देवदह । उमेरले झन्डै ८० वर्ष पुगेकी पार्वती अधिकारी विद्युतीय बस चढेर लुम्बिनी जान पाउँदा खुसी छन् । देवदह नगरपालिका वडा नं. ४ निवासी उनी कयौं पटक लुम्बिनी पुगेकी छन् । तर बयोवृद्ध उनलाई यसअघि लुम्बिनी पुग्न निकै सकस थियो । दुई-तीन वटा बस फेर बादल गर्दै भिडभाडमा लुम्बिनी पुग्दा विगतमा भोगेका सकस सम्झदै उनी लुम्बिनी विकास कोषले सञ्चालन गरेको अत्याधुनिक विद्युतीय बसमा घर अगाडिबाटै चढेर यात्रा गर्न पाउँदा खुसी लागेको बताउँछिन् ।
उनीसँगै छेउमा बसेका अर्का स्थानीय पनि उत्तिकै खुसी देखिन्छन् । लुम्बिनी क्षेत्रको विकासमा सहज यातायातले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै उनीले विकास कोषले गज्जब काम गरेको बताए ।
सोही बसमा लुम्बिनी पुगेका अर्का आन्तरिक पर्यटक मोतिलाल ढकाल पनि पर्यटन विकासमा विद्युतीय बसले महत्वपूर्ण योगदान दिन सक्ने भन्दै यसलाई थप व्यवस्थित गर्दै निरन्तरता दिनुपर्ने बताए ।
स्याङ्जाबाट निर्वाचन कार्यको लागि देवदहमा खटिएका शिक्षक डिल्लीराम भण्डारी पनि शुक्रवार लुम्बिनी मै भेटिए । आधुनिक विद्युतीय बसमा यात्रा सहज भएको भन्दै उनले विकास कोषलाई धन्यवाद दिए ।
विद्युतीय बसको सञ्चालन र आगामी योजनाबारे सेतोमसीसंग कुरा गर्दै लुम्बिनी विकास कोषका सदस्य तथा पर्यटन यातायात सेवा संयोजन प्रमुख विश्वराज पौडेलले आन्तरिक पर्यटकको सकारात्मक प्रतिक्रिया आएको बताए । १५ दिनको परीक्षणकालमा हाल बस सञ्चालन भैरहेको जानकारी दिँदै उनले यातायात सेवालाई निरन्तरता दिइने बताए ।
परीक्षणकाल सकिएपछि बसको व्यवस्थापन हुन सक्ने गरि न्यनतम भाडा दर कायम गरेर बस सञ्चालन गर्ने उनले बताए । लुम्बिनी विकास कोषले पर्यटकलाई लुम्बिनी पुर्याउन पहल गरेपनि लुम्बिनीसँग जोडिएका देवदह, तिलौराकोट र रामग्राम जस्ता क्षेत्रमा पर्यटक पुर्याउन पहल नगरेको होकि भन्ने सेतोमसीकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले उल्लेखित सबै क्षेत्र लुम्बिनी नै भएको र लुम्बिनीमा आउने पर्यटक ती क्षेत्रमा पुर्याउन आफूहरूले पहल गरिरहेको दावी गरे ।
एशियाली विकास बैंकबाट अनुदानमा प्राप्त गरेका पाँच वटा बस तीन वर्षसम्म थन्किएको भएपनि गत १३ गतेबाट विकास कोषले ती सवारी सञ्चालनमा ल्याएको थियो । लुम्बिनीबाट बुद्धसँग सम्बन्धित देवदह, रामग्राम, कपिलवस्तुसहितका पाँच वटा रुटमा पाँच वटा बस सञ्चालनमा आएका छन् ।



Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology