बुटवल । प्रेस सेन्टर नेपाल रुपन्देहीका पुर्व जिल्ला सल्लाहकार, नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व उपाध्यक्ष, प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार वसन्त पोखरेलको निधन भएको नवौं दिनको तिथिमा नेकपा माओवादी केन्द्र रुपन्देही, प्रेस सेन्टर लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कमिटीले संयुक्तरुपमा शोकसभा गरेका छन् ।
बुधबार दिवंगत पोखरेलको घरमा आयोजित शोकसभामा बोल्दै पुर्व मन्त्री समेत रहेका माओवादी केन्द्रका केन्द्रिय सचिव चन्द्रप्रकाश खनाल (बलदेव) ले नेपाली पत्रकारिता जगतमा मात्रै नभएर जनयुद्धमा समेत पोखरेलको योगदान रहेकोभन्दै उनको निधनले एक कम्युनिस्ट योद्धा गुमाएकोमा दु:ख व्यक्त गरे । युद्धकालिन समयमा तत्कालीन नेकपा माओवादीका पर्चा लेखनदेखि साहित्य र सांस्कृतिक मोर्चामा समेत पोखरेलको योगदान अब्बल रहेको उल्लेख गर्दै खनालले दिवंगत पोखरेलसंग सहकार्यका दिनहरूको स्मरण गरे ।
त्यसैगरी शोक मन्तव्य राख्दै प्रेस सेन्टर नेपालका केन्द्रिय उप-महासचिव यानेन्द्र जिसीले वसन्त पोखरेल सशक्त कलमबाहक भएको बताए । हाल पत्रकारितामा सक्रिय पत्रकारहरूले पोखरेलबाट सिक्नुपर्नेमा जोड दिए । स्वर्गीय प. बाबुराम भट्टराई र वसन्त पोखरेल जस्ता पत्रकारिताका हस्तीहरूकै कारण आफुलाई पत्रकारितामा टिकिरहन उर्जा मिलेको उनको भनाइ थियो ।
सोही कार्यक्रममा बोल्दै स्वर्गीय पोखरेलकी छोरी सीता पोखरेल (सुनगाभा) ले बुबाको सादगीपनले आफू र आफ्नो परिवारलाई सधैं अफ्ट्यारोसंग जुध्न हिम्मत दिने बताइन् । सो क्रममा उनले पछिल्ला दिनहरूमा जनयुद्ध र शान्तिकालमा समेत उत्तिकै सक्रिय परिवारको मुल्यांकनमा नचुक्न माओवादी केन्दलाई सुझाव दिएकी थिइन् ।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा रुपन्देही क्षेत्र नं. २ इन्चार्ज रिज्जु श्रेष्ठको अध्यक्षतमा सम्पन्न कार्यक्रममा माओवादी नेताहरू हकिकुल्लाह खाँ, गोविन्द केसी, मक्सुद अलि, विनोद पहाडी, हरि घिमिरे, सुजीत विक, निर्मला विक, धनबहादुर गुरुङ, टीका वली, पुष्पराज ढकाल, लेखनाथ न्यौपाने र प्रेस सेन्टरका केन्द्रिय सदस्य भुवन कार्की, लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह विक, वरिष्ठ उपाध्यक्ष रुद्रहरी कुँवर, रुपन्देही जिल्ला अध्यक्ष कमल रायमाझी लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology