमा सहभागिता :
देवदहमा बैंकिङ सेवा सहज रूपमा उपलब्ध नभएको अवस्थामा स्थानीय नागरिकलाई आफ्नै ठाउँमा वित्तीय सेवा उपलब्ध गराउनुपर्छ भन्ने सोचका साथ ‘सेवा विकास बैंक’ को संस्थापक शेयर सदस्यका रूपमा जोडिएँ । देवदहमा पहिलो बैंक शाखा स्थापना गर्ने प्रक्रियामा आफ्नो तर्फबाट योगदान गर्न पाउनु पनि मेरो सार्वजनिक जीवनको एउटा महत्वपूर्ण अनुभव हो ।
लायन्स क्लब अफ देवदह स्थापना :
देवदह नगरपालिकामा अन्तर्राष्ट्रिय सामाजिक संस्था स्थापना गर्ने सोचका साथ सेवाको भावना बोकेको लायन्स क्लबको आवश्यकता महसुस गरी ‘लायन्स क्लब अफ देवदह’ स्थापनामा अग्रसर भएँ । संस्थापक अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै सामाजिक सेवा, मानवीय सहयोग र नेतृत्व विकासका गतिविधिमा सहभागी हुँदै आएँ । हाल लायन्सको जिल्ला तहमा महत्वपूर्ण जिम्मेवारीमा रहेर सामाजिक सेवाको यात्रालाई निरन्तरता दिइरहेको छु ।
राजनीतिक यात्रा :
सामाजिक तथा शैक्षिक क्षेत्रमा काम गर्दै गर्दा देशको समग्र परिवर्तनका लागि राजनीतिक चेतना र सहभागिता पनि आवश्यक छ भन्ने लाग्यो । राजनीतिक विचारधाराका हिसाबले आफूलाई पूर्ण कम्युनिस्ट मान्ने अवस्था नभए पनि लामो समय नेकपा (एमाले) का विभिन्न जिम्मेवारीमा रहेर पार्टी र सङ्गठनका लागि काम गरेँ । तर त्यस क्रममा कुनै लाभको पद प्राप्त गर्ने वा व्यक्तिगत स्वार्थ पूरा गर्ने उद्देश्य राखिनँ ।
देशमा स्थिरता, सुशासन र समृद्धिको आशा थियो । एमाले र तत्कालीन माओवादीबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी बनेपछि देशमा राजनीतिक स्थिरता र विकासको नयाँ अध्याय सुरु होला भन्ने अपेक्षा पनि थियो । तर पछिल्ला राजनीतिक घटनाक्रम र सत्ताकेन्द्रित गतिविधिहरूप्रति असन्तुष्टि बढ्दै गएपछि परम्परागत राजनीतिक यात्राबाट अलग भएर केही समय स्वतन्त्र रहने निर्णय गरेँ । तर देश र समाजप्रतिको जिम्मेवारीबाट भने कहिल्यै अलग रहन सकिनँ ।
नयाँ राजनीतिक विकल्पको खोजी भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र रवि लामिछानेको नेतृत्वमा देखिएको नयाँ राजनीतिक अभियानले मभित्र पनि नयाँ आशा र सम्भावनाको भावना जगायो । पुरानो राजनीतिक अभ्यासभन्दा फरक सोच, जवाफदेहिता, सुशासन र परिवर्तनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य बनेँ ।
पार्टीमा आबद्ध भएपछि रुपन्देही जिल्लाको सचिवको जिम्मेवारीमा भारी मतसहित निर्वाचित भएर सङ्गठन विस्तार, कार्यकर्ता परिचालन र पार्टीको राजनीतिक आधार निर्माणमा निरन्तर मिहिनेत गरेँ । जिल्लाका विभिन्न स्थानमा सङ्गठन निर्माण र विस्तारका अभियानमा सक्रिय रहेँ । त्यसपछि लुम्बिनी प्रदेश समितिको सदस्यमा समेत सर्वाधिक मतसहित निर्वाचित हुने अवसर प्राप्त भयो । यो मतलाई मैले व्यक्तिगत विजयभन्दा पनि साथीहरू, शुभेच्छुक र पार्टीका सदस्यहरूले दिएको जिम्मेवारी तथा विश्वासका रूपमा लिएको छु ।
आजको मेरो सोच र प्रतिबद्धता :
विगतका यी सबै यात्राले मलाई एउटा कुरा सिकाएको छ, परिवर्तन भाषणले मात्र सम्भव हुँदैन, त्यसका लागि स्पष्ट सोच, निरन्तरता, इमानदार प्रयास, सामूहिक सहभागिता र जवाफदेहिता आवश्यक हुन्छ ।
मैले शिक्षामा काम गरेँ, आर्थिक आत्मनिर्भरताका लागि सहकारी अभियानमा जोडिएँ, सञ्चार क्षेत्रमा योगदान गरेँ, देवदहको इतिहास र पहिचानका लागि काम गरेँ, बैंकिङ सेवा विस्तारको अभियानमा सहभागी भएँ र सामाजिक सेवामार्फत समुदायसँग जोडिएँ । राजनीतिक यात्रामा पनि सङ्गठन निर्माण र परिवर्तनको अभियानलाई आफ्नो क्षमताअनुसार योगदान गर्दै आएको छु । यी सबै अनुभवबाट मैले देवदहलाई नजिकबाट बुझ्ने अवसर पाएको छु । यहाँका सम्भावना, समस्या, आवश्यकता र चुनौतीहरूलाई विभिन्न क्षेत्रबाट नियाल्ने अवसर प्राप्त भएको छ ।
अब मेरो चाहना विगतका अनुभव, सिकाइ र सामूहिक प्रयासलाई अझ बृहत् रूपमा समाजको हितमा उपयोग गर्ने हो । देवदहको ऐतिहासिक गौरवलाई आधुनिक विकाससँग जोड्ने, गुणस्तरीय शिक्षा र स्वास्थ्य सुनिश्चित गर्ने, युवालाई अवसर सिर्जना गर्ने, कृषि तथा पर्यटनलाई आर्थिक समृद्धिको आधार बनाउने, सुशासन र पारदर्शिता कायम गर्ने तथा १२ वटै वडाको सन्तुलित विकास गर्ने सोचका साथ अगाडि बढ्न चाहन्छु ।
मेरा लागि पदभन्दा जिम्मेवारी ठूलो हो, प्रतिष्ठाभन्दा विश्वास ठूलो हो र व्यक्तिगत सफलताभन्दा समाजको सामूहिक उपलब्धि ठूलो हो । विगतमा मैले जे गरेँ, त्यो देवदहकै लागि गरेँ । आगामी दिनमा पनि मेरो समय, अनुभव, क्षमता र प्रतिबद्धता देवदहको समृद्धि, सुशासन र उज्ज्वल भविष्यका लागि समर्पित रहनेछ ।
मेरा विगतका अनुभव र इतिहासलाई सकारात्मक पाठका रूपमा लिँदै वर्तमानमा सफल कार्यान्वयन गर्ने जिम्मेवारीको समय हो र भविष्य देवदहको समृद्धिको सपना हो । आउनुहोस्, अनुभवलाई ऊर्जा, विचारलाई कार्य र सामूहिक सङ्कल्पलाई परिणाममा बदल्दै समुन्नत, समृद्ध र सुशासित देवदह निर्माणको यात्रामा सँगै अघि बढौँ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology