काठमाडौं । विवेकशील साझा पार्टीले आम निर्वाचन २०७९ मा समानुपातिकतर्फ जम्मा ७८९ मत पाएको छ ।
निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार उक्त पार्टीले समानुपातिकमा एक हजार मतसमेत कटाउन सकेको देखिँदैन । २०७४ को निर्वाचनमा समानुपातिकतर्फ दुई लाख १२ हजार ३६४ मत ल्याएको सो पार्टीले यसपटक भने कुल ७८९ मत प्राप्त गरेको हो ।
केही महिनाअघि मात्र उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात सिट जितेर समानुपातिकतर्फ ११ लाख १९ हजार ९९६ मत ल्याउँदा विवेकशील साझाले प्रत्यक्षतर्फ समेत खाता खोल्न सकेन । कुनै बेला वैकल्पिक राजनीतिको प्रवर्द्धन गर्ने भन्दै सक्रिय रहेको पार्टीमा यसपटक भने आकर्षण देखिएन।
राप्रपा फुटाएका कमल थापाको नयांँ पार्टीलाई समानुपातिकमा ३३९१ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशनमा अध्यक्षको चुनाव हारेपछि पार्टी फुटाएका कमल थापाको नयाँ पार्टी राप्रपा नेपालले समानुपातिकतर्फ ३ हजार ३९१ मत मात्रै पाएको छ ।
एमालेको समर्थनमा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका थापा स्वयं पनि निर्वाचनमा पराजित भएका छन् ।
यता राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले भने आम निर्वाचनमा छलाङ मारेको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपा ५ लाख ८५ हजार ९२१ मतसहित राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology