धुर्ब लामिछाने, देवदह । नगरपालिका वडा नं १२ का वडा अध्यक्ष डेग बहादुर सारुले आफ्ना वडा बासीहरुहरुमा कुनैपनि समस्या भएमा त्यसका लागि आफूहरु वडासम्म आउन लाई झन्झट मान्न नहुने बताएका छन्। शनिबार 'बालमुन ग्रुप अफ कंपनीको प्रथम वार्षिक उत्सव कार्यक्रममा बोल्दै वडा अध्यक्ष सारुले यस वडाका कृषक लगाएत सबैलाई समस्या परेमा समाधानका लागि वडा सम्म आएर छलफल गर्नलाई पछाडि नहट्न आवहान गरेका हुन्।
साथै सो कार्यक्रममा बोल्दै अध्यक्ष सारुले आफ्नो पाँच बर्षे कार्यकालमा सबैभन्दा बढी प्राथमिकता कृषकलाई दिने समेत बताए। यस क्षेत्रमा कृषिको आधुनिकीकरण तथा व्यावसायिक रुपमा कृषिलाई अंगाल्न चाहने कृषक हरुलाई वडाले दिनुपर्ने सबैखाले सेवा सुविधा दिने समेत दिने प्रस्ट्याएका थिए। जस अन्तर्गत कृषक बीमा, पशु बिमा, अनुदानका जस्ता कृषकका लागि आउने विभिन्न खाले सेवा सुविधा लाई आफूले प्रथम बिन्दुमा रहेर काम गर्ने प्रतिबद्धा जनाएका छन्।
बालमुन ग्रुप अफ कंपनी कृषकहरुकै लागि स्थापना गरिएकोमा आफू निकै खुसी रहेको समेत बताउँदै आगामी दिनमा यस कम्पनीलाई जस्तो सुकै सहयोग गर्नमा आफू पछि नहट्ने संकेत गर्दै अध्यक्ष सारुले यस क्षेत्रका किसानहरूले आफ्नो कृषि पेशालाई दिगो रूपमा लैजानका लागि आफ्नो फर्म दर्ता गरेर आम्दनीको श्रोत बढाउनुपर्ने बताए। यसका लागि वडाले सबैखाले सहयोग गर्ने छ भन्दै कृषकहरुलाई थप जोस जाँगरका साथ काम गर्न हौसला दिएका थिए।
छुट्याईएको वार्षिक बजेट अन्तर्गत धेरै बजेट कृषकका लागि नै राखेको बताउँदै अध्यक्ष सारुले यस क्षेत्रमा खानेपानी, सिंचाई गरी प्रत्येक टोलमा रु १ लाखका दरले रकम छुट्याइएको बताए। कृषकहरुलाई कृषिमा निर्भर हुनका लागी के - के गर्नुपर्ने हुन्छ यसका लागि आफूले कार्यपालिकामा कुरा राखिरहेको समेत बताए। अध्यक्ष भएर आइसकेपछि नगरबाट आएको बजेट बाँडफाँड गर्नमा निकै कठिनाई समेत भएको बताउँदै अध्यक्ष सारुले यस्ता समस्यालाई समाधान गरेरै आफू अगाडि बढेको बताए।
त्यस्तै पछिल्लो समय कृषकले मेसिनबाट धान काट्ने गर्दा पशु पालन गरिरहेका किसानहरूका लागि परालको ठूलो समस्या परेको र आफू पनि किसान कै छोरो रहेको बताउँदै अध्यक्ष सारुले अब धान काटेर खेतमै पराल जलाउने कार्य लाई बन्द गराउने प्रस्ताव कार्यपालिकामा लैजाने र यसको लागि नियम नै बनाउने समेत बताए। सो बताउँदै गर्दा उपस्थित कृषकहरूले अध्यक्ष सारुले गर्न खोजेको सो काम प्रसंसा योग्य रहेको बताउँदै तालीले स्वागत समेत गरेका थिए।
आफू वडा अध्यक्ष भएर आएपछि सबैलाई समान रूपले काम दिँदै आएको बताउँदै आफ्ना वडामा अपाङ्ग, वृद्धवृद्धा जो वडा सम्म आउन नसक्ने जो कोहीलाई पनि आफूले घरमै आएर वा वडा सम्म ल्याउने साधनको व्यवस्था गरिने समेत अध्यक्ष सारुले बताए। यसका लागि वडा बासीले आफूलाई जानकारी गराउनुपर्ने बताए।
साथै साधारण बिरामी भएमा सिक्टहन स्वास्थ्य चौकीमा आउन समेत सबैलाई आग्रह गर्दै अध्यक्ष सारुले स्वास्थ्य चौकीमा साधारण बिरामीका लागि सबैखाले औषधि राखिएको समेत बताए। आफू वडामा आएको भर्खर तीन महिना मात्र भएको र अबको पाँच वर्ष सम्ममा यस क्षेत्रमा स्वास्थ्य, शिक्षा तथा कृषि लाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने सबै वडा बासीहरुलाई प्रतिबद्धता जनाएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology