गलेश्वर । आफ्नै गाउँठाउँमा उद्यम गरी म्याग्दीका कृष्ण मल्लले मनग्य आम्दानी गर्न सफल भएका छन्। बेनी नगरपालिका–६ चुत्रेनीका २९ वर्षीय मल्लले पैसा कमाउनकै लागि अष्ट्रेलिया जाने तयारीलाई पन्छाएर गाउँमा नै शुरु गरेको बाख्रापालनबाट अहिले वार्षिक रु १२ लाखसम्म आम्दानी गर्न सफल भएका हुन्।
उनले करिब ६ वर्ष खाडी मुलुकमा विताएर तीन वर्ष अघि स्वदेश फर्किए। शुरुमा अष्ट्रेलिया जाने सोचेपनि त्यसलाई त्यागेर यही बाख्रापालन थाले। बुबाले रहरले पालेका स्थानीय जातका बाख्रामा मल्लको ध्यान गयो। अहिले भने बोयर जातका बाख्रापालन गरेका छन्।‘‘विदेश जाने सोच त्यागेर बाख्रापालन गरेको छु, जेठसम्म रु १२ लाखका बोका बिक्री गरेर त्यसलाई बाख्रापालनमा नै थपेको छु’’, मल्लले भने।
करिब रु ११ लाखबाट शुरु भएको व्यवसायमा लगानी ३० लाख पुगेको छ। खोरमा अहिले २८ वटा बोएर छन्। ठूलो क्षेत्रफलमा उन्नतजातको घाँस समेत लगाइएको छ। बाख्रा र बोका बिक्रीबाट वार्षिक रु २० लाखसम्म कमाइ गर्ने लक्ष्य छ। उनको फार्ममा तीन लाखसम्म पर्ने बोयर बोका छन्।‘‘यहाँको कमाईले म पूर्णरुपमा सन्तुष्ट छु,आम्दानीलाई दोब्बर बनाउने गरी थप खोर विस्तार गदैंछु’’,नेपाल व्यावसायिक बाख्रापालन महासंघ म्याग्दीका अध्यक्ष समेत रहेका मल्लले भने।
अष्ट्रेलियाबाट आयात गरिएको बोयर जातको बोका र एक माउबाट शुरु भएको बाख्रापालन यसै वर्ष ५० पु¥याउँने लक्ष्य छ। थप बोयर मगाइएको छ। खोरमा एक वर्षमा दोब्बर हुने गरी माउ राखिएको छ।
मल्लले यूवापुस्तालाई बाख्रापालनमा सक्रिय बनाउन आवश्यक प्राविधिक सहयोग समेत गर्ने बताए। कृष्ण बहुउद्देश्य कृषि तथा पशुपालन फार्म दर्ता गरेर मासुको प्रयोजनका लागि नभइ शुद्व बोयर एवम् स्थानीय खरी जातको बाख्रालाई बोयर बोका दिएर नस्ल सुधार गर्दै उन्नतजातका पाठापाठी बिक्री गरी कृषकलाई बाख्रापालन व्यवसायमा प्रेरित गर्ने योजना मल्लको रहेको छ।
छिमेकीको बाँझो जमिन भाँडामा लिएर घाँस खेतीसमेत विस्तार गरिएको छ। उता बेनपा ६ का वडा अध्यक्ष कृष्णसिंह बानियाँले वडालाई कृषि र पशुपालनमा पकेट क्षेत्रको रुपमा विकास गर्ने ध्येयले पशुपालक कृषकलाई आवश्यक सहयोग गरेको बताए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology