बुटवल । बुटवल उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ।
उपमहानगरपालिकामा बुधबार बसेको सरोकारवालासहितको बैठक तथा अन्तरक्रिया कार्यक्रमले बिहीबारदेखि १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए।
विद्यालय, संघसंस्था, अस्पतालहरुलाई समेत सचेतना कार्यक्रममा सहभागी गराउँदै डेगी नियन्त्रणको अभियानमा सहभागी गराउने निर्णय भएको उनले बताए।
छलफलका क्रममा डेंगी महामारीको समयमा डेंगी परीक्षण शुल्कमा एकरुपता कायम राख्न बुटवलभित्रका प्रयोगशाला सहमत भएको स्वास्थ्यसम्बन्धि निजी र सरकारी अस्पतालहरुले डेंगीबारेका सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।
उनाका अनुसार बुटवल उपमहानगरपालिकामा तत्काल डेंगीका संक्रमितको संख्या नबढीसकेकोले सचेतना कार्यक्रम सञ्चालन गर्ने र आवश्यकताअनुसार फिभर क्लिनिक सञ्चालन गर्नेसम्मको तयारी रहेको बताए।
'१९ वटै वडामा अभियान सञ्चालन गर्ने गरी कार्ययोजना तयार गरेका छौं- उनले भने -यो अभियान निरन्तर सञ्चालन हुन्छ र यसमा सबैको सहभागिता र सचेतना जरुरी हुन्छ, यदि व्यक्ति सचेत भएन भने अभियान सञ्चालन गरेर मात्रै हामीले संक्रमण रोक्न सक्दैनौं, पानी जम्न दिनुभएन र लामखुट्टेको टोकाइबाट बच्नुपर्यो।'
उनले हरेक कार्यालयहरुमा हरेक शुक्रबार १० बजे १० मिनेट कार्यक्रम सञ्चालन गर्दै डेंगी नियन्त्रणका लागि सबैले अभियान सञ्चालन गर्न आह्वान गर्ने बताए। हरेक शुक्रबार १० मिनेट आफ्नो कार्यालयको आसपासमा पानी जम्ने खाल्डाखुल्डी छन् कि छैनन् भन्ने अवलोकन गर्ने र लामखुट्टेले अण्डा पार्न सक्ने स्थान भएमा लार्भा नष्ट गर्ने अभियानकै रुपमा सञ्चालन हुने उनले बताए।
संक्रमितको तथ्यांक एकीकृत रुपमा संकलन गरी राखेर एकद्वार प्रणालीबाट बुटवल उपमहानगरपालिकालाई बुझाउने निर्णय गरिएको उपनिर्देशक पाण्डेले बताए।
निजी क्लिनिकमा जाँच गरेर उपचार गराउनेहरुले संख्यासमेत नगरमा उपलब्ध गराउनका लागि नगरले आग्रह गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। रुपन्देहीमा ४६ जना जना संक्रमित फेला परेको अस्पतालहरुले बताएपनि बुटवलमा अहिलेसम्म संक्रमित फेला परेका छैनन्।
कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवलभित्र डेंगी नियन्त्रणमा नगरले नियमित रुपमा अभियान सञ्चालन गर्ने बताउनुभयो। उहाँले सबैले एकसाथ अभियान सञ्चालन गरेर संक्रमण फैलिन नदिनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले आवश्यक पूर्वतयारी र उपचारका लागि सबै सामग्रीहरु तयारी अवस्थामा राख्ने बताउनुभयो। उहाँले आवश्यकताअनुसार फिभर क्लिनिक र औषधिउपचारको व्यवस्था गर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology