देवदह । रुपन्देहीको देवदह-७ शितलनगरस्थित सगरमाथा आवासिय माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दल (एनसीसी) ले जुनियर डिभिजन तालिमको लागि विद्यार्थीहरू छनोट गरेको छ। सोमबार विद्यालयको प्रांगणमा विद्यार्थीको उचाई, तौल र अन्य स्वास्थ्य परिक्षण गरि सेवा दलले तालिमको लागि विद्यार्थी छनोट गरेको हो।
देशभरिका सरकारी तथा निजी विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरुलाई सहभागी गराएर हरेक वर्ष राष्ट्रिय सेवा दल तालिम संचालन गर्ने गरिन्छ। जसको लागि देशभरिका विभिन्न विद्यालयले निवेदन दिने गर्दछन। प्राप्त निवेदन र सेवा दलको स्वअनुगमनपछि तालिमको लागि विद्यालय छनोट गरिछ। रुपन्देहीका धेरै विद्यालयबाट तालिमको लागि निवेदन प्राप्त भएपनि देवदहको सगरमाथा आवासिय मावि सहित बुटवलको न्यु होराइजन र तिलोत्तमाको शान्ति नमुना मावि गरि जम्मा तीनवटा विद्यालय छनोट गरि विद्यार्थीको शारीरिक र स्वास्थ्य जांचको काम भैरहेको नेपाली सेनाका उपसेनानी सुजन सेढाईले जानकारी दिए ।

छनोट भएका विद्यालयबाट प्रतिविद्यालय १८ जना छात्र र १८ जना छात्रा गरि ३६ जनालाई तालिममा सहभागी गराईने जनाईएको छ। सेतोमसीसंग कुरा गर्दै उपसेनानी सेढाईले छनोट भएका विद्यार्थीलाई विद्यालयमै हरेक दिन दुई घन्टाका दरले ७९ दिन तालिम दिईने र तत्पश्चात २१ दिनको तालिमको लागि देशका ४ वटा प्रशिक्षण केन्द्रमध्ये कोहलपुर वा हात्तीखोरमा लैजाने बताए । विद्यालयमा तालिमको लागि आवश्यक पोशाक र तालिम केन्द्रमा हुने २१ दिनको तालिमको खाना, आवास सहित सम्पूर्ण खर्च सेवा दलले व्यहोर्ने उनको भनाई छ।

जुनियर डिभिजनको तालिममा सहभागी हुनको लागि १४ देखि १६ उमेर समुहका कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरू योग्य हुन्छन। जसमा छात्राको उचाई कम्तिमा ५ फुट र छात्राको उचाई ४ दशमलब १० फुट हुन आवश्यक छ ।
विक्रम सम्बत २०२२ मा स्थापना भएको राष्ट्रिय सेवा दलले विद्यार्थीको सर्वाङ्गिण शारीरिक विकास र अनुशासनका लागि हरेक वर्ष विद्यार्थीलाई तालिम दिंदै आएको छ। राष्ट्रिय सेवा दलले हालसम्म ६६ हजार सात सय ७६ छात्रछात्राहरुलाई उक्त तालिम प्रदान गरिसकेको छ।

गत वर्ष जुनियर डिभिजन अन्तर्गत ५ हजार नौ सय ७६ जना र सिनियर डिभिजन अन्तर्गत १ हजार सात सय २८ जना गरी जम्मा ७ हजार पाँच सय ६८ जना छात्रछात्राहरुले राष्ट्रिय सेवा दलको तालिम प्राप्त गरेका थिए ।
के हो एनसीसी तालिम ?
सेनाले दुई चरणमा तालिमहरु सञ्चालन गर्छ । हरेक वर्षको साउनदेखि माघसम्म १ सय दिन चल्ने तालिमको पहिलो चरण अर्थात संस्थागत तालिम सम्बन्धित विद्यालयमा दिइन्छ । विद्यालयको पढाईमा कुनै असर नपर्ने गरी दिईने उक्त तालिमको लागि विद्यार्थीले शारीरिक र स्वास्थ्य परिक्षा पास गर्नुपर्छ भने तालिममा सहभागिताका लागि विद्यार्थी स्वयं र अभिभावकको समेत अनुमति आवश्यक हुन्छ।
७९ दिनसम्म विद्यालयमा चल्ने तालिममा सैद्धान्तिक सैन्यज्ञानका साथमा एरोविक्स, मास पिटी, तेक्वान्दो पिटी, खुकुरी ड्रिल र नक्सा अध्ययन सिकाइन्छ। सिनियर डिभिजनले हतियार तालिम अर्थात फायरिङ पनि सिक्छन् ।
७९ दिनको तालिमपछि २१ दिने क्याम्प तालिम हुन्छ । क्याम्पको लागि मोरङको याङ्सिला, नवलपरासीको हात्तिखोर र बाँकेको कोहलपुरमा लगिन्छ । २१ दिन चल्ने क्याम्प तालिममा खोज उद्धारदेखि मास पिटी, भिडमा बोल्ने तरिका र नेतृत्व विकास सम्मको तालिम लिन सकिन्छ । सिनियर डिभिजन तालिममा घेाडचढी, स्विमिङ, हाइकिङ र रक क्लाइम्बिङसम्म सिकाइन्छ ।
यसरी तालिम लिएका युवाहरुले दैविक प्रकोपको उद्धारदेखि लागुऔषध र चेलिवेटी बेचविखनविरुद्धका अभियानमा योगदान दिनसक्ने र सुरक्षासंग सबन्धित कार्यमा महत्वपुर्ण कार्य गर्न सक्ने हुनाले यस प्रकारको तालिम महत्वपुर्ण मानिन्छ।
नेपालका हालका प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले समेत २०२८ सालमा यो तालिम लिएका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology