पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेस बिपी कोइरालाले प्रतिपादन गरेको विचारलाई अँगालेर हिँड्नुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले पार्टीभित्र व्यक्तिवादी चरित्र हावी हुँदा विचारको राजनीति कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे।
बिपीद्वारा प्रतिपादित राष्ट्रियता, प्रजातन्त्र र समाजवादको बाटोलाई नेपाली कांग्रेसले छाड्न नहुने उनको भनाइ थियो।
‘विचार विनाको राजनीतिबाट कुनै गन्तव्यमा पुग्न सकिँदैन। पार्टीको आउँदो १५ औँ महाधिवेशनबाट नेपाली कांग्रेसलाई भ्रष्टाचारमुक्त पार्टी, जनताप्रति उत्तरदायी र जवाफदेही पार्टीका रूपमा विकास गर्नुपर्छ’, नेता कोइरालाले भने।
नेपाली कांग्रेस प्रजातन्त्रप्रति विश्वास राख्ने पार्टी हो भन्दै उनले कांग्रेस प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायलय, मानव अधिकार, व्यक्ति स्वतन्त्रता प्रति सधैं प्रतिबद्ध रहेको यी कुरामा कसैसँग सम्झौता नगर्ने स्पष्ट गरे।
नेता कोइरालाले भने, ‘नेपाली कांग्रेसको विचारलाई गाउँगाउँसम्म पुर्याएर आम युवा तथा महिलालाई नेपाली कांग्रेसप्रति आकर्षित गर्न जरुरी छ।’
तनहुँको उपनिर्वाचनको प्रचारप्रसारमा पुगेर फर्किएका उनले तनहुँमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले निर्वाचन जित्ने दाबीसमेत गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँमा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेलाई आफूले यसअघि चितवनबाट उपनिर्वाचन लड्न आग्रह गरेको तर उनी चितवनमा निर्वाचन लड्न नगएको नेता कोइरालाले बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology