देवदह । संघीय सरकारका पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले देवदहमा निर्मित गोल्डेन टेम्पल (विहार) तथा फोटो प्रदर्शनी केन्द्रको उद्धाटन गर्दै देवदहको पर्यटन विकासमा सधै साथ दिने बताएका छन् । बुधबार एक औपचारिक कार्यक्रमविच लुम्बिनी विकास कोषद्वारा देवदह ४ मा निर्मित टेम्पलको उद्धाटन गर्दै मन्त्री श्रेष्ठले देवदहको इतिहास, संस्कृति र पर्यटन विकासमा सधै आफ्नो साथ रहने बताएका हुन् ।
समग्र पर्यटन क्षेत्रको पुनर्उत्थानको लागि मन्त्रालयले ७३ बुँदे योजना निर्माण गरेर काम गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले उक्त योजनाले देशको पर्यटन क्षेत्रलाई समृद्ध बनाउने दावी गरे । सरकार संसारभरका पर्यटकलाई नेपालमा भित्र्याउने गरि लागेको बताउँदै उनले लुम्बिनीको गुरुयोजना अन्तिम चरणमा पुगेकोले त्यसको फाइदा अब देवदह र आसपासका बुद्धसंग जोडिएका क्षेत्रले उठाउनुपर्ने बताए ।
टेम्पलले देवदहको इतिहासलाई जीवन्त राख्ने उनको भनाइ छ ।
कार्यक्रम बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेस त्रिपाठी, कोषाध्यक्ष सिद्दिचरण भट्टराई, देवदह नगरपालिकाका कार्यवाहक प्रमुख विद्यालक्ष्मी गुरुङ, वडा नं. ४ का अध्यक्ष दमननाथ रेग्मी लगायतले लुम्बिनीको विकाससंग देवदहको विकासलाई जोड्न र लुम्बिनी आउने पर्यटकलाई देवदहसम्म ल्याईपुर्याउनुपर्नेमा आ-आफ्ना भनाइ राखेका थिए ।
कार्यक्रममा लुम्बिनी विकासकोषका अधिकारीहरू, देवदहका विभिन्न वडाका जनप्रतिनिधि, लुम्बिनी बौद्ध विश्वविद्यालयला डिन उकेशराज भुजु, देवदहमा क्रियाशिल राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
निर्माण कार्य सम्पन्न भएको लामो समयसम्म यतिकै रहेको उक्त टेम्पलको औपचारिक उद्धाटन भएपछि उक्त टेम्पलमा बुद्धसंग सम्बन्धित क्षेत्रका फोटोहरूको संग्रह गरिने भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology